नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिबद्धता सकारात्मक रहेको भन्दै त्यसका लागि सबै राजनीतिक दलले सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताएका छन्।
सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा बोल्दै पुनले राज्यलाई निकास र स्थायित्व दिन समयमै निर्वाचन अपरिहार्य रहेको उल्लेख गरे। उनले संविधानविपरीत निर्वाचन धकेल्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट चेतावनी पनि दिए।
‘घोषित मितिमा निर्वाचन गराउने सरकारको प्रतिबद्धता सराहनीय छ। तर खेल सुरु भइसकेपछि नियम फेरिनु हुँदैन,’ पुनले भने, ‘संविधानविपरीत ६ महिनाभन्दा पर निर्वाचन सार्ने प्रयास भयो भने हाम्रो समर्थन हुँदैन।’
उनले निर्धारित समयभित्र नयाँ संसद गठन हुन नसके निर्णय सडकबाट हुने वा पुरानै संसद् पुनर्स्थापना हुने अवस्था आउन सक्ने उल्लेख गरे।
साथै निर्वाचनको वातावरण बनाउन सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग निरन्तर संवाद गर्नुपर्ने उनको सुझाव छ।
Shares

प्रतिक्रिया