समाज


आफू थिचिएर देश बोक्ने भद्रमान र बिसे नगर्चीहरू, जसले पृथ्वीनारायण शाहको युद्ध मैदानमा लगाएकै धोती चढाए

श्री ३ जङ्गको युरोपबाट पत्र– थोरै खाई धेरै काम गर्छन्, उनीहरूको जागिर नखोस्नू
आफू थिचिएर देश बोक्ने भद्रमान र बिसे नगर्चीहरू, जसले पृथ्वीनारायण शाहको युद्ध मैदानमा लगाएकै धोती चढाए

राजकुमार दिक्पाल
मंसिर १३, २०८२ शनिबार ७:४६, काठमाडौँ

नामजस्तै भद्र थिए, भद्रमान घले। हामी दुवै धनकुटा नगरका स्थानीय। यति भद्र व्यक्तिलाई अन्धविश्वासी वर्णाश्रम व्यवस्थाले जबरजस्त ‘छोइछिटो हाल्नुपर्ने शुद्र’ बनायो। यस्तो बन्धनबाट मुक्तिका लागि उनले जीवनभर हरसम्भव प्रयास गर्दै रहे। 

घले थर पढेर नझुक्किनुहोला, उनी परियार अर्थात् दमाईँ घले हुन्। परियारभित्र पनि घले उपथर हुँदोरहेछ।

कुनै बेला धनकुटामा अत्यन्तै राम्रो कोट सिलाउने टेलर मास्टरका रूपमा नाम कमाएका उनी जीवनको उत्तरार्द्धमा राष्ट्रिय पोसाक दौरासुरुवाल र राष्ट्रिय झन्डा मात्रै सिलाउँथे। उनले यसैमा आफ्नो पहिचान बनाएका थिए।

बिहीबारे हाटनेरको झुपडीको बासबाट कहिल्यै माथि उठ्न सकेन उनको जीवनस्तर। कुनैबेला हरेक हप्ता हाट लाग्दा किनमेल गर्न उनी लगायत दलित उत्पीडितहरूका लागि हाट भर्न प्रतिबन्ध थियो। छुवाछुतविरुद्धको आन्दोलनका अग्रणी नेता हिरालाल विश्वकर्माका साथ उनले त्यो समय हाट प्रवेश गर्ने आन्दोलनको अगुवाइ गरेका थिए। अधिकारवादी आन्दोलनको यी अगुवासँग बेला-बेलामा भेट हुन्थ्यो, सुखदुःखका कुरा हुन्थे। बढीजसो उनले भोगेको उत्पीडनको इतिहासमाथि जिज्ञासाहरू राखिरहन्थेँ।

मैले के पनि सुनेको थिएँ भने, उनका एक जना छोरा काठमाडौँमा डाक्टर छन्। २०५७ सालमा यसबारे जिज्ञासा राखेँ, ‘छोरा डाक्टर रहेछन्, तपाईँ यो प्रौढावस्थामा किन दुःख गरिरहनुभएको?’

‘उसलाई नेपालमा टिकिखान दिएनन्, अनि ऊ त जोगी भएर हिँडिहाल्यो नि!’ यति भनिसक्दा उनको दम बढ्यो, स्याँ स्याँ गरिरहेका थिए।

उनका जेठा छोरा सन्तोषकुमार डाक्टर भएर वीर अस्पतालमा प्रवेश गरे। छोरा डाक्टर भएको दिन भद्रमानले आफ्नो जीवनमा सीमाहीन खुसी छाएको अनुभूत गरेका थिए।

डाक्टर भएपछि बिरामीको नाडी छाम्नै पर्‍यो, घाउ जाँच गर्नै पर्‍यो। बिरामीलाई कतिपय औषधि आफ्नै हातले दिनपर्‍यो, अनि आवश्यक परे सुई पनि चलाउन पर्‍यो। तर, आफूलाई जाँच्ने डाक्टर अन्धविश्वासी वर्णाश्रम व्यवस्थाले निर्माण गरेको ‘छुन नहुने जातको’ भन्ने थाहा पाएपछि बिरामीहरू हच्किन थालेछन्। छोइछिटो गर्ने अन्धविश्वासीहरूलाई सम्झाइबुझाइ वा कारबाही गर्नु त कता हो कता, उनीमाथि उल्टै राज्य निष्ठुर हुन थालेछ। वीर अस्पतालमा काम गरिरहेको डाक्टरलाई दुर्गमको हेल्थ पोस्टतिर सरुवा गरेर लखेट्न थालिएपछि सन्तोषकुमारमा असन्तुष्टि बढ्न थाल्यो। 

पूर्वी नेपालको धनकुटामा जन्मी हुर्की, वीर अस्पतालमा काम गरिरहेको डाक्टरलाई सुदूरपश्चिमको हेल्थ पोस्टमा सरुवा गरिएपछि उनमा वैराग्य सुरु भएछ। त्यसैबीच ‘मन्त्र तन्त्र यन्त्र’ नामको संस्थामा आबद्ध भएका उनी अन्ततः देशै छाडेर हिँडे। बुबा भद्रमानको बुझाइमा उनी ‘जोगी भएर’ हिँडे।

भद्रमानले पनि दुई वर्षअघि मात्र बिहीबारे हाटनेरको आफ्नो झुपडीमा अन्तिम सास फेरे। भद्रमानकी जेठी छोरी इन्दिरासँग बुझ्दा अहिले डा. सन्तोषकुमार चिकित्सा सेवामै छन् तर स्वदेशमा होइन परदेशमा। हालः उनी भारतको पश्चिम बङ्गालको अस्पतालमा बिरामी जाँचिरहेछन्।

यसबाट थाहा हुन्छ, शिक्षाले मात्रै जातीय विभेद हट्दो रहेनछ। नत्र डाक्टरी पढेर बिरामीलाई मृत्युको मुखबाट फर्काउने योग्यता भएका सन्तोषकुमारले जोगीको भेषमा देश छाडेर किन हिँड्नुपर्थ्यो?

‘मनुस्मृति’लाई गुरुदर्शन मानेर समाजमा जातीय विभेद बढाइयो भन्ने धारणा राख्दै कुनै बेला जातिभेदविरोधी अभियानका भारतीय प्रणेता डा. भीवराव अम्बेडकरले मनुस्मृतिका प्रतिहरू जलाएका थिए। अखिर ‘मनुस्मृति’भित्र के रहेछ? यसको लागि मोहनप्रसाद सापकोटाले सङ्कलन गरी नेपाली भाषामा भावानुवाद गरेको ‘।।श्रीः।। मनुस्मृति’ (२०७८) का केही पृष्ठ पल्टाएँ। यसको पृष्ठ ३९५ मा ‘ब्राह्मणलाई धर्मसम्बन्धी उपदेश दिने शुद्रको मुख र कानमा राजाले तात्तातो तेल हालिदिनू’ भन्ने लेखिएको रहेछ। यस्तै पृष्ठ १५३ र १५६ मा ‘शुद्रलाई कुनै प्रकारको सल्लाह, धर्मोपदेश, व्रत अनुष्ठान विधिका बारेमा उपदेश नदिनू, शुद्रनजिकै अस्पष्टसँग पनि वेद पाठ नगर्नू’ भन्ने लेखिएको रहेछ।

विद्यासँग सम्बन्धित भएकोले मनुस्मृतिका यी प्रसङ्ग यहाँ उल्लेख गरिएको हो। हजारौँ वर्षदेखि वेद पाठ वा शास्त्र अध्ययनबाट वञ्चित गरिँदै आएका समुदायका सदस्य सन्तोषकुमारले चिकित्साशास्त्र पढेर पनि देशमा टिकिखान नसकेको घटनाले मर्माहत बनाउँछ। त्यसैले, आहुतिले बेला-बेलामा गर्ने प्रश्न दोहर्‍याउन मन लाग्छ,‘यदि सक्छौ भने वेद पढेर फलाम पगाली देखाऊ! के त्यो गर्न सक्छौ?’

जातपातसम्बन्धी तजबिज
बुढाराजा राजेन्द्र, राजा सुरेन्द्र र युवराज त्रैलोक्यको छाप लागेर वि.सं. १९१० मा जारी भएको मुलुकी ऐनलाई तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरको देन मानिन्छ। तत्कालीन राजनीतिमा असीमित शक्ति आफ्नो हातमा लिएका उनले राजालाई खोपाको देवता बनाइसकेका थिए। त्यसको तीन वर्षअघि मात्रै युरोप भ्रमण गरेर फर्केका उनैले लालमोहरको आधारमा चल्ने त्यसबेलाका नियम कानुनहरूलाई एकमुष्ट रूपमा संहिताबद्ध बनाउने तजबिजअनुसार मुलुकी ऐन जारी गरेका हुन्।

मुलुकी ऐन १९१० मा ‘उपल्ला जातदेषि पोढ्या तकको जुठो षानाले सबै जातभन्दा सानु च्याम्हा षलकको जात, अरुको जुठो षान्या च्हाम्हा षलकको हातको नषान्या हुनाले च्याम्हा षलक भंदा ठूलो पोढ्याको जात...पोढ्याभन्दा ठूलो वादिको जात, वादि भंदा ठूलो गाइन्याको जात, गाइन्या भंदा ठूलो दमाईको जात, दमाई भंदा ठूलो कडाराको जात, कडाराभन्दा कामि सार्कीको ठूलो जात, कामि दमाई सार्की भंदा ठूलो कडाराको जात’ भनी स्पष्ट रूपमा वर्णव्यवस्थामा आधारित जातिभेदलाई कानुनी रूपमा संस्थागत गरियो (प्रा. डा. जगदिशचन्द्र रेग्मी, ‘नेपालको वैधानिक परम्परा’–२०७७:११२–१३)।

मुलुकी ऐन आउनुअघि वि.सं. १९०१ मा पनि ‘श्री ५ महाराजाधिराजबाट तजवीज हुदा ठहर्‍याका आजकल पानी नचलन्या जातको तपसील्’ भन्दै नेपालका २४ जातलाई यस्तो सूचीमा राख्दा तीमध्ये सबैभन्दा सानो च्यामाखलक र सबैभन्दा ठूलो कसाहीको जात भनी उल्लेख गरिएको छ (महेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क ७९–फागुन २०४७:४३–४४)। 

१४औँ शताब्दीमा राजा जयस्थिति मल्लले थिति बाँधेर खासगरी काठमाडौँ उपत्यकामा जातिभेदलाई औपचारिकता दिएका थिए। आधुनिककालमा मुलुकी ऐन घोषणा गरेर जङ्गबहादुरले जातपातसम्बन्धी तजबिजलाई औपचारिक रूपमा संहिताबद्ध गराए।

बिसे नगर्चीको त्यो धोती
दलित उत्पीडितहरूको विषयमा चर्चा हुँदा बिसे नगर्ची छुटाउनै हुँदैन। कविता तथा नाटकजस्ता साहित्यका विधामा बिसेको विषयले व्यापकता पाउँदा उनको योगदानको इतिहास पनि पढ्ने/खोज्ने मन भयो।

कुरा पर्‍यो, २०६२/६३ को जनआन्दोलनलगत्तैको। बिसेको सालिक बनेर कसैको घरको कुनामा थन्केर बसेको छ भन्ने सुनेँ। 

सोधीखोजी गर्दै जाँदा गहनापोखरीको एक सिलाइ पसलमा पुगेँ। तर, जसले सालिक सुरक्षित राखेका थिए, उनी देखाउन तत्पर भएनन्। उनले यसका लागि तत्कालीन राष्ट्रिय सभाका पूर्वसदस्य ऋषिबाबु परियारको अनुमति चाहिने बताए। 

माननीयज्यूसँग सम्पर्क भएपछि उनैको सौहार्द सहजीकरणमा सालिकको नजर गरियो। दाहिने हातले मोहर सिक्का कसैलाई दिन लागेको चलायमान मुद्रामा सालिक निर्माण गरिएको रहेछ। ऋषिबाबुले अर्थ लगाइदिएअनुसार सालिकमा बिसेले उक्त सिक्का पृथ्वीनारायण शाहलाई सहयोग गर्ने गरी समर्पण गरेका हुन्। तर, यो सालिक कहाँ प्रतिष्ठा गरियो, मैले अहिलेसम्म थाहा पाउन सकेको छैन। गोरखामा प्रतिष्ठा गरिएको सालिक मैले गहनापोखरीमा थन्किएर रहेको अवस्थामा देखेको सालिक होइन।

बिसेको सालिक देखेपछि इतिहास शिरोमणि बाबुराम आचार्यले उनको योगदानबारे पक्कै चर्चा गरेका होलान् भन्ठानेर ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१) पल्टाइयो, खासै उत्साहित हुन सकिएन। आचार्य (२०६१:१५०–५१)ले बिसेको विषयमा यति मात्रै लेखेका छन्, ‘गोरखाको काजी दिने विषयमा श्री ५ पृथ्वीनारायण शाहले गोर्खाका सबै भलादमीको राय लिन उचित सम्झे र भैयाददेखि विस्या दमाईतकको कालू पाँडेका पक्षमा सम्मति पाउँदा र मित्र भएका चौबीसी–बाइसी राजाहरूले पनि यिनकै चाह गरेको देखेर उनले यिनैलाई यस ठूला भारको पगरी पहिराइदिए।’

बिस्या दमाईँ (बिसे नगर्ची)का छोरा दुब्ल्या दमाईँले वि.सं. १८४६ मा पाएको जागिरको मोहर (स्रोत: रविन्द्र ढकाल)

त्यसबेला बिसे नगर्चीको पनि महत्त्व ठूलै रहेछ भन्ने त बुझियो तर उनले गरेको कामबारे केही थाहा पाइएन।

पुरातत्त्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ संख्या २१ (कात्तिक २०२९:२०)मा पढ्दा कालु पाँडेले आफूलाई राजाबाट कज्याई पाउन लाग्दा कालु पाँडेले पनि ‘काजी पद खाऊँ कि नखाऊँ’ भनी विभिन्न व्यक्तिबाट परामर्श लिएको थाहा भयो। काजी पद ग्रहण गर्नुअघि गोरखाका उपल्लो थरघरदेखि बिसे नगर्चीको घरसम्म पुगेर कालुले सल्लाह मागेका रहेछन्,‘मलाई महाराजबाट मुख्तियार बक्स्यो, खाऊँ कि नखाऊँ ?’ 

यस्तो सरसल्लाहमा बिसे नगर्चीसम्मबाट उनलाई ‘महाराजबाट बक्सेको शिर चढाई काम गर्नुपर्छ, खानुहोस्’ भन्ने आग्रह आएपछि उनी गोरखा राज्यको काजी सम्हाल्न तयार भएका रहेछन्।

इतिहास खोज्दै जाँदा बिसे नगर्चीले विभिन्न युद्धमा पनि सहभागिता जनाएको पाइयो। नुवाकोटको युद्धमा बिसे पृथ्वीनारायणकै मोर्चामा थिए। त्यो बेला आक्रमणका लागि गोर्खालीहरूले विभिन्न समूह बनाएका थिए। 

यस युद्धमा चार ठाउँमा मोर्चा बाँधी गोर्खालीले नुवाकोट आक्रमण गरेका थिए। तीमध्ये धर्मपानीको बाटोबाट चौतरिया महोद्दामकीर्ति शाह नेतृत्वको फौज, अशोकबारीको बाटो बलभद्र शाह र कालु पाँडे नेतृत्वको फौज र गेर्खुको बाटो जहाँगिर शाह नेतृत्वको फौज अगाडि बढेको थियो भने तीनघारेको बाटो स्वयम् पृथ्वीनारायण शाह अगाडि बढेका थिए। यही बाटोको मोर्चाबाट युद्ध लड्न अगाडि बढेको फौजमा बानादार दमाईँ र मणिराम गाइनेलाई साथ लिएर बिसे नगर्ची पनि सरिक थिए भन्ने ऐतिहासिक प्रसङ्ग ‘प्राचीन नेपाल’को संख्या २१ (कात्तिक २०२९:२८)मा पढ्न पाइन्छ।

युद्धका क्रममा वि.सं. १८०१ असोज १५ गते तत्कालीन कान्तिपुर राज्यले भोगचलन गर्दै आएको नुवाकोट गोरखाको अधीनमा आयो। युद्ध गोरखाली पक्षले जित्यो। जितपछि ब्राह्मणबाट वेद तथा जयघोष भएको र नगरा बजेको माथि उल्लेखित ऐतिहासिक प्रसङ्गको क्रममा पढ्न पाइन्छ।

नगरा बजाउने काम बिसे नगर्ची र बानादार दमाईँले गरेका र उनीहरूलाई मणिराम गाइनेले सारङ्गीबाट सुमधुर र जोसिलो धुन निकालेर साथ दिएका थिए भन्ने अनुमान सहजै गर्न सकिन्छ।

बिसेले आफ्नो राज्यका लागि आवश्यक पर्दा आफूले लगाएको धोती पनि चढाएको रोचक र महत्त्वपूर्ण इतिहास पनि पढ्न पाइन्छ।
यो घटना हो, सिरानचोकको युद्धको।
पृथ्वीनारायण शाहले नुवाकोटपछि भोटसँगको महत्त्वपूर्ण व्यापारिक मार्गमा पर्ने नालदुम वि.सं. १८११ मा हात पारे। यो देखेर पृथ्वीनारायण शाह आफूतिर पनि आइलाग्ने सम्भावना बाइसी चौबिसी राजाहरूले देखे। गोरखालाई रोक्नुपर्ने सङ्केत पर्वते राजाले लमजुङलाई दिए। यसको सुइँको नुवाकोटमा रहेका पृथ्वीनारायण शाहसमक्ष पुग्यो। उनले त्यहाँबाट चौतरिया महोद्दामकीर्ति शाह, काजी कालु पाँडे, सल्यानी द्वारे, कलै पाँडे, अम्बर पाँडे लगायतको सेनालाई लडाईँका लागि त्यसतर्फ पठाएको इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’ पूर्णाङ्क ६ (साउन २०२२:४६)मा देवीप्रसाद भण्डारीले उल्लेख गरेका छन्।

भण्डारी (२०२२:४६–४७)ले उल्लेख गरेअनुसार त्यसबेला बाइसी चौबिसी र गोरखासमेत मेहलको रुखमा चीर बाँधी होली उत्सव गर्थे। त्यसबेला पर्वते राजाले अरू कुनै राजाले एकछते चीर गाड्यो भने सेनासहित पुगी चीर गाड्ने राजालाई जिती चीर च्यातिदिने गर्थे। यो कुरा थाहा पाएका पृथ्वीनारायण शाहले ‘पर्वते राजाले लौ च्यातोस् त’ भन्दै तीनछते चीर गाडेर होली मनाई युद्धको हाँक दिए। पर्वते राजाले गोरखाको चीर च्यात्न त चाहे तर बीचमा लमजुङ पर्‍यो। लमजुङलाई पर्वत राज्यको उक्साहटले काम गरेको थियो। त्यसैले गोरखाको लमजुङसँग युद्ध भयो। 

सिरानचोकको लडाईँमा गोरखा पक्षका अम्बर पाँडे, कलै द्वारे लगायतको मृत्यु भयो। वि.सं. १८१२ साउन १४ गते शनिबार भएको यस युद्धमा गोरखालीको जित भयो। गोरखालीहरूले जितको हर्षबढाइँ मनाउँदै शत्रुपक्षको बेइज्जत गरेका थिए।

गोरखाली सैन्य अधिकारीहरूले शत्रुपक्षको बेइज्जत गर्न बिसे नगर्चीको धोती टाँगेर लमजुङका सैन्य अधिकारीहरूलाई त्यहाँबाट छिर्न लगाएका थिए। यसबारेमा भाषा वंशावलीमा यस्तो लेखिएको छ, ‘...लमजुग्या सर्दार महीधरसमेतलाई विस्या नगार्चीको धोती लगी सर्दार बलभञ्जनबाहेक अरु सबैलाई छिराया। शाके १६७७ (वि.सं. १८१२) श्रावणका १४ दिन जाँदा शनैश्चरबार घडी १८ मा सिरानचोक जित भयो। सिरानाचोक थामी चौविसी हटाया। पश्चिम थेग्लाया’ (भण्डारी, २०२२:४६–४७)।

यसरी देशको लागि आफ्नो धोतीसमेत सुम्पने बिसे नगर्चीको योगदानको कदर गर्नुपर्ने आवाज खासमा दलित अभियन्ताहरूले नै जोडतोडले उठाए।

गोरखामा प्रतिष्ठापित बिसे नगर्चीको उपेक्षित अवस्थाको सालिक (स्रोत: टेक थामी)

यही अभियानका क्रममा २०७५ साउन १८ गते गोरखामा बिसे नगर्चीको सालिक बडो दुःखले ठडियो। तर सालिकले गतिलो ठाउँमा ठडिन पाएन, एउटा अग्लो भिरमुनिको पाखोतिर फर्काएर राखिएको छ। पहिले पर्यटकको चहलपहल हुने गितारडाँडामा राख्ने अनुमतिका साथ शिलान्यास पनि गरिएको थियो। तर, त्यस ठाउँमा सालिक राख्न लाग्दा स्थानीयबाट विरोध भएछ। अहिले पनि सालिक कतिसम्म उपेक्षित अवस्थामा छ भने कतिपय जातीय अहङ्कार बोकेकाहरूले ‘दमाईँको चिहान ल्याएर यहाँ राखिदिए’ भन्ने गरेको रविन्द्र ढकाल र हरिराम उप्रेतीको ‘इकान्तिपुर’ (२०७६ पुस २७) मा प्रकाशित रिपोर्टिङ पढ्नुपर्दा चित्त कटक्क भएर आउँछ।

जङ्गबहादुरको त्यो बुझाइ
पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानमा सहयोग गर्नेमा बिसे नगर्चीबाहेक अन्य दलित सिल्पीहरू पनि थिए।

इतिहासकार राजाराम सुवेदीको ‘नेपालको तथ्य इतिहास’ (२०६१:१७०) लाई उद्धृत गर्दै पद्मलाल विश्वकर्मा (र, अरू) ले सम्पादन गरेको ‘नेपालको दलित आन्दोलनको सङ्क्षिप्त इतिहास’ (२०६३:४७)मा पृथ्वीनारायण शाहले यखाजङ्ग विश्वकर्मालाई बनारसबाट ल्याएर गोरखाली सैनिकलाई हतियार चलाउने तालिम दिएको र सोही समयमा बिसे नगर्चीका साथै कालु सार्की, जसवीर कामी र मनिराम गाइनेले पनि महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन्।

तीमध्ये कालुले सैनिकले लगाउने छालाको टोपी, खुँडा, खुकुरी, धनुकाँड सुरक्षित राख्ने छालाको दाप तथा झोला, बन्दुक भिर्ने फित्ता आदि बनाउँथे। जङ्गल फाँडेर गोल बनाई खुँडा, खुकुरी, तरबार, कटारी, छुरी, भाला, धनुकाँड जस्ता हतियार बनाउने जिम्मेवारी जसवीर कामीको जिम्मेवारीमा थियो भने मणिराम गाइनेले विभिन्न ठाउँमा डुलेर गीत गाउँदै पृथ्वीनारायण शाहको पक्षमा सुराकी गर्थे।

भीमसेन थापाको समयमा नेपाली सेनालाई आधुनिकीकरण गर्ने क्रममा नेपाल र अङ्ग्रेजबीच युद्ध सुरु हुन लाग्दा सैनिकहरूका लागि गोलाबारुद तथा हातहतियार निर्माण गर्ने कारखाना खोलियो (बाबुराम आचार्य, ‘भीमसेन थापाः यिनलाई मैले जस्तो देखेँ’–२०६५:३३)।

यस्ता हतियार कारखाना कामी तथा सार्कीजस्ता सिल्पीहरूको अनुपस्थितिमा असम्भव थियो। हतियार कारखानालाई मेगेजिन अड्डा भनिन्थ्यो। इतिहासकार भवेश्वर पंगेनीको ‘सुन्दरीजल जङ्गी मेगेजिन अड्डा’ (२०६८:६५–६९)अनुसार मेगेजिन अड्डामा आरन, रेतान, ढलान, साफी, सिकर्मी र सार्की फाँट थिए। आरनमा कामीहरूले र छालामा सार्कीहरूले काम गर्थे।

राजस्व उठाउन जारी गरिएका पुराना लालमोहरहरूमा सार्कीको पलेटी, कामीको ताल तथा दमाईँको सुज्यारो भन्ने उल्लेख भएको पाइन्छ। राजा राजेन्द्रविक्रम शाहको समयमा वि.सं. १८८४ चैत वदीमा जारी भएको यस्तो बेहोरा लेखिएको एउटा लालमोहर मेरो सङ्कलनमा सुरक्षित छ।

यताबाट हेर्दा वर्णाश्रमले दलित र उत्पीडित बनाएको यी सिल्पीहरूको सिप र पसिनाविना देशको रक्षाका लागि खोलिएको सैन्य पल्टन चल्नै सक्दैनथ्यो भन्ने किटानका साथ भन्न सकिन्छ।

सार्की, कामी र दमाईँको जागिर नखोस्न जङ्गबहादुरले आफ्नै हस्ताक्षरमा भाइ बमबहादुरलाई बेलायतबाट लेखेको पत्रको अंश (स्रोत: कमल दीक्षित)

कोतपर्वमा रक्तपात मच्चाई हतियारकै बलले सत्तामा आएका जङ्गबहादुर राणालाई यी कामी, सार्की तथा दमाईँहरूको महत्त्वको बारेमा ठूलो ज्ञान थियो। यो प्रमाणित हुनेगरी उनले आफू युरोप भ्रमणमा हुँदा आफ्नै हस्ताक्षरमा नेपालका तत्कालीन कार्यवाहक प्रधानमन्त्री बमबहादुरलाई लेखेको पत्र कमल दीक्षितले ‘जंग गीता’ (२०४०:११)मा छापेका छन्। उक्त पत्रमा जङ्गबहादुरले लेखेका छन्,‘कामी, सार्की, दमाईँ, कर्मी खोसे इलम पनि बिग्रन्छ। कारखाना पनि बिग्रन्छ। कोते, पिपा, जमादार, खलासी एक पनि नखोसेस्। यिनलाई खोस्नु बडो अनविवेक हुन्छ, किनभने यी थोरै खाई धेरै काम गर्छन्।’

यी वर्गको यस्तो महत्त्व थाहा पाएर पनि जङ्गबहादुरले उनीहरूलाई जातोचित सम्मान र छुवाछुतबाट मुक्ति भने दिएनन्। बरु मुलुकी ऐन ल्याएर औपचारिक र संहिताबद्ध रूप ‘पानी नचलन्या जाति’ घोषणा गरिदिए।

चार गुना करको भार
जसले बढी श्रम गर्छ, उसैलाई बढी कर भारी बोकाइएका समूह हुन्, दलित सिल्पी वर्ग। राजेन्द्रविक्रम शाह राजा र भीमसेन थापा सर्वेसर्वा अधिनायक भएको समय वि.सं. १८८८ कात्तिक सुदी रोज ६ मा जारी रुक्का यसको प्रमाण हो।

दुधकोसी र बहादुरा खोलादेखि पूर्व, अरुण नदीदेखि पश्चिममा रहेका पुरोहित, भैयाद, चौतरिया, काजी आदिको नाममा जारी गरिएको यो रुक्कामा ती ठाउँमा बसोबास गर्दै आएका विभिन्न जातजातिका घरबाट प्रत्येक वर्ष एक/एक वटा जनावरका छाला सङ्कलन गरी मेगेजिन अड्डालाई बुझाउन आदेश जारी गरिएको छ। छाला दिन नसक्ने घरबाट नगदै उठाउनुपर्ने नियम बाँधिएको छ।

माझकिरात क्षेत्रमा बसोबास गर्ने बासिन्दाका प्रत्येक घरबाट डिगा (मरेको गाई वा गोरु), भैँसी, बाघ, भालु, मृग, जरायो आदिको छाला उठाउनुपर्ने यो आदेशमा उल्लेख छ। ‘सिकार खेल्ने र सिनोसमेत खाने’ भनी छाला बुझाउनका लागि तोकिएका जातिहरूमा भोट्या मुर्मी (तामाङ), किराती, राई, मझिया आदि रहेका छन्। छाला बुझाउन नसक्ने उनीहरूको प्रत्येक घरबाट दुई/दुई आनाको दरले कर उठाउनुपर्ने पनि आदेशमा उल्लेख छ। यही रुक्कामा छाला बुझाउन नसक्ने कामी र सार्कीहरूको प्रत्येक घरबाट आठ/आठ आनाको दरले कर उठाउन आदेश दिइएको देखिएबाट राज्य यी जातिप्रति कति निर्मम रहेछ भन्ने थाहा हुन्छ।

सार्की र कामीहरूबाट प्रत्येक घर आठ आनाको दरले कर उठाउन जारी वि.सं. १८८८ को रुक्का (स्रोत: भगिराज इङ्नाम)

इतिहासकार भगिराज इङ्नामले ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ (२०७७:१२६)मा प्रकाशमा ल्याएको यस रुक्काको बेहोरा यस्तो छ: ‘आगे दुदकोसी बाहादुरा पुर्व अरुन पश्चिम माझ किरात भर अम्बलका प्रोहित. भैयाद गोतिया चौतारिया काजी कपर्दार सुबा सुबेदार नजीकी जेठा बुढा विर्तबार वितलप्पा मोहरीया छाप छप्पाली अमालीदार गैह्रप्रती आफना आफना अम्बलभरको भोट्या राई मझिया किराती मुर्मि सिकार षेलन्या सिनु षान्या येतिका घरहि दुई दुई आना दामा तहसील गरिदिनु. सार्कि कामीका घरहि आठ आठ आना दाम साविक बमोजीम तहसिल गरिदिन. तहसील गर्न आउन्या कंपुका बहिदार जिम्मादार हुद्दा सीपाहि मार्फत साल बसाल तहसील गरिदिन. तहसील गर्न आउन्याले अम्बलभरका प्रजा झारा गरि हुलाकमा बोकाई दाम र छाला षसोषस मेगजिन दाषील गर साल बसाल मेगजीनका सुबेदानका रसिद ली जानु।’

कुनै बेला देशको लागि आफूले लगाएको धोतीसमेत दिन तयार भए बिसे नगर्ची।  देशमा छोइछिटो र अनेकौँ अपमानहरू खेप्दै दलित उत्पीडितकै जिन्दगी बाँचेर पनि देशप्रेमले कहिल्यै छाडेन भद्रमान घलेलाई। आयुको उत्तरार्द्धमा आइपुग्दा त उनीभित्र देशप्रेम उत्कर्षमै पुगेको थियो। उनले कसमै खाएका थिए, ‘अब म राष्ट्रिय झन्डा र राष्ट्रिय पोसाक बाहेक केही सिलाउने छैन।’

यसैमा देखिन्छ– आफू जलेर समाजमा उज्यालो छर्नेहरूको प्रतिविम्ब, अनि यसैमा भेटिन्छ– आफू मरेर देशलाई जिन्दगी दिनेहरूको उत्सर्ग। 

इतिहास दर्शनले भन्छ,‘धनुबाट तीरलाई जति टाढा प्रहार गर्नुपर्ने हो, त्यति नै धेरै आफूतिर खैँचनु पर्छ।’

दलित उत्पीडितले भोग्नुपरेको पीडाको इतिहास पनि धेरै पुरानो छ। त्यसैले यो समस्या समाधानको लागि सामान्य सुधारवादले काम गर्ने छैन।

शासकहरूले इतिहासको गहन अध्ययन गरिदिऊन् र जातिभेदलाई समाजबाट निमिट्यान्न पारिदिऊन् भन्ने हामीजस्ता सर्वसाधारणको अपेक्षा स्वाभाविक छ। तर, यस्तो अपेक्षा एउटा मृगतृष्णाजस्तै हुनपुगेको छ। किनकि ज्ञानको क्षितिज आफ्नै महिमामण्डनको वरपर सीमित भइदेओस् भन्ने चाहना राख्न छाडेका छैनन्, हाम्रा देशका शासकहरूले।

हामी भनिरहेछौँ– शासकहरूले इतिहासलाई गम्भीरतापूर्वक पढिदिऊन्। तर, यस्तै बेला कवि शैलेन्द्र साकारको कविताको सम्झना आउँछ, ‘सर्पहरू गीत सुन्दैनन्’। 

परिणाममा प्रेमिका भेट्न गएकै कारण नवराज विकहरूको हत्या भइरहेको छ, समाज विकासको गङ्गा उल्टो बगिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad