मधेस प्रदेशका माओवादी केन्द्रका दुई सांसदमाथि पार्टीले कारबाहीको तयारी गरेको छ।
पार्टीको ह्वीप उलंघन गरेको आरोपमा प्रदेश सांसदद्वय रहबर अन्सारी र माला कर्णलाई माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) ले कारबाहीको तयारी गरेको हो।
माओवादी भित्रको आन्तरिक विवादको कारण मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको छ।
यही कात्तिक २२ गते प्रदेशसभा बैठकमा सोनले विवासको मत माग्दा सत्ता पक्षमै भए पनि माओवादी केन्द्रका सांसदद्वय अन्सारी र कर्णले सोनललाई विश्वासको मत नदिने घोषणा गरेका थिए।
त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनलले विश्वासको मत नपाउने अवस्था सिर्जना भएको थियो। लगत्तै सोनलले प्रदेशसभामा विश्वासको मत नमागी पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।
तत्कालीन माओवादी केन्द्रका संयोजक प्रचण्डले कात्तिक १७ गते मधेस प्रदेशका सभामुखलाई पत्र पठाउँदै भरत साहलाई माओवादीको मधेस प्रदेश संसदीय दलको नेतामा पुन:स्स्थापना गरिएपछि रुष्ट बनेका अन्सारी र कर्णले दलको ह्वीप उलंघन गर्दै सोनललाई विश्वासको मत नदिने घोषणा गरेका थिए।
पार्टी निर्णय उलंघन गरेको आरोपमा अन्सारी र कर्णलाई कारबाहीको लागि पार्टीको मधेस प्रदेशले केन्द्रमा सिफारिस गरेको एक सांसदले जानकारी दिए। ‘केन्द्रले अब चाँदै उनीहरूलाई कारबाही निर्णय गर्ने सम्भावना छ,’ उनले नेपालखबरसँग भने।
तर सांसद कर्णले भने सोनललाई मत नदिएको विषयमा अहिलेसम्म पार्टी केन्द्रले आफूसँग कुनै सोधपुछ नगरेको बताइन्।
Shares

प्रतिक्रिया