काठमाडौँ प्रशासनले नारायणहिटी दरबार आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेश पत्रमा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहलाय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै संग्रहालयको दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरेका हुन्।
राजावादीहरू सडक प्रदर्शनमा सक्रिय भएपछि प्रशासनले निषेधित क्षेत्र तोकेको हो। पछिल्लो समय राजावादीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन्।
त्यस्तै केही दिनअघि मात्रै पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी परिसरमा गएका थिए। त्यस्तै उनी जेठ १९ गते पनि नारायणहिटी दरबार जाने तयारी रहेको बताइएको छ। त्यसअघि प्रशसनले नारायणहिटी संग्रहालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।
शनिबार राजावादी प्रदर्शनकारी नारायणहिटी परिसर जाने तयारीमा छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले फेसबुकमार्फत भनेका छन्, 'भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको निम्ति सुरु आन्दोलन भोलि पनि जारी रहनेछ। भोलि जेठ १७ गते दरबार मार्ग, महेन्द्र शालिकबाट प्रदर्शन सुरु हुनेछ। आजको उत्साहजनक सहभागिताको निम्ति आभार। भोलि अझ बढी व्यापक सहभागिताको निम्ति अपिल गर्दछु।'

Shares

प्रतिक्रिया