राजनीति


देउवाले नेताहरूलाई हकार्दै भने: म सभापति छोड्न तयार भइसकेँ, तपाईंहरू बखेडा झिक्ने?

‘शनिबार नियमित तालिका ल्याउने सहमति हुन्छ’
देउवाले नेताहरूलाई हकार्दै भने: म सभापति छोड्न तयार भइसकेँ, तपाईंहरू बखेडा झिक्ने?

सन्तोष अधिकारी
मंसिर १२, २०८२ शुक्रबार २०:२, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नियमित महाधिवेशन पुस मसान्तभित्रै ल्याएर प्रक्रिया अघि बढाउनेमा जोड दिएका छन्। शुक्रबार महाराजगञ्जस्थित आफ्नो निवासमा पार्टीका पदाधिकारीसँग छलफल गर्दै विशेष महाधिवेशनको विषयमा नलागि नियमित महाधिवेशनमा लाग्न निर्देशन दिएका हुन्। 

उनले आफू पार्टी छोड्न तयार भइसक्दा पनि नेताहरू नियमित र विशेषको नाममा विभाजित भएको भन्दै देउवाले आपत्ति पनि जनाएका थिए।

‘मैले नेतृत्व छोड्ने भनिसकेँ तपाईंहरू विवाद गरेर यत्रो समय कटाउनुहुन्छ,’ देउवालाई उदृत गर्दै एक पदाधिकारीले भने, ‘नियमित महाधिवेशनको मिति तोकेरै अघि जानुपर्छ। समय अपुग हुन सक्छ तर, यस्तो अवस्थामा सम्पूर्ण शक्ति लगाएर गरौँ। पुस मसान्तसम्म सक्नुपर्छ अब। किन सकिन्न? म नेतृत्व छोड्न तयार भएको मान्छेले हुन्छ भन्दा तपाईंहरू किन बखेडा झिक्नुहुन्छ।‘

ती पदाधिकारीका अनुसार विषय मिल्नेतर्फ अघि बढेको छ। ‘ भोलिसम्म सहमति हुन्छ भन्ने विश्वास छ। सहमतिनजिक छौँ’ उनले भने।

नियमित महाधिवेशनको विषयमा समय अपुग भएको भन्दै महामन्त्रीहरूले आशंका भने व्यक्त गरेका थिए। 

‘नियमित गर्न सकिन्छ भने तयार नै हो। समय कम भएको हुँदा सकिन्छ, सकिन्न भन्ने आशंका त छ नि। फास्ट ट्रयाकबाट गर्न सकिन्छ भन्नेमा त हामी पनि हौँ,’ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भनेका थिए, ‘क्रियाशील नवीकरण र सदस्यता वितरणको काम कसरी सक्ने, नगर्नेलाई तत्कालै रिजेक्ट गर्ने,  कार्यालयमा आइटीका मान्छे धेरैभन्दा धेरै राखेर कम्प्युटरमार्फत काम गर्ने कमिटमेन्ट चाहिन्छ। काममा हस्तक्षेप हुनुहुँदैन।‘

बैठकमा गगनले विशेषमै जोड दिएका थिए। फेरि देउवाले थपे, ‘विशेष हुँदैन। गर्ने भएपछि नियमित गरौँ। सबै लागौँ।‘ कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका छन्।

आजको बैठकमा महामनत्री थापालाई नेता रमेश लेखकसहितले विशेष महाधिवेशन पक्षधरलाई निवेदन फिर्ता लिन आग्रह गर्न भनेका थिए। ‘महामन्त्रीज्यूले विशेष महाधिवेशन माग गर्नेहरूलाई पत्र फिर्ता लिन भनिदिनुस्। नियमितको तालिका ल्याएर अघि जाने भनेर सभापतिले भनिसक्नु भयो। सहमतिमा जाऔं’ लेखकले भनेका थिए।

लगत्तै महामन्त्री थापाले भने, ‘हस्ताक्षर फिर्ता लिन लगाउने कुराको जिम्मा म लिन सक्दिनँ। तपाईंहरू नियमितका लागि तयार नभएपछि आएको परिस्थिति आफैँ सम्हालुनुस्।'

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २८ गते देउवाले नै उद्घाटन गरेका थिए। त्यसपछि देउवा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर उपचारका लागि विदेश गएका थिए। 

बैठक सुरु भएदेखि नै कांग्रेसको नियमित महाधिवेशन या विशेष महाधिवेशन भन्नेमा नेताहरू विभाजित हुँदा विवाद लम्बिएको छ। यसको समाधान अझै हुन सकेको छैन। सभापति देउवानिकट नेताहरू नियमित महाधिवेशन गर्नुपर्ने तर महाधिवेशन फागुन २१ को निर्वाचनपछि मात्रै गर्नुपर्ने पक्षमा देखिए। 

उता महामन्त्रीद्वयसहित नेताहरू भने तत्काल विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा देखिए। 

कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसमेत कार्यवाहक सभापति खड्कालाई बुझाइसकेका छन्। विशेष महाधिवेशन माग गर्दै निवेदन दिएको ९० दिनभित्र यसलाई प्रक्रियामा लैजानुपर्ने विधानको व्यवस्था छ।  

शुक्रबारमात्रै विशेष पक्षधरलाई कार्यवाहक सभापति खड्काले वार्ताका लागि टेलिफोन गरेका थिए। उनले शनिबार बिहान ८ बजे बैठक बस्ने गरी फोन गरेको नेता गुरुराज घिमिरेले बताए।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भोलि शनिबार बिहान ८ बजे सभापति निवासमा बोलाउनु भएको हो। उहाँको पहललाई हामीले सकरात्मक रुपमा लिएका छौँ,’ उनले भने, ‘तर यो विशेष महाधिवेशनको विषयमा छलफल गर्न पार्टीको तर्फबाट बोलाइएको होइन, घरमा अनौपचारिक रुपमा बोलाउनु भएको हो। विशेष महाधिवेशन माग गर्दै २ हजार ४ सय ८८ जनाको हस्ताक्षरसहित पार्टीमा औपचारिक लिखित निवेदन दर्ता भएको छ। अब उहाँहरुले औपचारिक व्यवहार गर्नुपर्छ भन्ने हाम्रो कुरा हो। विशेष महाधिवेशनबारे छलफल गर्न अनौपचारिक बैठकमा हामी जाँदैनौँ।'

कार्यवाहक सभापति खड्काले विवाद समाधानका लागि निरन्तर प्रयास गर्दै आएका छन्।  सभापति देउवाले हिजोदेखि नै कार्यवाहक सभापति खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा, तथा आफूनिकट नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र रमेश लेखकसहितका नेताहरूसँग निरन्तर संवाद गरिरहेका छन्।  लगातारको छलफलपछि नेताहरू सहमतिनजिक पुगेका हुन्। 

अब कांग्रेस केन्द्रीय समिति बैठक आइतबार दिउँसो २ बजे बस्ने तय भएको छ। यो बैठकमा नियमित महाधिवेशनको तालिका पेस हुने नेताहरूले बताएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad