राजनीति


यसरी हुँदैछ एमाले विधान महाधिवेशनको तयारी

अन्य पार्टीबाट प्रवेश गरेका केन्द्रीय सदस्यले महाधिवेशनमा प्रतिनिधित्व गर्न नपाउने
यसरी हुँदैछ एमाले विधान महाधिवेशनको तयारी

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०८२ सोमबार ९:५१, काठमाडौँ

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आउन अब चार दिन मात्रै बाँकी छ। भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिव पूरा भएको एमाले स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

गौतमका अनुसार अहिलेसम्म महाधिवेशनका प्रतिनिधि र आयोजकको नाम र संख्या निश्चित गरिएको छ। 

‘दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका पनि प्रतिनिधी हुन्। तीमध्ये कसैको मृत्यु भएको, कसैले पार्टी छोडेका र कसैलाई पार्टी कारबाही गरेको छ। त्यस्ता नाम सूचीबाट हटाइएको छ,’ गौतमले भने,  ‘तर त्यसरी रिक्त ठाउँमा नयाँ प्रतिनिधि छनौट गर्न पाइने व्यवस्था एमालेमा छैन। अर्कोतिर दसौँ महाधिवेशनपछि मनोनित भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरुलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकोले उहाँहरु आयोजकको हैसियतमा रहनुहुनेछ।’ 

महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधिसहित २ हजार ३ सय ४९ जना सहभागी हुने उनले बताए। 
 

केन्द्रीय कार्यलयले आइतबार मात्रै सबै प्रतिनिधिहरुलाई एसएमएस मार्फत महाधिवेशनको निमन्त्रणा पठाइ सकेको छ। 

केही प्रतिनिधिको मोवाइल नम्बर अद्यावधिक नभएकोले सम्बिन्धत जिल्ला कमिटीलाई सबै प्रतिनिधिलाई जानकारी दिन केन्द्रीय कार्यलयले निर्देशन गरेको छ। 

पार्टीले विधान महाधिवेशनको मुल नाराको रुपमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’तय गरेको छ। 
 
केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार महाधिवेशनमा प्रष्तुत हुने मुख्य तीन वटा प्रतिवेदन (राजनीतिक, सांगठनिक र विधान) छपाइको काम भइरहेको छ। 

यस्तै निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि छपाइको क्रममा छ। प्रतिनिधि परिचय पत्र छपाइ भइसकेको छ। 

एमाले स्रोतका अनुसार भदौ १९ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदनहरु महाधिवेशनमा पठाउने निर्णय लगायत अन्य केही प्राविधिक विषयमा निर्णय हुनेछ।

भदौ १८ गते प्रचार तथा प्रकाशन विभागका तर्फबाट पत्रकार सम्मेलन मार्फत महाधिवेशनको अन्तिम तयारीको जानकारी गराउने तयारी छ।

परिचय पत्र अनलाइन मार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ। डा.अधिकारीका अनुसार गोदावरीस्थित सनराइज हलमा छिर्नका लागि प्रतिनिधीहरुलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ। 

ढोकामा आफ्नो परिचय पत्रमा रहेको क्यूआर कोड स्क्यान गरेर मात्र प्रवेश गर्न पाइनेछ। खाना र खाजाका लागि एक व्यांकेटलाई जिम्मा दिइएको अधिकारीले बताए। 

महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको छ । विभिन्न जनबर्गीय संगठन र स्थानीय कमिटीहरुले सातदोबाटोदेखि गोदावरीसम्म स्वागत द्वार निर्माण र हँसिया हथौडा र सूर्य चिन्ह अंकित झण्डा राख्ने  तयारी गरेका छन्। 

ललितपुर जिल्ला कमिटीले सडकमा झण्डा राख्ने काम गर्दैछ। यसैगरी भक्तपुर जिल्ला कमिटीले जडिबुटी देखि सूर्यविनायकसम्मका १० वटा आकासे पुलमा महाधिवेशनको नारा र लोगो अंकित व्यानर र चोकचोकमा झण्डा राख्ने तयारी थालेको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए। 
 
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गर्ने महाधिवेशनको कार्यसूची तयार गर्न आज बिहान महासचिव शंकर पोखरेलको उपस्थितीमा बैठक बस्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad