फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा नीति अनुसन्धान प्रतिष्ठानले काम गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले प्रधानमन्त्री कार्यालयले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा विकल्पसहित सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मेवारी दिइएको बताए।
‘अगामी प्रतिनिधि सभा निर्वाचनको लागि कानूनी विषयमा हामीले कानून मन्त्रालयसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘विदेशबाट हुने मतदानको विषयमा कुन तहसम्म सम्भावना छ भन्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नीति अनुसन्धान प्रतिष्ठानलाई यो विषयमा अध्ययन गरेर सरकारलाई विकल्पसहितको सुझाव दिन भनेको छ। प्रतिष्ठानले काम गरिरहेको अवस्था छ।’
त्यस्तै आसन्न निर्वाचनका लागि संशोधन गर्नुपर्ने कानूनका सन्दर्भमा कानून मन्त्रालयसँग छलफल चलिरहेको छ। उनले निर्वाचनमा शान्ति सुरक्षाको अवस्थाबारे अध्ययन गर्न गठित एकीकृत सुरक्षा योजना तर्जुमा कार्यदलले समेत प्रतिवेदन बुझाइसकेको बताए। उक्त प्रतिवेदन केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भइसकेपटि जिम्मेवारी बाँडफाँड गरिने पनि बताए।
‘निर्वाचनको लागि शान्ती सुरक्षाको विषयमा केन्द्रीय सुरक्षा समितिले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत सुरक्षा योजना तर्जुमा कार्यदल गठन गरेको थियो,’ काफ्लेले भने, ‘त्यो कार्यदललले आफ्नो प्रतिवेदन बुझाइसकेको छ। त्यो कार्ययोजना केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भइसकेपछि कुन निकालाई कुन स्रोत र सामग्रिसहित परिचालन गर्ने भन्ने विषयको टुंगो लाग्छ। राजनीतिक दलहरुसँग पनि सुरक्षाको विषयमा परामर्शको कामहरु भइरहेको छ।’
उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणामा निर्वाचन सम्पन्न गराउन राजनीतिक दलहरुसँग समेत परामर्श गइरहेको बताए।
Shares

प्रतिक्रिया