राजनीति


राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १८:६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागिता जनाएर आज स्वदेश फर्किएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव तथा सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए। सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल सोमबार प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा प्रस्थान गरेका थिए।

दोहामा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार आयोजना गरिएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को मुख्य सत्रलाई सम्बोधन गरेका थिए। साथै उनले गरिबी निवारण, उत्पादक रोजगारी र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच बैठकमा समेत मन्तव्य राखेका थिए।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए। साथै उनले कतार राष्ट्रिय संग्रहालयको अवलोकन समेत गरेका थिए। 

सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलो पटक आयोजित ‘सामाजिक विकासका लागि विश्व शिखर सम्मेलन’पछि दोहामा दोस्रो संस्करण सम्पन्न भएको हो। यस सम्मेलनमा विश्वभरका देशहरूले विकासको असमानता, जनसङ्ख्या असन्तुलन र प्रविधिको प्रभावका विषयमा छलफल गरेका थिए।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेकाले नेपालले शान्ति, विकास र स्थायित्वका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad