राष्ट्रिय मानवअधिकार आयोगले घृणायुक्त अभिव्यक्ति नदिन सम्बद्ध सबैसँग आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा आइतबार (कात्तिक ९) जारी विज्ञप्तिमा प्रदर्शनमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हुने उल्लेख गर्दै प्रदर्शन शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित भएको जनाइएको छ।
‘प्रदर्शनरत पक्षले पनि आफ्ना क्रियाकलापलाई शान्तिपूर्ण बनाउने, घृणायुक्त अभिव्यक्ति नदिने र उत्तेजनापूर्ण व्यवहारलाई नियन्त्रण गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ’ आयोगले भनेको छ।
नागरिक अधिकारको सम्मान गर्न र संयमित रहन सबै पक्षलाई आयोगले आग्रह गरेको छ।
आयोगले देशमा पुनः आयोजना गर्ने भनिएको प्रदर्शनबाट शान्ति सुरक्षा र मानवअधिकारको उपभोगमा उत्पन्न हुन सक्ने अवरोधप्रति ध्यानाकर्षण भएको जनाएको छ।
‘विगतका केही अभ्यासहरू हेर्दा प्रदर्शनहरू ध्वंसात्मक र हिंसात्मक हुन पुगेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यसप्रकारका हिंसात्मक गतिविधि नहोऊन् भन्नेतर्फ सचेत रहँदै प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ,’ आयोगले भनेको छ।
हरेक समस्याको समाधान विधिको शासन, संविधान, कानुन र मानवअधिकारको मूल्य–मान्यताकै आधारमा शान्तिपूर्ण रूपमा खोजिनुपर्ने सुझाव आयोगले दिएको छ।
Shares

प्रतिक्रिया