नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू हास्यव्यंग्य कार्यक्रममा सहभागी हुनै छाडेको बताएका छन्।
शुक्रबार काठमाडौँमा कवि विसुकुमार केसीद्वारा लिखित कविता संग्रह 'पागल हुन कहाँ सजिलो छ र? को विमोचन कार्यक्रममा बोल्दै उनले व्यंग्य चेत सम्बन्धित पक्षले मनन् गर्न सक्ने खालको हुनुपर्ने भएकाले सोही अनुसारको साहित्य सृजनामा लाग्न पनि आग्रह गरे।
महामन्त्री थापाले मर्यादित भाषाको प्रयोग नभएकाले आफूले त्यस्ता कार्यक्रममा सहभागी हुन नसकेको बताएका हुन्।
'चोटिला प्रश्नहरू गर्दा पनि मर्यादाभित्र रहेर गर्नु पर्दछ। मलाई यो कविको बेजोड शैली हो भन्ने लाग्छ। प्रश्नहरू एकदम धारिलो छ, चोटिलो छ। तर त्यो जसलाई प्रश्न गरिएको हो, सुरुमै त्यसलाई यतिधेरै प्रश्न भएको कि उसले महसुस नै गर्न सकेन भने अर्थै भएन,'उनले भने, 'आजभोली म भएन। आज भोलि म हास्यव्यंग्य कार्यक्रमहरूमा जानै मन लाग्दैन। पहिला-पहिला हामी गाइजात्राको सुन्थ्यौँ नि- त्यो कार्यक्रममा अगाडि बसेको मान्छेलाई प्रश्न गरेको छ। त्यहाँ व्यंग्य भएको छ। त्यो व्यंग्य चेतका साथ कुराहरू भएको छ। सबै कुरामा सहभागी हुन पाओस् न। तर अगाडि बसेको मान्छे त्यहाँबाट भाग्नुपर्ने अवस्था बनायो भने के अर्थ हुन्छ?'
जसमाथि साहित्यले कटाक्ष गर्न खोजेको हो, त्यसलाई मनन गर्ने खालको व्यंग्य चेत हुनुपर्ने महामन्त्री थापाको भनाइ थियो। उनले कवितामा गरिएको व्यंग्य सम्बन्धित पक्षले मनन गरेमात्रै त्यसको अर्थ हुने पनि स्पष्ट पारे।
'उसले त्यो चीजलाई ग्रहण नै गर्न सक्दैन, मनन नै गर्न सक्दैन। कवितामा पनि हामीलाई प्रश्न छ, नेतालाई प्रश्न छ, बालाई प्रश्न छ, छोरालाई छ, दाइलाई छ,' उनले भने, 'समाजका मानिसहरूलाई छ। तर त्यसलाई मिठो गरी पस्कनु पर्दछ।'
Shares

प्रतिक्रिया