गत मंसिर (२०८१) को चीन भ्रमणबाट फर्कंदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै कांग्रेस सभापति शेरबहादुर देउवालाई १८ महिनापछि सत्ता हस्तान्तरण गर्ने बताएका थिए।
गृहजिल्ला झापा गएका बेला २८ असार (२०८२) मा पनि ओलीले समय आएपछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएर देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
ओलीका यी भनाइ १६ असार (२०८१) मध्यरातमा कांग्रेस–एमालेबीचको सात बुँदे समझदारीको चौथो बुँदा अनुसार आएको थियो। कांग्रेस–एमालेले कहिल्यै सार्वजनिक नगरेको त्यो ‘रहस्यमय’ समझदारीको त्यो बुँदामा सरकारको नेतृत्व सुरुका दुई वर्ष (२०८१ असारदेखि २०८३ असारसम्म) एमाले अध्यक्ष केपी शर्मा ओली र २०८३ साउनपछि ०८४ मंसिरमा हुने निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने उल्लेख थियो।
देउवालाई सत्ता हस्तान्तरण गर्ने विषयमा ओलीले १ जेठ (२०८२) मा गरेको वाचा झनै रोचक थियो।
‘अब देउवालाई सत्ता हस्तान्तरण गर्न १४ महिना बाँकी छ,’ पूर्वयोजनाकार मञ्चको कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘त्यसपछि देउवाजीलाई ‘लौ प्रधानमन्त्री’ भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गरौँला।’
गत असारमा स्पेन भ्रमणका क्रममा ओलीले देउवाका लागि अझ छिट्टै सत्ता छाड्ने दाबी गरेका थिए।
‘मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो, तर त्यो अवधि सकिएपछि मात्र सत्ता हस्तान्तरण गर्नुपर्छ भन्ने छैन,’ १९ असारमा म्याड्रिडस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा ओलीले भनेका थिए, ‘त्यसैले, १०–१५ दिनअगाडि राजीनामा दिएर देउवाजीलाई प्रधानमन्त्री पद सुम्पनेछु।’
२०८३ असारमा सत्ता छाड्छु भनेका प्रधानमन्त्री ओलीले निर्धारित समयभन्दा १० महिनाअगावै २४ भदौमा राजीनामा त दिए। तर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन भने होइन।
ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिँदा देउवा काठमाडौँभित्रको कुनै अज्ञात अस्पतालमा सैनिक घेरामा पत्नी डा. आरजु राणा देउवासँगै उपचाररत थिए। २४ भदौ बिहान आक्रोशित प्रदर्शनकारीहरूले गरेको आक्रमणबाट सख्त घाइते देउवा दम्पतीलाई नेपाली सेनाले मुस्किलले उद्धार गरी सुरक्षाका लागि अज्ञातस्थल पुर्याएको थियो। 
सञ्चारकर्मी युवराज आचार्यले २४ भदौ साँझ फेसबुकमा लेखे, ‘कुलङ्घार भनेको त्यो हो, जो आफू डुब्दा पूरै कुललाई डुबाएर जान्छ, एक्लै डुब्दैन। पार्टी डुबाए, सहयोद्धा डुबाए, सहयोगी पार्टी डुबाए। र, संविधान र व्यवस्थासमेत डुबाए।’
आचार्यको यो भनाइ निवर्तमान प्रधानमन्त्री ओलीप्रति लक्षित थियो, जसको गैरजिम्मेवार व्यवहारले २३ भदौको बानेश्वर नरसंहार र २४ भदौको देशव्यापी अराजकता निम्त्याएको थियो।
भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध ‘जेन जी’ पुस्ताको २३ भदौको युगान्तकारी प्रदर्शनमा गोली चलाएर १९ प्रदर्शनकारीको हत्या गरेपछि सल्केको जनआक्रोशका कारण प्रधानमन्त्री ओली सैनिक हेलिकोप्टरमा ललितपुरको लेलेमा रहेको सैनिक ब्यारेकतर्फ भाग्नु परेको थियो।
ओली लेले ब्यारेकतर्फ भाग्नुअघि बानेश्वरस्थित संसद् भवनमाथि आगो लाग्न सुरु गरिसकेको थियो। प्रदर्शनकारीहरूले सिंहदरबार, बबरमहल जस्ता पुरातात्विक संरचनामा समेत आगो झोसिसकेका थिए। पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल (प्रचण्ड), डा. बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूको घर जल्नेक्रम मध्यान्तरतिर पुगिसकेको थियो।
प्रदर्शनकारीहरूले जलाएर घरबार गुमाए पनि यी नेताहरू सुरक्षित थिए। प्रदर्शनकारीहरूले डल्लुस्थित निवासमा आगो लगाउँदा पूर्वप्रधानमन्त्री झलनाथ खनालपत्नी रविलक्ष्मी चित्रकार भने सख्त घाइते भइन्, जसको बिहीबार देब्रे हात नै काट्नु पर्ने दुखद स्थिति सिर्जना भएको छ।
कांग्रेस सभापति देउवाको अवस्था भने फरक थियो। छोरा जयवीरको बिहेका लागि पोहोरसाल मात्र ठूलो खर्च गरेर थप सानदार बनाइएको बुढानीलकण्ठस्थित देउवा निवासमा अराजक प्रदर्शनकारीहरूले तोडफोड र आगजनी मात्र गरेनन्, देउवा दम्पतीमाथि अमानवीय ढंगले भौतिक आक्रमण गरेर घाइते नै बनाए।
डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री र देउवा आफै पूर्वप्रधानमन्त्री र ‘हुनेवाला प्रधानमन्त्री’ समेत भएकाले निवासको सुरक्षा व्यवस्था मजबुत नै थियो। सैनिक र प्रहरीको सुरक्षा थियो। घरलाई सुरक्षा पर्खालले घेरिएको त थियो नै, पर्खालमाथि टाँगिएको काँडेतारका कारण सर्वसाधारणका लागि देउवा निवास कुनै सैनिक ब्यारेक जस्तै ‘अभेद्य’ लाग्थ्यो।
तर न बलियो पर्खालले देउवा निवास जोगाउन सक्यो, न दर्जनौँ सुरक्षाकर्मीहरूले देउवा दम्पतीलाई सुरक्षित बनाउन सके। अमानवीय तवरले, रक्ताम्य हुनेगरी देउवा दम्पती कुटिए, लछारिए। सभ्य समाजले पचाउनै नसक्ने व्यवहार पूर्वप्रधानमन्त्री र बहालवाला परराष्ट्रमन्त्रीमाथि गरियो।
८० वर्ष पुग्न लागेका वयोवृद्ध देउवा र कम्मरको समस्याका कारण नियमित स्वास्थ्य परीक्षण गरिरहनुपर्ने डा. आरजुले त्यसदिन भोग्नुपरेको नियतिको भिडिओ सामाजिक सञ्जालमा छरपस्ट छन्।
सपत्नी घाइते बनेका देउवाका समर्थक नेता–कार्यकर्ताहरूले त्यसयता पत्नी डा. आरजुप्रति देउवाको ‘समर्पण’ र ‘साहस’ को सामाजिक सञ्जालमार्फत् बयानवाजी गरिरहेका छन्– ‘सबै नेताहरू भागेर सुरक्षित हुँदा पनि मर्नु परे घरमै मर्छु भनेर देउवा घरमै बसिरहे, डराएर भागेनन्, बरु फलानो नेता छाडेर भागे, तर देउवाले पत्नी डा. आरजुलाई छाडेर भागेनन्।’ आदि–आदि।
यस्तै दुखका बेलामा हो– शुभेच्छुकहरूले सान्त्वना र ढाडस दिने, जसलाई स्वाभाविक र आवश्यक पनि मानिन्छ।
अज्ञात अस्पतालमा सैनिक घेरामा रहेका देउवा–दम्पती अझै उपचाररत रहेका समाचार सार्वजनिक भएका छन्। वृद्ध उमेरका देउवा र शारीरिक रूपमा त्यति सशक्त नरहेकी डा. आरजुमाथिको भौतिक आक्रमणपछि जस्तो शारीरिक स्थितिमा पुगेको भिडिओमा देखिन्छन्, त्यसबाट अनुमान गर्न सकिन्छ– उपचारपछि देउवा दम्पती पूर्णरूपमा निको हुन अझै केही समय लाग्न सक्छ।
देउवा दम्पती सहजै निको पनि होलान्, तर देउवाको एउटा ‘ख्वाब’ भने सम्भवतः अब पूरा हुनेछैन। त्यो हो– ज्योतिषीको भविष्यवाणी अनुसार सातपटक प्रधानमन्त्री बन्ने चाहना। 
तेस्रो ठूलो दल भए पनि प्रचण्डले विघटित प्रतिनिधिसभामा रहेको माओवादी केन्द्रको ३२ सिटको बलमा पटक–पटक यसरी ‘सत्ताको जादु’ चलाइरहेका थिए कि, २०८१ असारअघिसम्म माओवादी केन्द्रभन्दा झण्डै तेब्बर बढी सदस्य रहेको नेपाली कांग्रेसका सभापति देउवा र दोब्बर भन्दा बढी सिट संख्या रहेको एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्लान् भन्ने कल्पना गर्न जो–कसैलाई मुस्किल पर्थ्यो।
तर, गतसाल १५ असार (२०८१) का दिन सभापति देउवाले पत्नी आरजुले फुराएको जुक्ति प्रयोग गरेर सत्ता–राजनीतिमा प्रचण्डको दबदबा समाप्त पारे। भक्तपुर कांग्रेसले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुने बहानामा भक्तपुर पुगेका देउवा पत्नी आरजुसहित दहीचिउरा खाने बहानामा बालकोटस्थित ओली निवास पुगे।
त्यो बेला माओवादी–एमाले समीकरण चलिरहेको थियो। २०७९ पुसमा एमालेको, लगत्तै राष्ट्रपति निर्वाचन (२०७९ चैत्र) ताका कांग्रेसको र २०८० फागुनपछि फेरि एमालेलाई आफू नेतृत्वको सरकारमा भित्र्याएर प्रचण्डले आफ्नो सत्ता लम्ब्याइरहेका थिए।
माओवादीसँग कांग्रेस–एमालेको योे सत्ता–साझेदारीको रोचक पक्ष चाहिँ के थियो भने यो सत्ता–साझेदारीले प्रधानमन्त्री प्रचण्डको कुर्सीको आयु मात्र बढाउँथ्यो। देउवा वा ओली प्रधानमन्त्री बन्ने गुञ्जायसै देखिँदैनथ्यो।
देउवा–ओलीबीच त्यसको भोलिपल्टै (१६ असार २०८१) मध्यरातमा सत्ता–समीकरणसम्बन्धी सात बुँदे समझदारी भयो। त्यो समझदारीसँगै प्रचण्ड सत्ताच्युत भए।
सात बुँदे समझदारीको चौथो बुँदामा प्रधानमन्त्रीको पदावधि बाँडफाँट सम्बन्धी व्यवस्था गरियो। दोस्रो ठूलो दलका अध्यक्ष ओलीले ‘नगद’मै प्रधानमन्त्री पद पाए। अर्थात् प्रचण्डको विस्थापनपछि ओली सुरुम प्रधानमन्त्री हुने भए। उनको पदावधि पनि दुई वर्ष अर्थात् २०८१ असारदेखि २०८३ असारसम्म तोकियो।
देउवाको भागमा ‘उधारो प्रधानमन्त्री’ पदमात्र पर्यो, त्यो पनि डेढ वर्षका लागि मात्र।
२०५९ मा चुनाव गराउन अक्षम भनेर तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरेका देउवा ‘तेस्रो पटक पनि चुनाव गराउने प्रधानमन्त्री (२०७४, २०७९ र २०८४ मा समेत) बन्न पाउने भएँ’ भन्नेमै मख्ख परे।
सबैभन्दा ठूलो दलको नेताले ‘धुर्त’, ‘अहंकारी’ र कतिबेला के गर्छन् भन्ने ठेगानै नभएका ओलीलाई प्रधानमन्त्री पद सुम्पेर आफ्नो हात तल पारिसकेपछि अब ओलीले जे–जे भन्छन्, त्यो कुरा ‘विश्वास’ गर्ने, ओलीलाई चिढिन नदिने र २०८३ असार कुर्ने बाहेक देउवासँग अर्काे विकल्प पनि थिएन।
यसको मतलब यो होइन कि, ओलीसँगको सत्ता–समीकरणबाट देउवालाई कुनै लाभ भएन। सबैभन्दा बढी लाभ उनले गृहमन्त्री रमेश लेखकका माध्यमबाट लिए। जसको १४ महिने कार्यकालमा सहकारी ठगीमा मुछिएका रवि लामिछानेलाई जेल पठाउने र आरजु राणा देउवालाई भुटानी शरणार्थी काण्डको छानबिनबाट जोगाउने ‘ठुल्ठूला’ काम भए।
संसदीय व्यवस्थामा पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने अभ्यास संसारमा बिरलै गरिन्छ। यस्तो अभ्यास असफल हुँदाको परिणामबारे देउवालाई सतर्क गराउने काम उतिबेलै एउटा ठूलो राजनीतिक–बौद्धिक पंक्तिले नगराएको पनि होइन।
तर, प्रचण्डले आफूलाई प्रधानमन्त्री हुन नदिएको र कांग्रेस छाडी एमालेसँग गरेको गठबन्धनको बदला लिनु थियो देउवालाई। यो ‘बदलाभाव’ का अगाडि उनले संसदीय व्यवस्थामा पहिलो र दोस्रो ठूलो दलको भूमिका के हो भन्ने मान्यता नै बिर्से।
प्रचण्डसँग आफ्नै र आरजुको रवि लामिछानेसँगको बदलाभावका कारण प्रतिनिधिसभामा आफ्नो दल सबैभन्दा ठूलो हुँदाहुँदै देउवाले ओलीलाई प्रधानमन्त्री बनाए। देउवाको कमजोरी बुझेका ओलीले पनि सत्तामा हुँदा मनपरी गरे, सुरुसुरुमा कतिपय सवालमा देउवा र कांग्रेसको सुनुवाइ पनि गर्थे। तर, सत्ता–हस्तान्तरणको मिति नजिकिँदै गर्दा सुनुवाइ कम हुन थालेको थियो।
एमाले महासचिव शंकर पोखरेल मात्र होइन, प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्ताैलाले समेत ‘सत्तामा भागेदारी पनि लिने, अनि सरकारको सार्वजनिक आलोचना पनि गर्न पाइन्छ?’ भन्दै नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि सार्वजनिक रूपमै छेडखानी गर्न थालेका थिए। महासचिव पोखरेल र प्रमुख सचेतक बर्ताैलाका यस्ता अभिव्यक्ति अब जति हेपे पनि सत्तामोहका कारण कांग्रेसले हामीलाई केही गर्न सक्दैन भन्ने कुराको संकेत थियो।
यस्तैमा, २३–२४ भदौको घटना भयो।
देउवाको ‘हुस्सुपन’ हो वा ‘सोझोपन’– २३ भदौको बानेश्वर नरसंहारले सिर्जना गरेको देशव्यापी आक्रोश देख्दादेख्दै पनि ढुक्कसँग घरमा बसे, जबकि उनको घर आक्रोशित प्रदर्शनकारीहरूले घेरिसकेका थिए। अन्य नेताहरूको घर जलिसकेको र नेताहरूलाई सेनाले सुरक्षित स्थलतर्फ लैजान थालिसकेको खबर उनले पाइसकेका थिए।
सायद देउवा २३ भदौको बिहान पार भइसक्दा पनि ‘ओलीपछि म नै हो प्रधानमन्त्री हुने’ भन्ने भ्रममै थिए। त्यसैले सुरक्षाकर्मीहरूले सचेत गराउँदा समेत बुढानीलकण्ठ निवास छाड्न जरुरी ठानेनन्।
आफ्नो ज्यान समेत बच्ने स्थिति नदेखेपछि प्रधानमन्त्री ओली राजीनामा दिएर सेनाको हेलिकोप्टर बोलाएर बालुवाटारबाट ‘टेक अफ’ लिए। उनी प्रधानमन्त्री भइहाले। प्रधानमन्त्री बन्ने आशामा ओलीका नाजायज कदमलाई साथ दिएका देउवा चाहिँ आन्दोलनकारीहरूको भौतिक आक्रमणको निसाना बने।
अर्थात् नेपालको राजनीतिमा समेत ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ उखान चरितार्थ हुन पुग्यो।
Shares

प्रतिक्रिया