नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनमा माओवादी केन्द्र नेतृत्वको सरकार जति गम्भीर हालको सरकार नरहेको टिप्पणी गरेका छन् । भीमसेनथापा गाउँपालिका–खाञ्चोकस्थित प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँट र समन्वय आवश्यक रहेकोमा जोड दिए ।
उनले भने, 'संघीयता कार्यान्वयनको चिन्ता मभन्दा बढी कसैलाई छैन भन्ने मेरो दाबी छ । त्यसैले पाँच वर्षदेखि रोकिएको समन्वय परिषद्को बैठक मैले बोलाएँ ।' संविधानले तोकेको संघीय संरचना कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण नहुँदा प्रदेश सरकारहरू अप्ठ्यारोमा परेको उल्लेख गर्दै उनले सरकार त्यसप्रति गम्भीर हुनुपर्ने धारणा राखे ।
प्रचण्डले संघीयता सुदृढ गर्न कर्मचारी समायोजन, प्रहरी समायोजन ऐन, विद्यालय शिक्षा ऐन लगायतका विषयमा आफ्नो सरकारले लिएका पहलहरूबारे जानकारी गराउँदै ती कानुनी प्रक्रियाहरू टुंगोमा पुर्याउनु अहिलेको आवश्यकता रहेको बताए ।
Shares

प्रतिक्रिया