प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारमा संक्रमणकालीन न्यायबारे छलफल गर्न आयोजित बैठक सकिएको छ।
बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संक्रमणकालीन न्यायसम्बन्धमा पीडितहरूले राखेको सरोकार र यसम्बन्धी दुई आयोगका पदाधिकारी सिफारिसको प्रक्रियाबारे प्रधानमन्त्री र प्रचण्डका बीचमा छलफल भएको जानकारी दिए।
‘टीआरसीसम्बन्धी, विशेष गरी पीडित र सरोकारवालाहरूले उठाएका विभिन्न पक्षहरूमा, त्यसबारेमा भइरहेको प्रक्रियाका विषयमा प्रधानमन्त्रीज्यूसँग प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले उहाँका जिज्ञासहरूमा छलफल गर्ने काम भयो,’ पुनले भने।
पीडितहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर ध्यानाकर्षण गराएको र प्रचण्डलाई पनि भेट्न समय मागेको उनले जानकारी दिए।
संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया सकारात्मक रहेको आफूहरूले पाएको पनि पुनले सुनाए।
‘सिफारिस गर्नुअघिको संक्षिप्त सूची बाहिर आएपछि सरोकारवालाहरूले आफ्नो सरोकार राख्नुभएको रहेछ,’ उनले भने, ‘तर, प्रक्रिया सकारात्मक ढंगले अगाडि बढेको हामीले पायौँ।’
भिडिओ:
ओली–प्रचण्डबीच सिंहदरबारमा टीआरसीबारे के कुरा भए? pic.twitter.com/Uq3eyOy7jD
— Nepalkhabar (@nepalkhabar) May 4, 2025
बैठकमा यसको प्रक्रियाबारे प्रधानमन्त्री ओलीले प्रचण्डलाई जानकारीसमेत गराएका थिए।
प्रधानमन्त्री ओलीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले संक्रमणलीन न्यायबारे अहिलेसम्म भएका कामका विषयमा छलफल गर्न बैठक आयोजना भएको बताए।
‘संक्रमणकालीन न्यायका विषयमा अहिलेसम्म भएका विषयवस्तुका बारेमा द्वीपक्षीयरुपमा छलफल गरौँ भनेर प्रधानमन्त्री र प्रचण्डजीका बीचमा बैठक आयोजना हो,’ उनले नेपालखबरसँग भने, ‘के भइरहेका छ भन्ने बारेमा ब्रिफिङ मैले गरेको हुँ।’
यसअघि संक्रमणकालीन न्यायकै विषयमा प्रधानमन्त्रीले बोलाएको तीन दलका शीर्ष नेताको छलफलमा भने प्रचण्ड गएका थिएनन्। गत बिहीबार बोलाइएको उक्त बैठकमा कांग्रेस सभापित शेरबहादुर देउवा मात्र गएका थिए।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा बनेको सिफारिस समितिले दुवै आयोगका लागि आवेदन आह्वान गर्दा १११ जनाको सूची बनेको थियो। तीमध्येबाट समितिले दुवै आयोगका पदाधिकारीका लागि ३४ जनाको नाम संक्षिप्त सूचीमा समेटेको छ।
यही संक्षिप्त सूचीबाट कसलाई आयोगको पदाधिकारीमा नियुक्त गर्ने भन्ने रस्साकस्सीमा दलहरू लागेका छन्।
यसअघि पनि प्रमुख तीन दलबीच आयोगमा भागबण्डा गर्ने विषयमा कुरा नमिलेपछि मिश्रकै अध्यक्षतामा बनेको सिफारिस समिति त्यत्तिकै विघटन भएको थियो।
त्यतिबेला सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा नेपाली कांग्रेसले सुदीप पाठकलाई अघि सारेको थियो। त्यसको माओवादीले विरोध गरेको थियो। सहमति जुट्न नसकेपछि सिफारिस समिति नाम नै सिफारिस नगरी भंग भएको थियो।
अहिले कांग्रेसले नेपाल एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसीको नाम अघि सारेको छ। बेपत्ता छानबिन आयोगको अध्यक्ष एमालेले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बनाउन खोजेको छ भने माओवादीले आफूले पाउनुपर्ने अडान राखिरहेको छ।
माओवादीले आफ्ना तर्फबाट उच्च अदालतका पूर्वन्यायाधीश अच्युत भण्डारीको नाम प्रस्ताव गरेको छ।
Shares

प्रतिक्रिया