नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेका नेता ईश्वर पोखरेल लगायतले भक्तपुरको गुण्डु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।
उनलाई भेट्न बिहीबार बिहान पोखरेल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराई गएका थिए। भेटमा महाधिवेशन प्रतिनिधि चयनमा देखिएको समस्याबारे ध्यानाकर्षण गराएको शाक्यले नेपालखबरलाई जानकारी दिइन्।
‘अहिले निर्वाचन प्रक्रियामा समस्या आएको छ नि त, ठाउँ ठाउँमा विवाद पर्यो। कतिपय ठाउँमा अप्ठ्यारो पर्यो,’ उनले भनिन्, ‘त्यो खालको समस्या समाधान होस् भनेर सल्लाह गर्न गएको हो।’
केन्द्रीय संगठन विभागले कतिपय ठाउँमा पुनः प्रतिनिधि चयन गर्न निर्देशन दिएको र कतिपय ठाउँमा उजुरी पर्दा समेत नबोलेको भन्दै त्यसमा नेताहरूले ओलीको ध्यानाकर्षण गराएका थिए।
शाक्यका अनुसार जवाफमा ओलीले भनेका थिए-त्यस्तो नहुनु पर्ने, निर्वाचन गरेको भए भइहाल्थ्यो नि।
अनि पोखरेल समूहका नेताहरूले ओलीलाई सोधेका थिए- ‘हामीले पनि त्यही त भनेको हो नि। लोकतन्त्रमा विश्वास गरेपछि लोकतान्त्रिक विधिबाटै आएको भए भइहाल्थ्यो नि। किन जालझेल गर्नुपर्यो?’
यसबारे अब ध्यान दिन ओलीलाई सुझाव दिएको शाक्यले जानकारी दिइन्। ‘यो अलि भएन, तपाईंले यस्तो कुरामा अलि ध्यान दिनुहोस् भनेका छौँ,’ उनले भनिन्।
ओलीसँगको भेटपछि पोखरेल लगायतका नेताहरू थापा गाउँमा फेरि छलफलमा जुटेका छन्।
मंसिर २७ गतेदेखि सुरु हुने महाधिवेशनमा अध्यक्ष ओलीलाई अध्यक्षमा टक्कर दिन पोखरेलले छुट्टै प्यानल उठाउने तयारी गरेका छन्।
उनलाई शाक्य, युवराज ज्ञवाली, पाण्डे, भट्टराई, गोकर्ण बिस्ट लगायतले साथ दिएका छन्।
यसमा पूर्वराष्ट्रपति विद्या भण्डारीको साथ छ।
Shares

प्रतिक्रिया