राजनीति


अस्ट्रेलियामा रहेका विद्यार्थीहरुको वास्तविक अवस्था बुझ्न शिक्षामन्त्रीको सचिवलाई निर्देशन

अस्ट्रेलियामा रहेका विद्यार्थीहरुको वास्तविक अवस्था बुझ्न शिक्षामन्त्रीको सचिवलाई निर्देशन

नेपालखबर
चैत २२, २०७६ शनिबार ८:१४,

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्ट्रे्लियामा अध्ययनरत नेपाली विद्यार्थीहरुको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका छन्।

शुक्रबार साँझ मन्त्री निवास पुल्चोकमा शिक्षा सचिव महेशप्रसाद दाहाल, विज्ञान सचिव डा. सञ्जय शर्मा, सहसचिव कमल पोखरेल लगाएतको बैठकमा मन्त्री पोखरेलले सो निर्देशन दिएका हुन्। बैठक पछि मन्त्री पोखरेलले अस्ट्रेलियामा रहेका विद्यार्थीहरुको बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको नेपाली दूतावाससँग समन्वय गरी यथार्थ जानकारी लिन शिक्षासचिव दाहाललाई निर्देशन दिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियामा रहेर आफ्नै कमाइले टिक्न नसक्ने विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्कन आग्रह गरेपछि मन्त्री पोखरेलले सचिवलाई यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री मोरिसनले देश कोरोनाको संकटमा रहेको बताउँदै यस्तोबेला आफूहरुको ध्यान आफ्नै जनतामाथि हुने भन्दै विदेशी विद्यार्थीहरुलाई फिर्ता हुन आग्रह गरेका थिए।

‘मन्त्रीज्युले शिक्षासचिवलाई पराराष्ट्र मन्त्रालय र अस्ट्रेलियको दूतावाससँग सम्पर्क गरेर विद्यार्थीहरुको वास्तविक अवस्थाका बारेमा अपडेट हुन निर्देशन दिनुभएको हो’, केसीले नेपालखबरसँग भने।

त्यस्तै मन्त्री पोखरेलले शुक्रबार साँझ नै वैदेशिक परामर्श दाताहरुको (कन्सल्टेन्सी) एसोसिएसनहरुका अध्यक्षहरुसँग स्काइपमा कुरा गर्दै आफूहरु मताहतका कन्सलटेन्सीहरुले पठाएका विद्यार्थीका विषयमा अपडेट रहन निर्देशन दिए।

‘तपाईंहरु मताहतका कन्सलटेन्सीहरुले पठाएका विद्यार्थीीहरु को, कहाँ र कस्तो अवस्थामा छन् भन्ने बारेमा पुरै जानकारी लिनुहोस्’, मन्त्री पोखरेलले कन्सल्टेन्सीका अध्यक्षहरुसँग भनेको भनाइ उद्धृत गर्दै स्वकीय सचिव केसीले भने, ‘अप्ठ्यारोमा परेकालाई सरकारसँग मिलेर सहयोग गर्ने गरी तयारी पनि गर्नुहोस् ।’

मन्त्री पोखरेलले कन्सल्टेन्सीका अध्यक्षहरुसँग कोरोना कोषमा सहयोग गर्न पनि आग्रह गरेका थिए भने कन्सल्टेन्सीका अध्यक्षहरुले आफूहरु विद्यार्थी र सरकारलाई सहयोग गर्न तयार रहेको बताएको केसीले जानकारी दिए।

मन्त्री पोखरेलले उच्च स्तरीय समितिवाट विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरुको लागि अफ्ठेरो भएमा पैसा पठाउने व्यवस्था गरिसकेकाले विदेशमा रहेका विद्यार्थीहरुलाई नआत्तिन आग्रह समेत गरे।

अहिले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको संख्या ५८ हजार रहेको छ भने पछिल्लो एक वर्षमा ८ हजार विद्यार्थी गएको तथ्यांकले देखाउँछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad