उपसभामुख इन्दिरा रानामगरले बंगलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मुहम्मद युनुससँग शिष्टाचार भेट गरेकी छिन्।
सोमबार ढाकास्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपाल-बंगलादेश व्यापार, लगानी, ऊर्जा, जडान, पर्यटन, साथै क्षेत्रीय र बहुपक्षीय मञ्चहरूमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा गहन छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। 
भेटको क्रममा उपसभामुख रानामगरले पछिल्लो समय दुई देशबीच ऊर्जा क्षेत्रमा देखिएको उल्लेखनीय प्रगति, साथै शिक्षा, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारप्रति सन्तोष व्यक्त गरिन्। उनले मित्रता र ऐक्यबद्धताको रूपान्तरणकारी सम्भावनालाई लक्षित गर्दै आर्थिक सहकार्य अझ सशक्त बनाउने उद्देश्यसहित ठोस योजना आवश्यक रहेकोमा जोड दिइन्।
प्रमुख सल्लाहकार डा. युनुसले आफ्नो दृष्टिकोणअनुसार स्थापित ‘थ्री-जीरो क्लब’ मा नेपाल अग्रपङ्क्तिमा रहेको बताउँदै, नेपालको जलविद्युत् क्षमतालाई बंगलादेश र उपक्षेत्रको ऊर्जा आवश्यकतामा उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
दुवै नेताहरूले नेपाल र बंगलादेशले साझा विकास चुनौतीहरू भोगिरहेको भन्दै ती चुनौतीहरू अवसरमा रूपान्तरण गर्न द्विपक्षीय तथा क्षेत्रीय प्रयासहरूलाई सशक्त बनाउनुपर्नेमा सहमति जनाएका थिए।
Shares

प्रतिक्रिया