एमाले विधान महाधिवेशनको दोस्रो दिनको सत्र सुरु भएको छ।
केही बेरअघि सत्र सुरु भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
बिहान ८ बजे सुरु गर्ने भनिएको दोस्रो दिनको कार्यक्रम प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि स्थानीयले बाटो अवरुद्ध गर्दा एक घन्टा ढिला सुरु भएको हो।
आजको बन्दसत्रमा शुक्रबारै प्रस्तुत प्रतिवेदनमा समूह बनाएर छलफल हुने रिजालले बताए।
ललितपुरको गोदाबरीमा शुक्रबार सुरु एमाले विधान महाधिवेशनमा पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले प्रतिवेदन पेस गरिसकेका छन्।
सनराइज सभाहलमा जारी बन्दसत्रमा आज बाँकी तीन प्रतिवेदन पेस हुने क्रम जारी छ। अहिले निर्वाचन आयोगका संयोजक डा विजय सुब्बाले प्रतिवेदन पेस गर्दै छन्। यसपछि १० समूहमा छलफल हुनेछ।
निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पनि पेस हुँदै छन्।
Shares

प्रतिक्रिया