नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिने दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। अध्यक्ष ओलीले कांग्रेससँग आफूहरूले संवाद गरिरहेको समेत बताए। उनले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि कांग्रेसमा नेतृत्वको अभाव देखिएको दाबी गरे।
अध्यक्ष ओलीले देउवाकै अभावमा कांग्रेस केन्द्रीय कार्य समिति बैठक लम्बिएको जिकिर समेत गरे।
उनले भने, ‘कांग्रेस एउटा पार्टी हो, हामी अर्को पार्टी हौं। कांग्रेससँग हाम्रो संवाद भइरहेको छ। कांग्रेस फाइनल्ली मेरो विश्वास छ–पुनर्स्थापनामा पुग्छ। कुराकानी भइराखेको छ। तर अब कांग्रेस भित्र जटिलता छ। शेरबहादुरजी उता जानुभयो। लिडरसिप क्राईसेस छ। अब लिडरसिप भनेको यस्तो चिज हुँदो रहेछ शेरबहादुर जी त्यो कुर्सीमा बसिदियो भने खुरुखुरु पास हुन्छ। बसिदिएन भने हुँदैन कति दिन भयो केन्द्रीय समिति बैठक बसेको, निर्णय छैन।’
अध्यक्ष ओलीले कांग्रेसभित्र नेतृत्वकै अभावमा जटिलता थपिन पुगेको पनि दाबी गरे।
उनले एमाले बैठकमा ३६० जना सबै बोलेपनि तीन दिनमा सकिने बताए।
उनले भने, ‘हाम्रो पार्टीको महाधिवेशन ३ दिनमा सकिन्छ। केन्द्रीय कमिटी बैठक ३ दिनमा सकिन्छ। ३६० जना सबैलाई बोल्न पालो दिइएको हुन्छ। सबैले बोल्छन्। पहिलानै विषय फ्लोर गरिदिएको हुन्छ। सबैले दस्तावेजमा छलफल गर्दछन्। सबैले भाग लिन्छन् बोल्नका लागि।’
Shares

प्रतिक्रिया