नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबारबाट सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको करिब १०० रोपनी क्षेत्रफलको चौरमा हुँदैछ।
उद्घाटन सत्रपछि २८ र २९ गते काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशनको बन्द सत्र चल्नेछ। एमालेको नयाँ नेतृत्व चयन सोही बन्द सत्रमा हुने चुनावी प्रक्रियाबाट हुनेछ।
उद्घाटन सत्रका लागि एमालेले भव्य मञ्च निर्माण गरेको छ। उक्त मञ्च यसअघिका महाधिवेशनको भन्दा बढि ठूलो र आकर्षक रहेको प्रत्यक्षदर्शी बताउँछन्। मञ्चको आकर्षणका लागि बीच भागमा चाँगुनारायण मन्दिरको आकृति निर्माण गरिएको छ। उक्त आकृतिको छेउ–छेउमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखिएको छ। मञ्चको दुवै छेउमा एलईडी स्क्रिनहरू जडान गरिएको छ र सो स्क्रिनहरूको छेवैमा अंग्रेजी अक्षरको १, धरहरा, नेपालको राष्ट्रिय झण्डा र नेकपा एमालेको पार्टी चिन्ह मिश्रित एघारौँ महाधिवेशनको लोगो राखिएको छ।
मञ्चमा तीन तह छुट्याइएको छ। प्राङ्गणमा २ हजारभन्दा बढी कुर्सीहरू राखिएको र बाँकी खुला चौर छ। प्राङ्गण प्रवेशका लागि दुईवटा गेट निर्माण गरिएका छन्।
१० औँ महाधिवेशन चितवनको सौराहामा गरेको एमालेले कार्यकाल सकिनुभन्दा एक वर्षअगाडि नै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न लागेको हो। अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रँदै छन्।
विभिन्न क्षेत्रबाट चुनिएर आएका २१५५ र केन्द्रीय सचिवालयले मनोनित गरेका १०८ सहित कुल २२६३ महाधिवेशन प्रतिनिधिले नेतृत्व चयनका लागि मतदानमा भाग लिन पाउने छन्।










फोटो/भिडिओ : सरोज शाही

प्रतिक्रिया