राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा बनाइएको उच्चस्तरीय छानबिन समितिलाई अस्वीकार गरेका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वापा सांसद स्वर्णिम वाग्लेले छानबिनको जिम्मेवारी पाएका बैरागी नै शंकाको घेरामा रहेको बताए।
‘शंकरदास बैरागी अहिलेका निगाहप्राप्त नेताहरुबाट जेलिएका पात्र हुनुहुन्छ,’ उनले भने, ‘उहाँ स्वयं शंकको घेरामा हुनुहुन्छ। शंकाको घेरामा रहेको व्यक्तिले कसको छानबिन गर्ने?’
वाग्लेले थपे, ‘गृहमन्त्रीले मेरै प्रस्तावमा छानबिन समितिल बनाएको भन्नुभयो। के अरोपितले नै अब छानबिन समिति बनाउने हो?’
बहालवाला वा पूर्वन्याधीशको नेतृत्वमा उच्चस्तरीय छानिबिन आयोग बन्नुपर्ने आफहरुको माग यथावत् रहेको वाग्लेको भनाइ छ।
त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि छानबिन समिति नेताहरुको निगाहमा बनेको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताए। भिजिट भिसा प्रकरणमा आफूहरुको आन्दोलन जारी नै रहने उनले बताए।
‘यो निगाहा प्राप्त गरेको, एकैछिनको अझ अपराधको ढाकछोप गर्ने, भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको नयाँ प्रोपोगाण्डा हो,’ शाहीले भने, ‘यो प्रोपोगाण्डाका विरुद्ध राप्रपा सडक र सदनमा एकजुट हुन्छौँ। यो छानबिन समितिले न्याय दिन सक्दैन।’
Shares

प्रतिक्रिया