उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आगामी जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले आन्तरिक र बाह्य दुवैतर्फका उडान रोक्ने निर्णय गरेको हो।
प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले हवाई उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय भएको बताए।
‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो’, उनले भने, ‘यसलाई मे १५ सम्म लम्ब्याउने, उडानलाई स्थगित नै राख्ने निर्णय भएको छ।’
त्यस्तै समितिले लकडाउनको मोडालिटी तयार गर्ने जिम्मा मुख्य सचिवको नेतृत्वमा रहेको टाक्र्सफोर्सलाई दिएको छ।
सरकारले दोस्रोपटक थप गरेको लकडाउनको अवधि वैशाख १५ बाट सकिँदैछ। यसबारे निर्णय गर्न भाेलि (आइतबार) मन्त्रिपरिषद् बैठक बस्दैछ।
बैठकले तत्काल लकडाउन खोल्ने अवस्था नरहेको निष्कर्ष निकालेको पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए।
मुख्यसचिव नेतृतवको कार्यदलमा विभिन्न मन्त्रालयका सचिवहरु सहभागी रहेको र सबैतिरको अवस्थाको मूल्यांकन गरेर लकडाउनको स्वरुप तयार हुने भट्टराईले बताए। उनले कार्यदलले मोडालिटी तयार गरेपछि त्यसबारे आवश्यक निर्णय मनित्रपरिषदले गर्ने जानकारी दिए।
‘कोरोनाविरुद्धको लडाइँमा हामी ठीक ठाउँमा छौँ भन्ने नै बैठकको निष्कर्ष हो’, नेपालखबरसँग कुरा गर्दै मन्त्री भट्टराईले भने, ‘लकडाउनलाई कसरी व्यवस्थित बनाउने, कता खुकुलो र कता कडा बनाउने भन्ने विषयमा कार्यदले निर्णय गर्नेछ।’
छिमेकी मुलुकमा भइरहेको संक्रमणको अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिलाई विचार गरेर मात्र लकडाउनसम्बन्धी चालिने कदमबारे निर्णयमा पुग्न उचित हुने समितिको ठहर छ।
बैठकमा हालसम्मका लकडाउनकोे प्रभावकारिता, कार्यान्वयन र सफलताका विभिन्न पाटा पक्षबाट समीक्षा गर्दै यस कार्यमा महत्वपूर्ण योगदान पु¥याउने चिकित्सक, नर्स, सुरक्षाकर्मीलगायत सबै सरोकारवाला निकाय र अधिकारीलाई समितिले धन्यवाद ज्ञापन गरेको छ।
समितिमा विभिन्न पाटोबाट लकडाउनको विश्लेषण भएको र मन्त्रिपरिषद्को आगामी बैठकबाट लकडाउनबारे निर्णय हुने सचिव बिडारीले जानकारी दिए।
समिति लकडाउनको पाटोमा अझै समीक्षा र विचार गरेर आवश्यकतानुरुप निर्णय गर्दै अघि बढ्ने छ। ‘उपचारका क्रममा ट्रेस, ट्र्याकिङ र ट्रिट्मेन्ट गर्नेलगायत विषयलाई अझै प्रभावकारी तुल्याउने भन्ने भएको छ’, उनले भने।
सबै प्रदेशमा अहिले औषधि र औषधिजन्य सामग्रीको आपूर्ति उपलब्धता सहज अवस्थामा रहेकाले कुनै पनि अभाव नरहेको र आवश्यकतानुरुप सामग्री पु¥याउन सक्ने अवस्थामा भएको समितिको बुझाइ छ।
Shares

प्रतिक्रिया