राजनीति


प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ: प्रधानमन्त्री ओली

प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ: प्रधानमन्त्री ओली

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार ९:४९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन निर्देशन दिएका छन्। 

काठमाडौँमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटनमा शुक्रबार बिहान प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहित ढङ्गले न्याय सम्पादन हुनेगरी अनुसन्धान एवं अभियोजन गर्न निर्देशन दिएका हुन्। 

‘समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मानवोचित र न्यायपूर्ण समाज सृजना गर्न समयानुकूल कानुनको निर्माण तथा प्रभावकारी कार्यान्वयन आवश्यक छ। त्यसका लागि उचित स्रोत, साधनसहित दीक्षित, सक्षम र इमानदार जनशक्तिको खाँचो छ। ती सामग्री र अवसर दिलाउन सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्री ओलीले भने, ‘प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ। सुविधा पुगेन भनेर त्यतातिर सोच्नु नपरोस् भनेर सरकारले सेवा सुविधामा आवश्यक ध्यान दिनेछ।’

अपराधीले अपराध ढाकछोपका लागि अनेक सोच र प्रविधिको प्रयोग गर्ने भएकाले त्यसलाई अपराधीलाई तत्काल नियन्त्रणमा लिन प्रहरी नयाँ नयाँ प्रविधिसहित स्रोतसाधनसम्पन्न हुनुपर्ने र प्रहरीको त्रुटिरहित अनुसन्धानले नै न्याय निरुपणका लागि बाटो देखाउने प्रधानमन्त्री ओलीले बताए। 

गृहमन्त्री रमेश लेखक, महान्याधिवक्ता रमेश बडालसहित सहभागी सम्मेलनमा प्रधानमन्त्री ओलीले प्रणालीगत प्रबन्धमार्फत समान अधिकार र अवसर दिन तथा विकास, सुव्यवस्था र सुशासनका पक्षमा ध्यान दिँदै दोषीलाई कारबाही र पीडितलाई न्याय दिनेतर्फ लाग्न निर्देशन दिए।

प्रहरी प्रधान कार्यालयमा जारी सम्मेलन शनिबार सम्पन्न हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad