राजनीति


जेनजी आन्दोलनमा बढी क्षति भएका क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न परिपत्र

जेनजी आन्दोलनमा बढी क्षति भएका क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न परिपत्र

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १६:३९, काठमाडौँ

जेनजी आन्दोलनमा भदौ २३ र २४ गते भएको क्षतिको जाँचबुझ गर्न गठित आयोगले बोलाउने भएपछि प्रहरीका कर्मचारीहरूलाई उपत्यका नछाड्न परिपत्र गरिएको छ।

आयोगले प्रहरी प्रधान कार्यालयलाई आइतबार पत्र पठाउँदै अब आयोगले सोधपुछका लागि बोलाउने र सोहीअनुसार जानकारी गराइदिन पत्राचार गरेको थियो। 

प्रहरी महानिरीक्षकको सचिवालयको निर्देशन अनुसार भन्दै प्रशासन शाखाले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई यस बारेमा पत्राचार गरेको छ। 

जेनजी आन्दोलन भदौ २३ र २४ गतेको घटना सम्बन्धमा जाँचबुझ आयोगले सोधपुछका लागि बोलाउने भएकाले बढी क्षति भएका क्षेत्रहरूमा खटिएका प्रहरी इन्चार्जहरूलाई काठमाडौँ उपत्यका नछाड्न भनिएको छ। 

‘बढी क्षति भएका क्षेत्रहरूमा खटिएका प्रहरी इन्चार्जहरूलाई घटनासम्बन्धि सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थितिका लागि बोलाउनु पर्ने हुँदा हाललाई काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था मिलाउन हुनसमेत अनुरोध गरिएको छ’, उपत्यका प्रहरी कार्यालयलाई लेखेको पत्रमा भनिएको छ। 

जेनजी आन्दोलनका क्रममा सबैभन्दा बढी क्षति काठमाडौँमा भएको थियो। २३ गते भएको अत्याधिक बल प्रयोग र २४ गतेको विध्वंशको बारेमा आयोगले सम्बन्धित व्यक्तिसँग सोधपुछ गरिरहेको छ। 

आयोगका प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्माले अब प्रहरीसँग सोधपुछ सुरु गर्ने बताएका छन्। जेनजी आन्दोलनका क्रममा ३ प्रहरी मारिएका थिए। कोटेश्वर प्रभागमा एक जना र महाराजगञ्ज वृत्तमा दुई जना प्रहरीको ज्यान गएको छ। 

यस्तै १० जना कैदीबन्दीसहित अरु ७३ जनाको ज्यान गएको थियो। यी मध्ये आधा बढीको प्रहरीको गोलि लागेर र केहीको आन्दोलनकारीले आगजनी गर्दा ज्यान गएको हो। भाटभटेनीमा आगजनीमा परेका १२ जनाको अझै सनाखत हुन सकेको छैन। 

अब काठमाडौँ उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रहरी परिसरमा पत्राचार गर्नेछ। त्यसपछि जिल्लाले सम्बन्धित वृत्त तथा प्रभागका इन्चार्जहरूलाई पत्राचार गर्नेछन्। 

जाँच बुझ आयोगलाई २३ र २४ गतेको घटना छानविन गरी कारबाही सिफारिस गर्ने अधिकार दिइएको छ। सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय जाँच बुझ आयोग गठन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad