राजनीति


नवराज सुवेदीले आह्वान गरेको उपत्यका बन्द राजेन्द्र लिङ्देनले गरे बहिष्कार

‘राप्रपा बन्द, हडतालजस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ’
नवराज सुवेदीले आह्वान गरेको उपत्यका बन्द राजेन्द्र लिङ्देनले गरे बहिष्कार

फाइल तस्बिर: नवराज सुवेदी र राजेन्द्र लिङ्देन


नेपालखबर
जेठ १९, २०८२ सोमबार ४:३५, काठमाडौँ

नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुन: स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले सोमबार (जेठ १९ गते) का लागि आह्वान गरेको काठमाडौँ उपत्यका बन्द कार्यक्रम राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिष्कार गरेको छ।

आइतबार प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य दीपक सिंहलगायत नेता तथा कार्यकर्ता रिहा भइसकेका कारण सोमबार राजावादीले गर्ने भनेको उपत्यका बन्दको कार्यक्रममा आफ्नो पार्टीको सहभागिता नरहने राप्रपा अध्यक्ष लिङ्देलने बताएका हुन्। 

आइतबार मध्यराति लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामान्यतया राप्रपा बन्द, हडतालजस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ। आज (आइतबार) सरकारका तर्फबाट पक्राउमा परेका नेता-कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको प्रसंग उठेको भए पनि पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको हुँदा सोमबार हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु।’

उता संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले भने विज्ञप्ति जारी गरी भनेका छन्, ‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौँ। यसै क्रममा जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौँ।’ 

आइतबार दिउँसो प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंहसहितका राजावादीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। थापासहित ७ जनालाई काठमाडौँको नक्सालस्थित नारायणचौरबाट पक्राउ गरिएको थियो भने सिंह थापालाई भेट्न जाँदा प्रहरीलाई नै दुर्व्यवहार गरेको आरोपमा परिसरबाटै पक्राउ परेका थिए।

तर थापा र सिंहसहित ७ जनालाई प्रहरीले आइतबारै साँझ रिहा गरिसकेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार १ जनाबाहेक ७ जनालाई रिहा गरिएको हो। रक्सी खाएर प्रहरीलाई नै दुर्व्यवहार गर्ने डा राजीव झालाई भने अझै हिरासतमै राखिएको छ। पक्राउपछि स्वास्थ्य परीक्षण गर्दा उनले रक्सी खाएको पुष्टि भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad