राजनीति


जसले नयाँ दल खोले, नेतृत्व अर्कैलाई सुम्पिए

जसले नयाँ दल खोले, नेतृत्व अर्कैलाई सुम्पिए

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १८:५९, काठमाडौँ

सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेको छ। निर्वाचनमा सहभागी हुनका लागि कात्तिक मसान्तसम्मको मिति तोकेर आयोगले दल दर्ताको लागि आह्वान गरेको थियो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दल दर्ताको अन्तिम दिन हो। आजसम्म आयोगमा १२२ वटा दल दर्ता भएको उनको भनाइ छ।

भट्टराईले निर्वाचन घोषणाका दिन १२२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन्। उनका अनुसार,  यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन्। निवेदन दिएका केही दल दर्ताको काम अझै जारी रहेको उनको भनाइ छ।

भदौ २७ गते प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो। प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरूले निर्वाचनमा सहभागी हुन पाउनेछन्। 

फागुनको चुनावमा सहभागी हुने तयारी गरिरहेका केहीले भने अर्कैको नाममा दल दर्ता गरेर आफू देखिएका छैनन्।

कुलमान घिसिङ

निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेको उज्यालो नेपाल पार्टीको अध्यक्ष र केन्द्रीय सदस्यको विवरण अद्यावधिक भएको छ। पूर्वऊर्जासचिव अनुप उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समितिको विवरण अद्यावधिक गरिएको हो।

कुलमान घिसिङसहितले यो पार्टी गठन गरेका हुन्। तर, घिसिङ मन्त्री पदमा रहेकाले पार्टीको जिम्मेवारीमा छैनन्। उनले मन्त्री पद छोडेपछि उज्यालो नेपालको अध्यक्ष पद लिने बताइएको छ।

निर्वाचन आयोगमा गत २७ साउनमा ‘उज्यालो नेपाल’ पार्टी दर्ताका लागि निवेदन परेको थियो। यो पार्टीको चुनाव चिह्न ‘बलिरहेको बिजुलीको चिम’ प्रस्तावित छ। ज्ञानबहादुर तामाङले यो पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका थिए। अहिले ज्ञानबहादुरको ठाउँमा उपाध्यायको नाम राखेर अध्यावधिक गरिएको हो। 

दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि निर्वाचन आयोगमा दल दर्ता गरेका छन्। माधव खतिवडा (माधव कल्पित) सभापति रहने गरी प्रसाईंको दलले आयोगमा निवेदन दिएको हो। 

आफू सभापति भए पनि पार्टीको मुख्य व्यक्ति दुर्गा प्रसाईं नै भएको कल्पितले बताएका छन्। कल्पितसहित पार्टीका सदस्यहरुले आइतबार बिहान निर्वाचन आयोगमा गएर सनाखत गरेका थिए। उनीहरुको नागरिक बचाउ दल नेपालको दर्ता नम्बर ६३० छ।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरेका प्रसाईंको अभियान समूहलाई सरकारले वार्तामा बोलाएको छ। २७ बुँदे माग राखेका प्रसाईँको नागरिक बचाउ महाअभियानले दल दर्ता गरेर निर्वाचनको लागि तयारी पनि सँगसँगै अगाडि बढाएको कल्पितले नेपालखबरलाई बताए।

पार्टीको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन्। पार्टीको महामन्त्री प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्री विष्णु बोहरा क्षेत्री, कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल र प्रवक्ता प्रेम थापा मगर छन्।

पार्टीका सभापति खतिवडा र महामन्त्री थाम्सुहाङ प्रसाईंकै जिल्ला झापाका हुन्। निर्वाचन आयोगमा २७ सदस्यीय समिति पठाइएको छ। आयोगले ९ गतेसम्ममा दलदर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ।

रेशम चौधरी

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट दल दर्ता भइसकेको छ। आयोगले कात्तिक २६ गते पार्टीका संरक्षक चौधरी र अध्यक्ष कविर सोपलाई प्रमाणपत्र हस्तान्तरण गरिसकेको छ।

यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। गत निर्वाचनमा उन्मुक्ति पार्टीले चार सीट जितेको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको किचलोका कारण चौधरीले नयाँ पार्टी गठन गरेका हुन्। पार्टीको वरिष्ठ उपाध्यक्षमा यसअघि जनमत पार्टीका उपाध्यक्षसमेत रहेका अब्दुल खान छन्। 

वीरेन्द्रबहादुर बस्नेत

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितले पनि नयाँ दल गठन गरेका छन्। आयोगमा बस्नेतसहित मिलेर खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’लाई दल दर्ताको प्रमाणपत्रसमेत दिइसकेको छ। आयोगले कात्तिक २४ गते सोमबार उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो। गतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमा भने दिनेश प्रसाईँ रहेका छन्।

गत ३० असोजमा उनीहरूले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। उक्त पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन्।

जनादर्न शर्मा

यस्तै जनार्दन शर्माले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समावादीसहित १२ वटा वामघटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा नगई प्रगतिशील राष्ट्रिय अभियान गठन गरेका छन्। पूर्वमाओवादीका केन्द्रीय सदस्य, विद्यार्थी नेतादेखि पूर्वजनमुक्ति सेना, वाईसीएल, पत्रकार लगायतलाई समेटेर ३१ सदस्यीय संयोजन समिति बनाइएको छ।

संयोजन समितिमा सुदन किराती, मदन भट्टराई, मदन लिम्बू, सम्झना राई, पुजन सिंह, अरविद्र यादव, लक्ष्मी गुरुङ र प्रकाशचन्द्र पाण्डे रहेका छन्।

यसैगरी राजु ओलमगर, सन्तोष विष्ट, प्रेमबहादुर तामाङ, यज्ञबर्मा शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मतकुमार विक, सन्दिप पुन र यगेन्द्र ढकाल रहेका छन्।

यस्तै नारायणी शर्मा, भीमबहादुर मल्ल, गोरखबहादुर केसी, जटिल कार्की, देवीराम देवकोटा, जन्मेदव जैसी, टेकेन्द्र भट्ट, दीपक साउद, पुष्प न्यौपाने, डा. अच्युत भट्ट, विमल सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेका छन्।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच कात्तिक १९ गते एकता हुने भएपछि त्यसको एकदिन अगाडिनै नेता जनार्दन शर्मा, राम कार्कीलगायत नेताहरूले अभियान घाेषणा गरेका थिए।

बुधबार मात्र माओवादीका पूर्व केन्द्रीय सदस्यहरू लक्ष्मण पन्त, ओम शर्मा लगायत १० जनाले विज्ञप्ति जारी गरी प्रगतिशील राष्ट्रिय अभियानमा जोडिएको घोषणा गरेका थिए। शर्माले अभियान गठन गरे पनि दल गठन भने गठन गरेको जानकारी दिएका छैनन्। यो दलले यसअघि नै दर्ता भइसकेको कुनै दलसँग मिलेर जाने तयारी पनि गरेको नेताहरू बताउँछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad