राजनीति


हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्‍यो : शंकर पोखरेल

हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्‍यो : शंकर पोखरेल

नेपालखबर
असोज १३, २०८२ सोमबार १०:५३, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा परेको दाबी गरेका छन्।

सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भनेर नवयुवालाई विश्वास दिलाउन नसक्दा राष्ट्रिय शक्तिलाई कमजोर बनाउने खेलबाट देशलाई जोगाउन नसकेको उनको भनाइ छ। 

‘हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्‍यो। राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरूको खेलबाट हामीले आफूलाई जोगाउन सकेनौँ। हाम्रो देश पनि वैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो’, महासचिव पोखरेलले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरूको विश्वास जित्न सकेनौँ। उनीहरूको भावना र चाहनासँग नेपाली राजनीतिलाई जोड्न सकेनौँ। तर यसको अर्थ नेपालाई बहुलवाद, समावेशिता, लोकतान्त्रिक गणतन्त्र र स्वाधीनता एवम् स्वाभिमानको बाटोबाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन।’

उनले अगाडि लेखेका छन्, ‘ढिलोचाँडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्कने छ र फर्काइने छ। नेकपा एमाले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि बढ्न प्रतिबद्ध छ र रहनेछ।’

भ्रष्टाचारविरुद्ध भनेर जेनजीले भदौ २३ र २४ गते गरेको प्रदर्शन बृहत् आन्दोलनमा परिणत हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर मुलुकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ भने संसद् विघटन गरी आगामी फागुन २१ का लागि प्रतिनिधि सभा सदस्य निर्वाचन तोकिएको छ।  

जेनजी आन्दोलन भएयता हिजो (आइतबार) मात्र एमालेले पहिलो सचिवालय बैठक राखेको छ। बैठकले अध्यक्ष ओलीलाई पद छाड्न दबाब दिँदै पार्टी पुनर्गठनको माग गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad