नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रसियन कम्युनिस्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई नेपालको मैत्रीपूर्ण भ्रमणका लािग निमन्त्रणा गरेका छन्।
रुसको भ्रमणमा रहेका एमाले स्थायी कमिटीका सदस्य राजन भट्टराईले महासचिव जुगानोभलाई ओलीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन्।
जवाफमा महासचिवले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने वचन दिएका थिए। जुगानोभसँगको शनिबार भएको भेटमा भट्टराईका अलावा प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अली, रुसका लागि नेपाली राजदूत जंगवबहादुर चौहान तथा प्रवासी नेपाली मञ्च रसियाका अध्यक्ष दीनानाथ राजभण्डारीको पनि उपस्थिति थियो।
करिब डेढ घण्टा भएको उक्त भेटघाटमा दुई पार्टी तथा दुई देशको सम्बन्धका विविध विषयमाथि छलफल भएको बताइएको छ। रसियन कम्युनिस्ट पार्टी रुसको सत्तारुढ यूनाइटेड रसियापछिको दोस्रो ठूलो दल हो।
रसियन कम्युनिस्ट पार्टी रसियाको दुमा (प्रतिनिधि सभा) को सशक्त प्रतिपक्षी दल हो। यसका महासचिव जुगानोभ रसियाका एक एक प्रभावशाली नेताका रूपमा स्थापित छन् ।
Shares

प्रतिक्रिया