नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग तीव्र बन्दै गएको छ। पार्टीका महिला नेतृहरूले बिहीबार काठमाडौँमा आयोजित भेलाबाट विशेष महाधिवेशन बोलाउन नेतृत्वमाथि दबाब दिएका छन्।
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियानमा संलग्न महिलाहरूले भेलामा बोल्दै समयमा नियमित अधिवेशन सम्भव नभए विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।
नेतृ चन्दा जोशीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि नेतृत्व परिर्वतन गरेर जनतासामु जानुपर्ने बताउँदै देशभरका करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टीमा दर्ता भइसकेको जानकारी दिइन्।
जोशीले भनिन्, ‘यदि नियमित अधिवेशन गर्न सकिँदैन भने विधानअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा पार्टी अघि बढ्नुपर्छ। यही भेलाबाट हामी केन्द्रिय समितिलाई आग्रह गर्दछौं-मंसिरभित्र अधिवेशनको कार्यतालिका स्पष्ट गरियोस्।’
यसैबीच, नेतृ कुशुमदेवी थापामगरले वर्तमान नेतृत्वले जनताको समस्या सम्बोधन गर्न नसकेको आरोप लगाइन्। उनका अनुसार नेतृत्वको असफलताकै कारण जेनजी आन्दोलन जस्तो घटना भोग्नुपर्यो। थापामगरले भनिन्, ‘फागुनमा हुने निर्वाचनमा यही नेतृत्व लिएर गयो भने कांग्रेस थप संकटमा पर्छ। त्यसैले नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन अपरिहार्य छ।’
नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले पार्टीले विगतका गल्तीहरूको आत्मसमीक्षा गरेर जनतामाझ ‘सुध्रिएको कांग्रेस’को सन्देश लिएर जानुपर्ने बताइन्। उनले भनिन्, ‘भ्रष्टाचार र भागबण्डाको कारण कांग्रेस कलंकित बनेको छ। त्यसलाई सुधार्न विशेष महाधिवेशन आवश्यक छ।’
पद्मकन्या क्याम्पसकी स्ववियु सभापति भूपी ऐरले पार्टीले समयमा नै महाधिवेशन गरेर महिला र युवाको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।
Shares

प्रतिक्रिया