राजनीति


माओवादीको मध्यपहाडी लोकमार्ग अभियान बैतडीबाट सुरु

सरकार गलत बाटोमा हिँडिरहेको प्रचण्डको आरोप
माओवादीको मध्यपहाडी लोकमार्ग अभियान बैतडीबाट सुरु

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १२:४९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु भएको छ। 

आज बैतडीबाट माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सुरु गरेको हो। अभियानको क्रममा माओवादी अध्यक्ष प्रचण्डसहितका नेतालाई बैतडीको खोड्पेमा स्थानीयले स्वागत गरेका छन्।  

माओवादीले हुलाकी राजमार्ग केन्द्रीत तराई मधेस जनजागरण अभियानपछि मध्यपहाडी लोकमार्ग अभियान सुरु गरेको हो।

बैतडीको अभियानमा जानुअघि आज प्रेस सेन्टरले डडेल्धुरामा गरेको कार्यक्रममा बोल्दै प्रचण्डले विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार भएको आरोप लगाए। 

उनले आफ्नो पार्टीले भने सुदूरपश्चिम क्षेत्रलाई सधैंँ प्राथमिकतामा राखेको दाबी पनि गरे। आफ्नो नेतृत्वमा सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको उनको भनाई थियो। 

‘विकास र समृद्धिका हिसाबले सम्भावना बोकेको भए पनि सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छ। हामीले त्यसमा सन्तुलन कायम गर्न खोजेका छौँ,’ प्रचण्डले भने, ‘डडेल्धुरा र यहाँका पहाडी जिल्लाबाट भइरहेको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक छ। यसका लागि पहल गर्छौं।’

उनले देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षित गरेर आफ्नो पार्टीले जागरण अभियान सञ्चालन गरिरहेको बताए। उनले बैतडीबाट सुरु भएको मध्यपहाडी जागरण अभियान सोलुखुम्बुमा समापन गरिने पनि जानकारी दिए। 

सम्बोधनका क्रममा प्रचण्डले वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाउँदै सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गरिरहेको जिकिर गरे। ‘सरकार ठीक बाटोमा हिँडिरहेको छैन, यसबाट चिन्तित छौँ। सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छ, यो राम्रो होइन,’ प्रचण्डले भने।

अध्यक्ष दाहालले कांग्रेस-माओवादीबीचको सत्ता समीकरण हल्ला मात्रै भएको दाबी गरे। 

कार्यक्रममा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिराजमणि पोखरेललगायत सहभागि छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad