राजनीति


रास्वपाले भिरेको रिबनलाई कांग्रेसले भन्यो- अमर्यादित पोसाक

रास्वपाले भिरेको रिबनलाई कांग्रेसले भन्यो- अमर्यादित पोसाक

नेपालखबर
असार ३, २०८२ मंगलबार १४:२४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन गलामा भिरेर संसद्‌ बैठकमा सहभागी भएको विषयमा नेपाली कांग्रेसले नियमापत्ति जनाएको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अमर्यादित पोसाक लगाउन नपाइने संसद्को नियमावलीमा स्पष्ट उल्लेख भए पनि निलो पोसाक भिरेर आएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन्।  

'संसद् सचिवालयको नियमावली ३० मा बैठकमा अभद्र व्यवहार गर्ने आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछन्,' उनले नियमावलीबारे भने, 'चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्तै नियन्त्रण गर्नुपर्नेछ भन्ने व्यवस्था गरिएको छ। साथै, बैठककक्षबाट निष्कासनसमेत गर्न सकिने व्यवस्था नियमको ३१ अनुसार छ।'

यो नियमावलीले संसद्‌मा मर्यादित पोसाकमा आउनुपर्छ भनिएको भन्दै थपे, 'यो नियमावलीमा गरिएको व्यवस्था हो। यो संसद्‌मा केही माननीय सदस्यले जुन स्कार्फ लगाउँदै आउनुभएको छ, यो मर्यादित पोसाकभित्र पर्छ कि पर्दैन? यसरी भोलि कोही हाफ पाइन्ट मात्रै लगाएर आउने, भोलि जथाभावी ड्रेस लगाएर आउने हो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने? यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यले सभामुखले चेतावनी र संसद्‌बाट निष्कासन गर्ने कारबाही पनि आवश्यक छ भन्ने म ध्यानाकर्षण गर्न चाहन्छु।' 

रास्वपाका सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन र उनको राजीनामा माग गर्दै आएको रास्वपाका सांसदहरू आज निलो रिबन भिरेरै संसद् बैठकमा सहभागी छन्। 

रास्वपाका सांसद तथा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार मानव तस्करीविरुद्धको अभियानलाई विश्वभर 'निलो रिबन'को प्रतिकले जनाउने भएकोले आफूहरू त्यस्तै गरी प्रस्तुत भएको बताए।

रास्वपा गत जेठ १३ गतेदेखि लगातार सदनमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने भन्दै विरोध जनाउँदै आइरहेको छ। तर सत्तापक्षले भने यसलाई इन्कार गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad