‘यो त नसोचेको भयो। झलिको यति धेरै हिट होला भन्ने लागेको थिएन,’ कुराकानीको सुरूवातमै सन्तोष सापकोटाले उत्साहित हुँदै भने।
हुन पनि ‘झलिको’ गीत यतिबेला हरेकको मुखमा झुण्डिएको छ। सामाजिक सञ्जालदेखि टिकटकसम्म यही गीत छाएको छ। मौलिक शब्ददेखि गायकी र संगीतको उत्कृष्ट सम्मिश्रणलाई दर्शक/स्रोताले निकै मन पराएका छन्। त्यसैले त सार्वजनिक भएको १९ दिनमै भ्युजको संख्या ९८ लाख नाघिसकेको छ।
सन्तोष यसै चर्चित गीतका गीतकार हुन्। जहाँ उनले माया गर्नेप्रतिको भावना पोखेका छन्। जसमा अथाह प्रेम र समर्पण भेटिन्छ। अनि गीतका शब्दले भन्छ:
तिमी मेरो आत्मा हौ
सधैँ साथमा छौ
झलिको तिम्रो याद अलिगो
हिमालभन्दा नि
गीतमा डुबेका स्रोताहरूले मन छुने शब्द भन्दै तारिफ गरिरहेका छन्। यस्तो प्रतिक्रियाले निकै दंग छन् सन्तोष।
‘ओभर द मुन भन्छन् नि, त्यस्तै भइरहेको छ। हुन त हामीले यस गीतमै मेहनत गरेका थियौँ। राम्रो होला भन्ने आश थियो। तर, यति धेरै हिट होला भन्ने लागेको थिएन,’ उनले भने, ‘यो चाहिँ नसोचेको भयो। अपलोड गरेको एक घण्टाबाटै टिकटकहरू बन्न सुरू भयो। सेयर हुन सुरू भयो। युट्युबमा भ्युज पनि निकै राम्रो छ।’
यस गीतका गायक अर्जुन सापकोटा सन्तोषका काकाका छोरा हुन्। पछिल्लो समय सन्तोषका शब्दमा दाइ अर्जुनले आफ्नो संगीत र शब्दमा गीत ल्याउँदै आएका छन्। अर्जुन र सन्तोषबीच सांगीतिक सल्लाह हुन्छ।
सोही क्रममा एक दिन अर्जुनले एउटा थिम बताउँदै सन्तोषलाई शब्द कोर्न भने। एक जोडीको कथा, जहाँ शब्द सरल होस्। तर, प्रेम भने भरिपूर्ण। जसलाई बालखदेखि बुद्धसम्मले बुझोस्।
सुरुवातमा अर्जुनले एक लाइन सुनाएका थिए। जुन लाइन थियो: ‘सँगसँगै जिउँला नि, जोवन दिउँला नि’। त्यस्तै, कृष्ण रेउलीको झलिको तिम्रो याद अलिगो भन्ने हुक लाइन समावेश गरियो। त्यसै अनुसार सन्तोषले शब्दहरू लेख्न थाले। र, गीत तयार भयो। यो अर्जुनलाई समेत निकै मनपरेको सिर्जना हो।
अनि बने सामाजिक सञ्जालका डाक्टर
रुपन्देही घर भएका सन्तोष बच्चैदेखि लोकदोहोरीका पारखी थिए। राजु परियार, शिरिष देवकोटा, विष्णु माझी लगायतका गीतहरू सबै सुन्थे।
कक्षा ९ मा पढ्दा ताका सन्तोषले कक्षा १० का दिदीहरूसँग दोहोरी खेलेका थिए। रमाइलो कुरा त क्रिकेटर कुशल भुर्तेल सन्तोषसँगै पढेका हुन्। त्यस दोहोरीमा कुशल कोरसको रूपमा रहेको सम्झन्छन् सन्तोष।
एसएलसी पास भएपछि सन्तोष पढ्न भारतको बैंगलोर गए। जहाँ मेकानिकल इन्जिनियरिङमा उनले डिप्लोमा गरे। र, केही वर्ष काम पनि गरे।
तर, सन् २०१७ नेपाल फर्किएका सन्तोषको जीवनले नयाँ मोड लियो। त्यतिखेर दाइ अर्जुन संगीतमा संघर्ष गरिरहेका थिए। फेसबुकमा लाइभ आएर गीत गाउँथे। अर्जुनको फेसबुक फ्यान पेजमा एडमिन भएर हेर्न थाले।
कहिले के समस्या समाधान गरे कहिले के। यसरी नै सिक्दै सन्तोषले फेसबुक पेजलाई प्रबन्धन गर्न लागे। अर्जुनको पेज पनि राम्रो हुँदै गयो। र, सन्तोष सामाजिक सञ्जालको डाक्टर बने।
अर्जुनको पेज राम्रो भएपछि सन्तोषको खोजी हुन थाल्यो। अर्जुनकै माध्यमबाट थुप्रै सेलेब्रिटीहरूले उनलाई फेसबुक पेज हेरिदिन भन्न थाले। यसरी सेलेब्रिटीहरूले उनको सेवाको बारेमा सोधपुछ गर्न थालेपछि उनको जोस बढ्न थाल्यो। त्यसपछि उनले अब सामाजिक सञ्जाल प्रबन्धक बन्ने निर्णय गरे।
हाल सन्तोषले अर्जुनसहित साइग्रेस, राजु ढकाल, देवी घर्ती मगर, सन्दीप लामिछाने, एलिना चौहान, कुशल भुर्तेल, शाम्बा लगायतका सेलिब्रेटीहरूका खाता ह्यान्डल गर्छन्। उनले ह्याक गरिएका खाता पुनर्स्थापित गर्नेदेखि परिवर्तन भइरहेका नियमअनुसार अपडेट गर्छन्। प्राविधिक समस्या समाधान गर्दै प्रचार समेत गर्छन्। उनको आयस्ताको स्रोत यही काम हो।

डेब्यु गीत नै हिट
सन्तोष गीत लेखनमा आउनुमा पनि अर्जुनकै हात छ। झण्डै दुई वर्षअघि सन्तोष भारतमै थिए। सोहीबेला अर्जुनले फोन गरेर सन्तोषलाई नयाँ गीतबारे सुनाए। अनि अर्जुनले सन्तोषलाई भने: ल यसै हुकलाइनमा गीत लेख है।
सन्तोष त अक्क न बक्क परे। किनकि उनले त्यसअघि कहिल्यै गीत लेखेका थिएनन्। तर, कहिलेकाहीँ कविता र स्टाटस भने लेख्थे। जसबाट प्रभावित भएर अर्जुनले प्रस्ताव गरेको उनलाई लाग्छ।
गीतको थिम सन्तोषलाई निकै मन परेको थियो। त्यसैले उनले कुनै अनुभवी गीतकारलाई यो गीत लेख्न भनेका थिए। किनकि उनी आफूमा त्यति कन्फिडेन्ट थिएनन्। तर, अर्जुनले भने जोखिम भएनि आफूलाई नै हुने बताउँदै गीत लेख्न भने। त्यसपछि सन्तोषले पहिलो हरफ सुनाए। जुन लाइन यस्तो थियो:
रातैभरि निन्द्रा छैन, आँखा झिमि झिमि
यसो आँखा जोड्यो भने सपनीमा
तिमी बस्यौ अलग्गै
यता जोवन ढल्क्यो ढलक्कै
त्यो हरफ सुनेपछि अर्जुन निकै उत्साहित भए। त्यस्तै, धेरै माया हुँदाहुँदै पनि एक हुन नसकेका प्रेमीहरूको भाव उतार्न भने। गीत तयार भएपछि सार्वजनिक गरियो। र, डेब्यु गीतबाटै सन्तोषले सफलताको स्वाद चाखे। टिकटकमा भाइरल बनेको उक्त गीतलाई युट्युबमा १ करोड ७८ लाख पटक हेरिएको छ। पहिलो गीत नै हिट हुँदा लेखनमा थप उर्जा थपिदिएको सुनाउँछन् उनी।
‘पहिलो गीत नै हिट हुँदा एक खालको उर्जा मिल्यो। बस्यौ अलक्कै हिट नभएको भए यो एनर्जी लिएर अगाडि बढ्न गाह्रो हुन्थ्यो। त्यो हिट हुनाले फस्ट गेयरमै सयको स्पिड हिँडेजस्तो भयो,’ उनले भने, ‘त्यसपछि त गीतसंगीतले लोभ्यायो। नचिनेका मान्छेहरूबाट राम्रो प्रतिक्रिया आउन थाले। उहाँहरूले खोजीखोजी बिहानबिहानै म्यासेज पठाउन थाल्नुभयो। त्यो खुसी म शब्दमा बयान गर्न सक्दिनँ।’
डेढ वर्षयता सन्तोषले एक दर्जन गीत लेखिसकेका छन्। जसमध्ये ‘बस्यौ अलक्कै’ सहित ‘दु:ख साटम्ला’ र ‘झलिको’ हिट छन्। तीनवटा गीतले करौडको यात्रा तय गर्दा अन्य गीतहरूले पनि दसौँ लाख भ्युज पाइसकेका छन्।
पहिले गीत चल्दा सन्तोषलाई बिछट्टै खुसी लागेको थियो। कतै यात्रा गर्दा जब बसमा उनको गीत बज्थ्यो, तब उनी लुकीलुकी भिडिओ बनाउँथे। त्यस्तो भिडिओ घरपरिवार र साथीहरूलाई पठाउँथे। तर, अहिले भने बानी परेको सुनाउँछन् उनी।
हिट गीतमा ह्याट्रिक गरे पनि सन्तोषले आफ्नो पेसा छाडेका छैनन्। सामाजिक सञ्जालको म्यानेजरको कामसँगै गीत लेखनलाई पनि निरन्तरता दिने उनको योजना छ।
भन्छन्, ‘डेढ वर्षमा एक दर्जन जति गीत निकालियो। केही गीतहरुको तयारी पनि हुँदैछ। हिट भए पनि स्विच नै अहिले पनि हुन सकेको छैन। दुवैतिर काम गरिरहेको छु। यसमा खुसी छु।’
केही दिनअघि सन्तोषकै शब्दमा गायिका एलिना चौहानले ‘बाँचेकै छु क्यारे’ सार्वजनिक गरिन्। जिन्दगीमा जे भए पनि अगाडि बढ्नुपर्छ भनेर प्रेरित गर्ने यो गीत यतिखेर भाइरल छ। एलिनाकै जीवनसँग मिलेको भन्दै प्रतिक्रिया आइरहेका छन्। तर, सन्तोष भने त्यो गीत आफूले दुईतीन वर्षअगाडि नै लेखेको बताउँछन्। तर, एलिनालाई मन परेपछि अहिले रेकर्ड गरिएको उनको भनाइ छ।
सन्तोष अन्तर्मुखी स्वभावका छन्। गीत लेख्नलाई पनि उनलाई एकान्त नै मन पर्छ। कुनै एउटा थिम समातेपछि गीत सुन्दै सरर शब्द कोर्छन्। त्यसलाई सल्लाह गर्दै थपघट गरिने पनि उनले सुनाए। विशेषगरी पीडाका गीतहरू लेख्न मन पराउँछन्। दर्शकको मायाले आफूलाई अझै राम्रो सिर्जना ल्याउन प्रेरित गरेको सुनाउँछन् उनी।
‘राम्रो गीतहरू ल्याउने कोसिस जारी छ। दर्शकको माया भन्ने चिज यस्तो रहेछ। अझै पाए हुन्थ्यो जस्तो लाग्दोरहेछ। र, त्यसका लागि राम्रो रचना दिनैपर्छ,’ उनले भने।
Shares

प्रतिक्रिया