नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रति विद्यादेवी भण्डारी राजनीतिमा फर्किंदा गणतन्त्रकै लागि खतरा हुने दाबी गरेपछि उनकै पार्टीका निष्कासित नेता भीम रावलले कटाक्ष गरेका छन्।
एमाले महासचिव पोखरेलले शनिबार दाङमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘पूर्वराष्ट्रपति संविधानको संरक्षक हो। सेनाको परामाधिपति भइसकेको व्यक्ति हो’, महासचिव पोखरेलले भने, ‘उहाँ सक्रिय राजनीतिमा फर्किंदा गणतन्त्रप्रति नै अनास्था र अविश्वास पैदा गर्छ। यस्तो गल्ती पार्टीहरूले गर्न हुँदैन।’
यसविरुद्ध रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउनु गणतन्त्रका लागि खतरा तर गणतन्त्र र संवैधानिक प्रणालीको विरुद्धमा सक्रिय नेतासँग चुनाव र सरकारमा गठबन्धन गर्नु गणतन्त्र बलियो बनाउने काम रे! साथै कांग्रेस सभापति देउवाका गल्ती निजका नभई वर्तमान व्यवस्थाका हुन रे! 'झोले' नेताको भनाइ!’
एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीको ज्यादा आलोचना गरेकै कारण रावललाई २०८१ पुस १० गते साधारण सदस्यसमेत नरहने एमालेबाट निकालिएको थियो। त्यसयता उनी झन् एमालेप्रति आक्रामक बनेका छन्।
एमालेबाट निकालिएपछि रावलले ‘मातृभूमि जागरण अभियान’ घोषणा गरे पनि यसलाई सक्रिय बनाउन सकेका छैनन्।
एकपटक अध्यक्ष ओलीले नै ‘म झोले हो’ अभियान सञ्चालन गरेयता रावलले एमालेका नेतालाई उनीहरूकै भाषामा ‘झोले’ भन्ने गरेका हुन्।
Shares

प्रतिक्रिया