जेनजी आन्दोलनका घाइते युवा पाँच वटा माग लेखिएको माग पत्रसहित कार्तिक ४ गते प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। चार घण्टा चल्ने भनिएको सो बैठक तीन घण्टामै बिना कुनै निष्कर्ष सकियो।
घाइते युवाहरू र प्रधानमन्त्री सुशीला कार्की समेत रिसाउँदै बाहिरिए।
अहिले पनि घाइते जेनजीहरू सरकारप्रति आक्रोश पोखिरहेका छन्। आखिर के भएको थियो त त्यो बैठकमा?
खासमा त्यो बैठक निकै अव्यवस्थित तरिकाले आयोजना गरिएको थियो। पाँच वटा माग समेटिएको तर ढाँचाकाँचा नमिलाई लठिभद्र तरिकाले लेखिएको एउटा माग पत्र लिएर घाइतेहरू बालुवाटार पुगेका थिए। जहाँ घाइतेहरूले अनेकथरी कुरा राखेका थिए। र, घाइतेहरूको समस्या समाधान र मागका विषयमा भन्दा अनावश्यक आरोपप्रत्यारोप र भनाभन चलेको थियो। जसका कारण बैठक तनावपूर्ण हुन पुग्यो।
जेनजी घाइते सुरेन्द्र थापाले बैठकमा सरकार पक्षले बारबरा फाउन्डेसनको गुनगान गाएको र आफूहरूले प्रश्न गर्दा सरकार पक्ष आक्रोशित भएर गाली समेत गरेको बताए।
'अरु बेला सुनेर बस्ने प्रधानमन्त्री हामीले प्रश्न गर्ने बित्तिकै आक्रोशित हुने भनेपछि केही न केही कारण त होला नि त,' उनी भन्छन्, 'जनताको माझ हामीलाई हिलो छ्यापियो।'
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु र २३०० भन्दा बढी घाइते भए। कतिपय अझै औषधोपचारको क्रममै छन्। जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो। तर, जेनजीले बनाएको सरकारसँग आन्दोलनका घाइतेहरूको चित्त बुझाइ छैन।

'कात्तिक ४ गते घाइते जेनजीको लागि प्रधानमन्त्री कार्कीले ४ घण्टाको समय छुट्याउनुभएको थियो,' घाइते बिजेस गोले तामाङ भन्छन्, 'हामीलाई दिएको ४ घण्टामा २ घण्टा त शिक्षामन्त्री महावीर पुन नै बोल्नु भयो। यो देख्दा सरकारले आफूहरूलाई गम्भीरतापूर्वक नलिएको महसुस भयो।'
प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्न भनेर गए पनि बैठकमा अन्य मन्त्रीहरू पनि उपस्थित रहेको र अनावश्यक विषयमा ज्यादा कुरा भएको गोले बताउँछन्।
'घाइतेका मागका कुराभन्दा पनि बढी भावुकता, पीडा, द्वन्द्वकालका कुरा र बारबरा फाउन्डेसनको विषयमा कुरा भयो,' उनी भन्छन्, 'उहाँहरूले चाहेकै कसरी हुन्छ, छलफलको समय सकाउने रहेछ।'
आफूहरूले दिएको माग पत्र समेत प्रधानमन्त्रीले नपढिदिएको घाइतेहरूको गुनासो छ। घाइते जेनजीको ५ वटा माग रहेको उनीहरूको भनाइ छ।
यद्यपि, उनीहरूका माग विरोधाभाषी र यो सरकारको म्यान्डेटबाहिरका पनि छन्।
भदौ २३ र २४ गते गरिएको गोली प्रहारको न्यायिक छानबिन र कारबाही हुनुपर्ने आफूहरूको पहिलो माग रहेको गोले बताउँछन्।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सीडीओविरूद्ध ५ दिनभित्र अपराधिक मुद्दा दर्ता हुनुपर्ने उनीहरूको भनाइ थियो।
उनीहरूले अन्तरिम संविधान जारी गरी जनमत सङ्ग्रह घोषणा गर्नुपर्ने, आन्दोलनलाई वैधानिकता प्रदान गरी कानुनी सुरक्षा दिनुपर्ने, भ्रष्टाचार विरुद्ध कडा कारबाही, सम्पत्तिको पारदर्शी छानबिन तथा शून्य सहनशीलता कार्यान्वय, संवैधानिक अङ्गमा स्वच्छ नियुक्ति र विदेशी हस्तक्षेपमा रोकजस्ता माग राखेका छन्।
त्यस्तै, संविधानमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति हुनु पर्ने, प्रदेश खारेज, सांसद मन्त्री बन्न नपाउने, दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने, न्यायाधीश छान्दा दलगत हिसाबले छान्न नपाउनेलगायतको माग पनि पूरा हुनुपर्ने गोलेको भनाइ छ।

किन रिसाइन् प्रधानमन्त्री कार्की?
छलफलमा धेरै घाइतेले धेरैथरीका कुरा राखेका थिए। एक जना घाइतेले तपाईंहरूको सरकार एनजीओ/आईएनजीओको नेतृत्वमा बनेको हो अथवा हाम्रो जेनजी आन्दोलनबाट जेनजीकै नेतृत्वमा बनेको हो लेखेर दिनुस् भनेका थिए।
सो प्रश्रको जवाफ दिने क्रममा सरकार पक्षले बारबरा फाउन्डेसनको बारेमा लगभग आधा घण्टा व्याख्या गरेको गोले बताउँछन्। अप्रत्यक्ष रूपमा फाउन्डेसनको तारिफ गरिएको गोलेको दाबी छ।
घाइतेका यस्ता किसिमका प्रश्नहरू सुनेपछि प्रधानमन्त्री कार्कीले जवाफ दिने क्रममा भनिन्, ‘तपाईंहरूको आन्दोलनमा कमी भएको कारणले यो अन्तरिम सरकार बनेको हो।’
त्यो सुनेर घाइते जेनजी आक्रोशित भए। त्यसपछि उनीहरूले प्रश्न गरे, 'तपाईंलाई हामी यत्तिका जना घाइते भएको र मरेको कमी भएको रहेछ हैन?'
फेरि एकजना घाइतेले प्रधानमन्त्रीलाई सोधे, 'तपाईंलाई अख्तियारमा मुद्दा लागेको रहेछ नि!'
त्यो सुनेर प्रधानमन्त्री कार्की आक्रोशित भइन्। उनले प्रमाण दिन आग्रह गरिन्।
घाइतेहरूले उल्टै प्रश्न गरे, '२३०० भन्दा बढी घाइते र सहिद परिवार मिलेर तपाईंलाई प्रधानमन्त्री बनाएको हो भनेर के प्रमाण छ?'
यसरी अनावश्यक र अर्थहीन भनाभन चलेपछि बैठक छाडेर प्रधानमन्त्री र मन्त्रीहरू बाहिर निस्किए।

घाइते जेनजीमा अनुशासन नभएको भनेर सरकारी पक्षले बताएको गोलेको भनाइ छ।
अर्कोतिर, सरकारले आफूहरूलाई नहेरेको भन्दै घाइतेहरू असन्तुष्ट छन्। गोले मेयर बालेन्द्र शाहसँग पनि आक्रोशित सुनिए।
'सामाजिक सञ्जालमा स्टाटस लेखेर सम्पूर्ण नेपालीलाई उचालेर फलानालाई प्रधानमन्त्री बनाउनु पर्छ भन्नु भयो; उहाँ अहिले कहाँ हुनुहुन्छ? न त उहाँले घाइतेको बारेमा बोल्नु भयो, न त सहिद परिवारको लागि नै,' गोले भन्छन्।
दाहिने पिँडुलामा गोली लागेका गोले घाइते जेनजीहरूलाई धम्की आउने गरेको बताउँछन्।
सरकारले आफ्नो माग नसुनेको भन्दै उनीहरुले मंगलबार बुद्धनगरमा पत्रकार सम्मेलन समेत गरेका थिए।
Shares

प्रतिक्रिया