विद्यालय शिक्षा विधेयकमा छलफलका लागि आज शिक्षा समितिको बैठक बस्दै छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा विद्यालय शिक्षा विधेयक सम्बन्धि उपसमितिको प्रतिवेदनमाथि छलफल हुने समितिले जनाएको छ। यसअघि पटक पटक बसेका बैठकमा पनि विधेयकमा सहमति जुट्न सकेको छैन।
गएको असार २२ गते नै समितिबाट विधेयक पारित गर्ने तयारी थियो। तर, शिक्षामन्त्री रघुजी पन्तले विधेयकका केही विषयमा सहमति हुन बाँकी रहेको भन्दै बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नै नगरी स्थगित गएको थियो।
सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक संसद्बाट पारित गर्ने सहमति गरेको भएपनि अझै विधेयकमा सहमती जुट्न सकेको छैन।
पछिल्लो समय शिक्षक महासंघका कतिपय पदाधिकारीले विधेयक पारित गर्नप्रति सरकार उदासिन भएको भन्दै फेरि आन्दोलनमा जाने चेतावनी दिन थालेपछि समितिको बैठक बस्न लागेको हो।
Shares

प्रतिक्रिया