राजनीति


संसद् पुनर्स्थापना माग्दै १३८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउन यस्तो छ कांग्रेस–एमालेको तयारी

कांग्रेसका गगन पक्षले समर्थन नगरे नेकपा र मधेसवादी दलबाट हस्ताक्षर जुटाउने कसरत
संसद् पुनर्स्थापना माग्दै १३८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउन यस्तो छ कांग्रेस–एमालेको तयारी

उजिर कार्की
पुस ५, २०८२ शनिबार १३:११, काठमाडौँ

सरकार फागुन २१ मा चुनाव गराउने तयारीमा लागिरहँदा दुई ठूला दलहरू भने संसद् पुनर्स्थापना गराउन कस्सिएका छन्। विघटित संसदको पहिलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा ब्युँत्याउने कसरत तीव्र बनाएका हुन्।

दुवै दलले आ–आफ्ना विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। बहुमत सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाउने दुवै दलको तयारी छ। अन्य दलहरूको पनि सहमति जुटाउने प्रयास भइरहेको एमाले नेतृ सुनिता बरालले बताइन्। 

‘हामी आफ्ना सांसदको त हस्ताक्षर बुझाउँछौँ नै। त्यसमा अरु दलका सांसदहरूलाई पनि थप गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छौँ। अरु दलहरूले पनि सहभागी हुन्छौँ भन्नु भएको छ। त्यसो भए हामीलाई बलियो बनाउनेछ,’ बरालले नेपालखबरसँग भनिन्, ‘अदालतले पेसी तोकेको दिन पहिले नै यो सबै हामी बुझाउने छौँ।’

एमालेका तर्फबाट निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले सर्वोच्च अदालतमा मंसिर १० गते रिट दायर गरेका थिए। सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइपछि राष्ट्रपति, प्रधानमन्त्रीसहितका विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ। 

नेकपा एमाले कानुन विभागका उपप्रमुख धर्मराज रेग्मीले एमालेले एक ढिक्का भएर निर्णय गरिसकेको र कांग्रेसले पनि धेरै सांसदको हस्ताक्षर जुटाएर गए अदालतले मनोविज्ञान बुझ्ने दाबी गरे। 

यस्तै, कांग्रेसको तर्फबाट विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित ७ जना सांसदले छुट्टै रिट दायर गरेका थिए। कांग्रेसले पनि सर्वोच्च अदालतमा बुझाउन आफ्ना सांसदको हस्ताक्षर संकलन गरिरहेको घिमिरेले बताए। 

‘त्यतिबेला हतारहतार ७ जनाले मात्रै रिट दायर गरेका थियौँ। अहिले अरु पनि सांसद संसद् पुनर्स्थापनाको पक्षमा छन् भनेर अदालतमा बुझाउने तयारी गरिरहेका हौँ,’ घिमिरेले भने, ‘हाम्रा पार्टीका सबै सांसदको हस्ताक्षर हुन्छ।’ 

कांग्रेसको रिटमा पुस २ गते प्रारम्भिक सुनुवाइ भएको छ। संवैधानिक इजलासले विपक्षीलाई १५ दिनभित्रमा लिखित जवाफ पेस गर्न भनिसकेको छ। 

दुवै दल संसद् पुनर्स्थापना हुनेमा ढुक्क देखिएका छन्। 

बरालले भनिन्, ‘हामी त संसद् पुनर्स्थापना हुन्छ भन्ने विश्वासका साथ नै अदालतमा गएका हौँ। यदि हुँदैन भन्ने हामीलाई लागेको भए मुद्दा दर्ता गर्नुको अर्थ नै थिएन। संविधानलाई पल्टाएर हेर्‍यो भने त्यो भन्दा अरु विकल्प छैन। हामी न्यायलयबाट नै न्याय प्राप्त हुनेमा विश्वस्त छौँ।’

संसद् पुनर्स्थापना भए सर्वपक्षीय सरकार बनाउनु पर्ने एमालेको माग छ। जसमा राजनीतिक दल, त्यसबाहिरका शक्तिलाई पनि समेट्नु पर्ने र त्यो सरकारको नेतृत्वमा एमालेले दाबी नगर्ने बरालले बताइन्। त्यसपछि निर्वाचनको नयाँ मिति तोकेर अगाडि बढ्ने एमालेको प्रस्ताव छ। 

कांग्रेस–एमालेले प्रतिनिधि सभामा बहुमत १३८ सांसदको हस्ताक्षर अदालतमा बुझाउने तयारी गरेका छन्। एमालेले ७८ सांसदकै हस्ताक्षर संकलन गरिसकेको छ। तर हस्ताक्षर बुझाउने कुरामा कांग्रेसभित्र एक मत छैन। कांग्रेसका ८९ सांसद रहे पनि महामन्त्री गगन थापा पक्षधर सांसदहरू हस्ताक्षर गर्न मानिरहेका छैनन्। 

यो पक्षका सांसदले हस्ताक्षर नगरे मधेसवादी दलका सांसदको हस्ताक्षर बुझाउने तयारी दुई दलको छ। 

तर उनीहरूले ४२ सांसद (विघटित) रहेको नवगठित नेपाली कम्युनिस्ट पार्टीसँग भने कुनै छलफल गरेका छैनन्। दुवै दलले आफूहरूसँग संसद् पुनर्स्थापनाका लागि औपचारिक सल्लाह नगरेको नेता राजेन्द्र पाण्डेले बताए। 

‘अदालतले संसद् पुनर्स्थापना गरिदियो भने जे हुनु थियो, भइहाल्छ। अहिलेको सरकार संविधान अनुसार बनेको होइन। सर्वोच्चले संविधानका धारा केलायो भने संसद् पुनर्स्थापना हुन्छ,’ पाण्डेले नेपालखबरसँग भने, ‘सरकारले चुनावको वातावरण बनाउन सकेको छैन। यो सरकार चुनाव गराउनका लागि अत्यन्तै कमजोर सरकार हो।’

अहिलेको सरकारले चुनाव गराउने विश्वास नभएरै नेकपाले पनि चुनावको तयारी नगरेको पाण्डेले बताए।

‘हाम्रो त पार्टी नयाँ छ। चुनाव चिन्ह पनि नयाँ छ। यो चुनाव चिन्हको बारेमा प्रचार गर्नुपर्छ, त्यो पनि भ्याएका छैनौँ,’ पाण्डेले भने, ‘हामी सबैले भाग लिए पनि कांग्रेस–एमालेले भाग लिएनन् भने चुनावको महत्त्व हुँदैन। त्यसले अन्तर्राष्ट्रिय मान्यता पनि पाउँदैन। यी दुवै दलले संसद् पुनर्स्थापनामा जाऊँ भने र नेपाली कम्युनिस्ट पार्टी लाग्यो भने सर्वोच्च संसद् पुनर्स्थापनाका लागि तयार हुन्छ।’

अहिलेको सरकारका गतिविधि चुनाव बिथोल्नेतिरै अग्रसर रहेको पाण्डेको आरोप छ। प्रधानमन्त्री सुशीला कार्कीले तीन ठूला दलका प्रमुख नेताहरूसँग एक पटक पनि छलफल गरेकी छैनन्। प्रधानमन्त्रीले चुनाव सम्बन्धी छलफलमा दोस्रो र तेस्रो तहका नेताहरूलाई बोलाउने गरेकी छन्। त्यस्ता छलफलमा यी दलका प्रतिनिधिहरूले ‘चुनावको विकल्प नरहेको’ भन्ने गरे पनि त्यसका लागि वातावरण नभएको बताउँदै आएका छन्।

सर्वोच्च अदालत बार एसोसियसनका पूर्वअध्यक्ष पूर्णमान शाक्यले भने दलहरूको छुट्टै निवेदन र सांसदको हस्ताक्षरले कुनै अर्थ नराख्ने बताए। पहिले पनि कांग्रेस, एमालेकै सरकार रहेको र उनीहरूले बहुमत प्राप्त दलहरूले रिट हालेको सन्देश दिन खोजेको स्मरण गर्दै शाक्यले सर्वोच्चले संसद् विघटन संवैधानिक कि असंवैधानिक भन्ने हेर्ने बताए। 

‘संसद् पुनर्स्थापनाको सम्भावनालाई नकार्न सकिँदैन। अदालतले के गर्छ, के गर्दैन त्यो अहिले मैले भन्न मिल्दैन। अनुमान गर्न सकिन्छ कि सरकारले फागुन २१ गते निर्वाचन गर्न सकेन भने, देश शून्यतामा जाने भयो भने सर्वोच्चले संसद् पुनर्स्थापना गर्न सक्छ,’ शाक्यले भने। 

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले भने रास्वपा सुरुदेखि नै चुनाव हुनुपर्छ भन्नेमा दृढ रहेको र चुनावले नै अहिलेको राजनीतिक अस्थिरताको अन्त्य गर्ने दाबी गरे। 

जेनजीको विद्रोहपछि आएको विशेष राजनीतिक परिस्थितिमा संसद् पुनर्स्थापनाले अर्काे अन्योलतिर लैजाने उनको भनाइ छ। 

‘कांग्रेस–एमालेले माग्दैमा संसद् पुनर्स्थापना हुँदैन। अर्काे आन्दोलनको चक्रतिर लान्छ। पश्चगमनको बाटोमा देश जान सक्छ। यो सबै परिस्थिति हेर्दा चुनाव समयमा हुनुपर्छ। लोकतन्त्रको उत्तम विकल्प भनेको वैधता गुमाइसकेपछि नयाँ फ्रेस म्यान्डेटमा जानुपर्छ भन्ने नै हो,’ खनालले भने। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भने संसद् पुनर्स्थापना र निर्वाचन दुवैले अहिलेको समस्या पार नलाग्ने बताए। 

‘यही संविधान अन्तर्गत रहेर हुने निर्वाचनले समाधान दिँदैन। देश बचाउने हो भने नयाँ समझदारी हुन जरुरी छ। संसद् पुनर्स्थापना गर्ने र देशको समस्या सम्बोधन गरेर जाने सहमति सबै दलबीच भयो भने त्यसलाई अन्यथा मान्न मिल्दैन,’ लिङ्देनले भने, ‘अहिलेकै अवस्थामा चाहिँ संसद् पुनर्स्थापना भए पनि समस्या सल्टिँदैन।’

संसद् पुनर्स्थापना भए संसदमा बसेरै आफ्नो कुरा उठाउने कि सडकमा जाने भन्ने त्यतिबेलै निर्णय गर्ने उनको भनाइ छ। 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको दुई ठूला दलको सरकार ढलेको थियो। भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको आज शनिबार १०० दिन पुगेको छ। त्यसै दिन प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेका थिए। 

प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र संसद् विघटन बदर माग गर्दै दुई ठूला दलसहित डेढ दर्जन रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad