कला


क्यारेक्टर लुक्ससहित ‘परिवर्तन’को पोस्टर सार्वजनिक

क्यारेक्टर लुक्ससहित ‘परिवर्तन’को पोस्टर सार्वजनिक

नेपालखबर
मंसिर १७, २०८२ बुधबार १४:३८, काठमाडौँ

फिल्म ‘परिवर्तन’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार रिलिज गरेको पोस्टरमा सात मुख्य कलाकारलाई आफ्नै–आफ्नै क्यारेक्टर लुक्ससहित प्रस्तुत गरिएको छ।

दिब्यासी फिल्म्सको ब्यानरमा तयार भएको फिल्मको पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाइएको छ। घाइते अवस्थामासमेत उनी लडाइँको मैदानमा दुश्मनमाथि बन्दुक तानेर उभिरहेका छन्, जसले उनको पात्र परिवर्तनका लागि सर्वस्व झोक्न तयार रहेको संकेत गर्छ।

अञ्जना बराईली यस पटक प्रहरी इन्स्पेक्टरका भूमिकामा देखिएकी छन्। उनको कडा नजरले अपराध अनुसन्धानमा जिम्मेवारी र न्यायप्रतिको प्रतिवद्धता झल्काउँछ। त्यस्तै, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलाई पनि क्यारेक्टर लुक्समै पोस्टरमा उतारिएको छ।

पोस्टरले विशेषगरी अञ्जना बराईलीलाई दर्शकले यसअघि नदेखेको फरक अवतारमा पाउने स्पष्ट संकेत दिएको छ। एक्सन–सस्पेन्स जनरामा निर्माण गरिएको फिल्मको वास्तविक कथा भने टिजर, ट्रेलर र फिल्म नै हेरेपछि मात्रै पत्ता लगाउन सकिने निर्माण पक्षको भनाइ छ।

विजय केरुङले निर्देशन गरेको ‘परिवर्तन’मा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे र बुद्धि तामाङलगायत कलाकार प्रमुख भूमिकामा छन्। दीपक सिवाकोटीको कथा तथा निर्माणमा तयार भएको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।

फिल्मका डिओपी शिव ढकाल हुन् भने सम्पादन बन्दे प्रसादले गरेका छन्। ट्रेलर पनि उनीकै सम्पादनमा तयार भइरहेको निर्माण टिमले बताएको छ। फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र श्री श्रेष्ठको द्धन्द्व निर्देशन रहेको छ।

‘परिवर्तन’ आगामी माघ ९ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad