राजनीति


मधेसमा हामी विवादबिनै नयाँ सरकार गठन गर्दैछौँ: महेश यादव (अन्तर्वार्ता)

मधेसमा हामी विवादबिनै नयाँ सरकार गठन गर्दैछौँ: महेश यादव (अन्तर्वार्ता)

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १३:३६, काठमाडौँ

मधेस प्रदेशका विवादास्पद मुख्यमन्त्री सरोजकुमार यादव आजै पदमुक्त हुने अवस्थामा पुगेका छन्। यादवले विश्वासको मत लिने प्रयोजनको लागि बुधबार बिहान बोलाइएको प्रदेश सभा बैठकमा उनी अनुपस्थित भएपछि आजै दिउँसो दुई बजे फेरि प्रदेश सभाको बैठक बोलाइएको छ।

प्रदेश सभा बैठकमा यादवले पदबाट राजीनामा दिने वा सभाका बहुमत सदस्यबाट अस्वीकृत हुने सम्भावना छ। एमालेबाट मुख्यमन्त्री नियुक्त भएका यादवविरुद्ध सातदल एक ठाउँमा उभिएकाले उनमा अर्को विकल्प देखिँदैन। यादव पदमुक्त भएसँगै मधेसमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ। अब त्यो प्रक्रिया कसरी अघि बढ्ला? सात दलले नयाँ सरकार गठनको गृहकार्य सुरु गरिसकेका हुन्? प्रस्तुत छ यसै सन्दर्भमा नेपालखबरले जनमत पार्टीका मधेस प्रदेशसभा संसदीय दलका नेता महेश यादवसँग गरेको संक्षिप्त वार्ता:

तपाईँहरूलाई अहिलेका मुख्यमन्त्रीलाई बिदा गरेर नयाँ सरकार गठनको लागि हतार भइसकेको थियो होला। तर, आज बिहानको प्रदेश सभा बैठकमा मुख्यमन्त्री नै आउनु भएनछ...

अहिलेका मुख्यमन्त्रीको पारा नै गजबको छ। उहाँसँगको सहमतीमै उपसभामुखले बिहान साढे आठ बजेको लागि बैठक आह्वान गर्नु भएको थियो। तर, मुख्यमन्त्री आउनु भएन। अन्तिम अवस्थामा कुनै खाली ठाउँमा कसैलाई सरुवा-बढुवा गर्न सकिन्छ कि भन्नेमा लाग्नु भएको होला। कतै पैसा लिएर कसैलाई कतै पठाउन पो सकिन्छ कि भन्ने काममा लाग्नु भयो कि? त्यही भएर नै उहाँ बिहान बैठकमा आउन नसक्नु भएको हुनसक्छ। उहाँ नेताले गर्न नसुहाउने काम गर्दै हुनुहुन्छ। उहाँले म दुई बजेअघि विश्वासको मत लिन्न भन्ने कुरा गर्नुभयो। प्रदेश सभाभन्दा माथि उहाँ होइन। उहाँले विश्वासको मत लिने वातावरण बनाइदिनुस् भनेर पठाएको पत्र अनुसार नै आज बिहान उससभामुखले बैठक आह्वान गर्नु भएको थियो। तर, उहाँ आफैँ आउनु भएन। उहाँ बेग्लै ढंगले हिँड्न खोजिरहनु भएको छ। उहाँको काम नेताको जस्तो भन्दा पनि लेच्चा जस्तो देखिन्छ। 

उहाँ आजै पदमुक्त हुनु हुने अवस्थामा पुग्नु भएको छ। अब मधेसमा नयाँ सरकारको नेतृत्व कसले गर्छ? 
यस विषयमा हामी सात दल बसेर सर्वसम्मत रूपमा निर्णय गर्छौँ। हामीबीच आन्तरिकरूपमा त्यही समझदारी छ। पहिला अहिलेका मुख्यमन्त्री सरोज यादवको बिदाइ होस्। त्यसपछि हामी बसेर यो विषय टुंग्याउँछौँ। 

मधेस प्रदेश सभामा एमाले पछिको ठूलो दल कांग्रेस हो। के अब तपाईँहरू कांग्रेसको नेतृत्व स्वीकार गर्नुहुन्छ? 
कांग्रेसलाई मुख्यमन्त्रीमा समर्थन गर्छौँ भनेर अहिले नै भन्नु भन्दा पनि हामी सात दल बसेर पहिला निर्णय गर्छौँ। जुन पार्टीमा सहमती कायम हुन्छ, उसकै नेतृत्वमा सरकार गठन हुन्छ। हामी बिवाद गर्दैनौँ। 

यसअघि जनमतको नेतृत्त्वको सरकार हुँदा एमाले पनि सरकारमा थियो। फेरि तपाईँहरूलाई एमालेले सँगै जाऔँ भनेर अफर गर्ने सम्भावना छैन? 
एमालेले आफूले गर्नुपर्ने काम त गर्ला नै। गरिरहेकै होला। तर, अब हामी एमालेसँग मिलेर जाने सम्भावना छैन। सात दलका अरु साथीहरू पनि एमालेतिर जानुहुन्न। हामी एकढिक्का छौँ अहिले। 

यसअघि जनमतबाट तपाईँ पनि मुख्यमन्त्रीको दाबेदार हुनुहुन्थ्यो। लास्ट आवरमा शतीसकुमार सिंह मुख्यमन्त्री बन्नुभयो। यसपटक फेरि जनमतबाट तपाईँले मुख्यमन्त्री दाबी गर्ने सम्भावना छैन?
त्यतिबेला पार्टीले शतीस जीलाई नै निर्णय गर्‍याे। त्यसमा विवाद गर्ने कुरा थिएन। फेरि पनि मुख्यमन्त्रीमा हामीले दाबी गर्ने सम्भावना त रहन्छ। अरु दलले पनि त्यो दाबी गर्लान् नै। आफ्नो पार्टीबाट मुख्यमन्त्री होस् भनेर दलहरूले दाबी गर्नु स्वाभाविक पनि छ। तर, त्यो भन्दा पनि हामी कसरी सर्वसम्मतीमा निर्णय गर्न सक्छौँ, त्यसबारेमा सोचिरहेका छौँ। 

त्यसो भए सरकारको नेतृत्वलाई लिएर मधेसमा सात दलबीच फाटो आउने सम्भावना छैन?
छैन। हाम्रो तर्फबाट त्यस्तो सम्भावना छैन। मलाई लाग्छ अरु दलमा पनि त्यो छैन। 

अब कहिलेसम्म बन्ला त मधेसमा नयाँ सरकार? 
अब प्रदेश प्रमुखले कति दिनको समय दिनुहुन्छ, हेरौँ न। प्रदेश प्रमुखले दिएको समयभित्रै हामी नयाँ सरकार बनाउँछौँ। 

अब मधेसको राजनीति सात दलकै रोडम्यापअनुसार जाने भयो होइन त? 
एकदम नै हो। त्यही हो, अरु सम्भावना छैन। 

यसअघि जनमत नेतृत्वको सरकार गठनको बेलामा तपाईँहरूकै पार्टीमा पनि विभाजन भएको थियो। तत्कालीन मुख्यमन्त्रीसहित दुई सांसदले फरक दल रोजेका थिए। त्यो विषय अहिले कहाँ पुग्यो? 

उहाँहरू फरक दलमा जानै मिलेन नि। उहाँहरूले दर्ता गरेको दल नै सर्वोच्चले खारेज गरिदियो। आजको बैठकमा उहाँहरू (शतीसकुमार सिंह र त्रिभुवन साह) पनि हामीसँगै बस्नुहुन्छ। तर, हाम्रो दलले उहाँहरूमाथिको कारबाहीको प्रक्रिया भने अघि बढाइसकेको छ। 

जनमतका १३ सांसदमा उहाँहरूको पनि गणना हुन्छ? 
अहिलेलाई हुन्छ। उहाँहरू पनि आज हाम्रै रोमा बस्नुहुन्छ। मधेस प्रदेशसभामा हामी उपसभामुखसहित १३ सांसद छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad