गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य एवं उद्धारका क्षेत्रमा सशस्त्र प्रहरी बल देश तथा विदेशका मानिसको विश्वास र भरोसा गर्ने संस्थाका रुपमा विकास हुँदै गएको बताएका छन्।
शुक्रबार बिहान मनाङमा आयोजित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले हरेक स्थानमा हुने विपद् जोखिमको उद्दार र सीमा सुरक्षाका कारण सशस्त्र प्रहरी अब्बल बन्दै गएको उल्लेख गरे।
‘सीमा सुरक्षा, अपराध नियन्त्रणका साथै मानिस आक्रान्त भएको अवस्थामा सशस्त्र प्रहरीको योगदान सह्रानीय छ,’ लेखकले भने, ‘यही योगदानले सशस्त्र प्रहरी देश तथा विश्वका मानिसको भरोसायोग्य बनेको छ। यसलाई थप उत्कृष्ट बनाउन लागिपरेका छौँ। मनाङ स्वर्गको आभास गर्ने पर्यटकीय क्षेत्र भएकाले यहाँ हुने पर्वतीय जोखिम उद्दारमा सशस्त्रले सहयोग पुर्याउने गरी प्रशिक्षण दिएर उत्पादन गरेका प्रशिक्षार्थीले स्थानीयका साथै पर्यटकलाई पनि सहज हुनेछ।’
विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्गमा आउने पर्यटकलाई सुरक्षित यात्रामा मद्दत पुग्ने उहाँको विश्वास छ। पर्यटन क्षेत्र देशको अर्थतन्त्रलाई वृद्धि गर्ने पाटो भएकाले सुरक्षित बनाउन आवश्यक रहेको मन्त्री लेखकको भनाइ छ।
‘जोखिम मानिएको यस पदमार्गमा यात्रा गर्दा सुरक्षित छौँ भन्ने आभास दिन सक्नुपर्ने हुन्छ’, लेखकले भने, ‘अब यहाँबाट दीक्षित सशस्त्र प्रहरीले जोखिमयुक्त हिमालमा यात्रा गर्ने पर्यटकलाई सुरक्षित बनाउन सक्नुपर्छ।’
विश्वको आकर्षणको केन्द्र बनेको मनाङलाई प्रवद्धन गर्न र सुरक्षित बनाउदै अझ पर्यटक आगमनलाई वृद्धि गर्नमा जोड दिनुपर्ने उनको भनाइ छ।
शिक्षालयबाट ४५ जना सशस्त्र प्रहरी दीक्षित भएका छन्। दीक्षान्त समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, प्रतिनिधि सभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर घले लगायतको उपस्थिति थियो।
Shares

प्रतिक्रिया