सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षक आन्दोलमा ऐक्यबद्धता जनाउन सडकमा जानुअघि आफ्नै पार्टीबा संसद्को शिक्षा समितिका सभापति रहेका आफ्नै पार्टीका सांसदलाई विधेयक चाँडो टुंग्याउन निर्देशन दिन सुझाव दिएका छन्।
फेसबुकमा लामो स्टाटस लेख्दै उनले भनेका छन्, ‘माननीय माधवकुमार नेपालज्यू, शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन सडकमा जानुभन्दा पहिले आफ्नै पार्टीका माननीय सभापतिलाई विधेयक चाँडै टुंग्याउन निर्देशन दिने हो कि? चाबी त त्यही छ होइन र?’
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति एकीकृत समाजवादीकै सांसद अम्मरबहादुर थापा रहेका छन्। ज्ञवालीले शिक्षकलाई पनि कसैको गोटी नबन्न सुझाव दिएका छन्। ‘शिक्षक साथीहरुलाई एउटै आग्रह छ- खल्तीमा जहिल्यै सलाईको बट्टा बोकेर हिँड्ने र मौका पाउनासाथ आगो झोसेर रोटी सेकाउन खोज्ने प्रवृत्तिसँग होशियार हुनुहोस्,’ उनको उनको भनाइ छ, ‘आन्दोलन सुरु गर्दाको राप र ताप सेलाउँदै गएको छ र अभिभावकहरु अधैर्य हुँदै गइरहेका छन्। यसबाट लाभान्वित भइरहेको एउटै पक्ष हो, निजी विद्यालय।’
शिक्षकले ‘बंगलादेश बनाइदिन्छौँ’ भन्दै जाने हो भने आन्दोलनमा अझै क्षति पुग्दै जाने चेतावनी समेत ज्ञवालीले दिएका छन्। ‘अब पनि आन्दोलनको स्वरुप नबदल्ने हो भने, ‘निर्णायक धक्का’ को भ्रममा बसिरहने हो भने र ‘बंगलादेश बनाइदिन्छौँ’ भन्दै जाने हो भने थप क्षति पुग्ने निश्चित छ,’ ज्ञवालीले भनेका छन्, ‘शिक्षामन्त्री विद्या भट्टराईको पहलमा तयार गरिएको ७ बुँदे सहमति किन र कसरी आग्रहमा घोषणा हुन रोकियो भन्ने कुरा पनि बताइरहनु पर्छ र?आखिर त्यसले कसलाई फाइदा भयो?’
त्यस्तै उनले सरकारलाई पनि अहिलेको अवस्थामा पुरा गर्न सकिने विषय तुरुन्त घोषणा गर्न आग्रह गरेका छन्। ‘सरकारलाई आग्रह छ- विद्यमान सीमाभित्र जे जति घोषणा गर्न सकिने हो, तुरुन्त घोषणा गरिदिनुहोस् र यस सम्बन्धी सत्यतथ्य सर्वोच्च अदालतलाई, संसदलाई, सबै अभिभावकहरुलाई र समाजलाई जानकारी गराइदिनुहोस्। यथासम्भव छिटो विधेयकलाई अन्तिम रुप दिन सांसदहरुलाई उत्प्रेरित गरिदिनुहोस्।’
Shares

प्रतिक्रिया