राजनीति


७ दिनभित्र कार्यपालिका बैठक माग गर्दै सुनिताको नेतृत्वमा बालेनलाई पत्र

७ दिनभित्र कार्यपालिका बैठक माग गर्दै सुनिताको नेतृत्वमा बालेनलाई पत्र

फाइल तस्बिर


नेपालखबर
जेठ १२, २०८२ सोमबार १६:४५, काठमाडौँ

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलसहित कार्यपालिका ४१ जना सदस्यले मेयर बालेन्द्र शाह (बालेन)लाई  कार्यपालिका बैठक बोलाउन माग गर्दै पत्र लेखेका छन्। सोमबार एक बैठक बसेर उनीहरूले कार्यपालिका बैठक तत्काल बोलाउन माग गर्दै पत्र लेखेका हुन्।  

आज बसेको अनौपचारिक बैठकले तत्काल कार्यपालिका बैठक बोलाउन माग गरेको हो। ४२ सदस्य रहेको कार्यपालिकामा मेयर शाहबाहेक सबैको उपस्थिति रहेको थियो। उनीहरूले ७ दिनभित्र कार्यपालिका बैठक बोलाउन माग गरेका छन्।

कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ। 
'२०८१ चैत १० गते २३ जना नगरकार्यपालिकाका सदस्यहरूले बैठक माग गरी पत्राचार भएकोले पुन पत्र पठाइ ७ दिनभित्र कार्यपालिका पत्र पठाउन माग गर्दछ' उनीहरूले लेखेको पत्रमा उल्लेख छ। 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक पुस १४ गतेदेखि बस्न सकेको छैन।

‘कम्तीमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक करीब ६ महिनादेखि बस्न नसकेपछि महानगरभित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णयलगायत पनि अन्योलमा पर्दै आएका छन्,’ कार्यपालिका सदस्य नवीन मानन्धरले भने, ‘स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ। तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२–८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन। स्थानीय सरकार सञ्चालन ऐनमै सभा तथा कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र बैठकको अध्यक्षता गर्ने प्रावधान छ। तर, मेयरले बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट आउने–नआउने समेत अन्योल देखिएपछि हामीले मेयरज्यूलाई घचघच्याएका हौँ।’ 

बालेन नेतृत्वको सीमा निर्धारण समितिको बैठकसमेत बस्न नसक्दा बजेट कस्तो र कत्रो ल्याउने भन्नेमा समेत अन्योलता सिर्जना भएको उनको भनाइ छ। बर्खायाममा हुने विपद्‌को जोखिम न्यूनीकरणको तयारी गर्न पनि नपाइएको उनले गुनासो गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad