शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदमा आफ्नो नाम सिफारिस भएपछि वैज्ञानिक महावीर पुनले पहिलोपटक प्रतिक्रिया दिएका छन्।
आज (सोमबार) बिहान सामाजिक सञ्जालमार्फत पुनले बधाई छ भनेर फोन नगर्न र खादामाला लिएर नआउन अनुरोध गरेका हुन्। साथै उनले आफूलाई मन्त्री नभन्न पनि आग्रह गरेका छन्।
‘मेरो पहिलो घोषणा- कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा-माला लिएर नआउनुहोला’, उनले लेखेका छन्, ‘बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नैपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नुहोला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने 'कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला।’

प्रधानमन्त्री सुशीला कार्कीले पाँच मन्त्री थप्न आइतबार पुनसहित पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी छन्।
जसअनुसार आज सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा उद्योगमन्त्रीमा, स्वास्थ्यमन्त्रीमा स्वास्थ्य मन्त्रालयकै अतिरिक्त सचिव संगीता कौशल मिश्र , कृषिमन्त्रीमा मदन परियार, सञ्चारमन्त्रीमा पत्रकार जगदीश खरेल र शिक्षामन्त्रीमा पुनले शपथ खाँदै छन्।
यसअघि रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात) र ओमप्रकाश अर्याल (गृह र कानुन, न्याय तथा संसदीय मामिला) मन्त्री बनिसकेका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति पौडेलले भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री पदमा नियुक्ति गरेका हुन्। लगत्तै संसद् विघटन गरी आगामी फागुन २१ का लागि प्रतिनिधि सभा सदस्य निर्वाचन पनि घोषणा भइसकेको छ।
कार्की नेतृत्वको अन्तरिम सरकारको प्रमुख जिम्मेवारी ६ महिनाभित्र उक्त चुनाव सम्पन्न गराउनु हो।
Shares

प्रतिक्रिया