राजनीति


गृहमन्त्रीको राजीनामाबारे माओवादीको अडान यथावत्

गृहमन्त्रीको राजीनामाबारे माओवादीको अडान यथावत्

नेपालखबर
जेठ १९, २०८२ सोमबार १८:३४, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विषयमा आफूहरुको अडान कायमै रहेको बताएको छ। 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताबीच सिंहदरबारमा भएको छलफलमा त्यस्तो अडानलाई दोहोर्‍याएको हो। 

बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शीर्ष नेताहरुबीचको छलफल सकरात्मक भए पनि गृहमन्त्रीको राजीनामाको विषय यथावतै रहेको र यसमा कुनै सहमति नबनेको बताए।

‘हाम्रो तर्फबाट हामीले सुशासनलाई जसरी केन्द्रित गरेर विषयवस्तु राखेका छौँ, यो महत्वपूर्ण हो भन्ने कुरा राख्यौँ,’ उनले भने, ‘हामी छलफल गर्दै जाउ भन्ने भएको छ। जुनकुरा हामीले सदनमा राखेका छौँ, त्यो भनेको भिजिट भिसा हो, त्यहाँ गडबड भएको विषयवस्तुलाई अनुसन्धान गर्नको लागि गृहमन्त्रीले मार्गप्रसस्त गर्नुपर्छ भन्ने विषय हो।’ 

आज छलफल मात्रै भएको र यस विषयमा अरु प्रतिपक्षी दलहरुसँग पनि परामर्श गरिने पाण्डेले जानकारी दिए। ‘संसद्को गतिरोध कसरी हल गर्ने  र अगाडि बढ्ने भन्नेबारेमा छलफल भयो,’ पाण्डेले भने, ‘छलफल भयो तर ठ्याक्कै निर्णय भएन। अहिले छलफल मात्रै भयो, विषयवस्तु केही अगाडि बढेको छैन।’ 

उनले थपे, ‘हामीले अरु प्रतिपक्षी दलहरुसँग पनि कुराकानी गनुपर्नेछ। त्यसकारणले अहिले छलफल मात्रै अगाडि बढ्यो।’

बैठकमा प्रधानमन्त्री ओलीसहित सत्तापक्षीय नेताहरुले भने गृहमन्त्रीको राजीनामा नभइ संसद् खुलाएर जानुपर्ने मत राखेका थिए। पाण्डेले भने, ‘प्रधानमन्त्री, गृहमन्त्री लगायतले राजीनामा होइन, संसद् खोलेर अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो।’

त्यस्तै बैठकमा राजावादीहरुले राजतन्त्र पुर्नस्थापना र हिन्दुराष्ट्रको माग राखेर गरेको आन्दोलनबारे पनि छलफल भएको थियो। 

बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, गृहमन्त्री लेखक, कांगेसका सभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्ण सिटौला, माओवादी केन्द्रका महासचिव देव गुरुङ, प्रमुख सचेतक पाण्डे र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव सहभागी थिए।


 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad