राजनीतिक भाषण गर्दै हिँडेनन्। सञ्चार माध्यमबाट टाढा रहे, चुपचाप परिणाम केन्द्रित भए। बस् त्यति। यो तहको मौन स्वभावका काठमाडौँ महानगरका मेयर बालेन साह भदौ महिनायता राष्ट्रिय राजनीतिको ‘किङ मेकर’ बने। जेनजी विद्रोहपछिको राष्ट्रिय राजनीतिमा उनले जे चाहे त्यही भयो।
प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीको नाम अघि सारे, परिणाम त्यही भयो। नयाँ सरकार बनेसँगै संसद् विघटन हुनुपर्ने शर्त राखे, परिणाम उनले भनेअनुसार नै भयो। राष्ट्रिय राजनीतिमा यो तहको प्रभाव राख्ने बालेन अब के गर्छन्?
पछिल्लो ९६ घण्टामा भएका उनका गतिविधिले पहिलाका बालेन र अहिलेका बालेनबीच आकाश-जमिनको परिवर्तन देखाइरहेछ।

१) अरुलाई प्रधानमन्त्री बनाएर आफू प्रधानमन्त्री बन्ने दौडमा
जेनजी विद्रोहपछि चाहेको भए बालेन आफैँ प्रधानमन्त्री हुनसक्थे। तर उनले एउटा फेसबुक स्टेटस लेखे। ‘...यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने, देशलाई नयाँ जनादेश दिने हो। यो चुनावी सरकारको नेतृत्व गर्न लागि तपाईंहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ।’
अगाडि आएको प्रधानमन्त्री पद त्यागेर उनले सुशीला कार्कीलाई देशको कार्यकारी प्रमुख बनाए। अरुलाई प्रधानमन्त्री बनाउन सक्ने उनै बालेन अब प्रतिनिधि सभाबाट निर्वाचित भएर प्रधानमन्त्री बन्ने बाटोतर्फ लागेका छन्। स्वतन्त्र पुष्टि नभए पनि रवि लामिछानेसँगको एउटा बैठकमा बालेनलाई प्रधानमन्त्री बनाउने कुरा उठिसकेको छ।
२) प्रत्यक्ष निर्वाचित व्यवस्थाबाट संसदीय प्रधानमन्त्रीतर्फ
स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौँको मेयर बनेका बालेनले कार्यकारी राष्ट्रपति हुनुपर्ने मत राख्दै आएको बताइने गरिएको थियो। पछिल्लो समय उनीसँग वार्ता गरेका जेनजी नेताहरूका अनुसार उनले कार्यकारी राष्ट्रपतिको पुरानो विचार त्यागेका छन्। संसदीय राजनीतिको पक्षमा उभिएका छन्।
३) अस्पष्ट शासकीय स्वरुपबाट गणतन्त्रको पक्षमा
राजनीतिक विषयवस्तुमा मौन, सञ्चार माध्यमबाट टाढा अनि आक्कलझुक्कल फेसबुकबाट सञ्चार गर्ने रणनीतिका कारण बालेन पछाडिको शक्ति के हो भन्ने कुरा शंकाकै घेरामा थियो। कसैले भने उनको पछाडि पूर्वराजा ज्ञानेन्द्र छन्, उनी राजावादी हुन्। कसैले भने उनी देशीविदेशी शक्तिका गोटी हुन्, देशलाइ अस्थिरता चाहेका मात्रै हुन्।
उनले यी कुराको विरोध गरेनन्। बिहीबार बालेनले जेनजी अगुवाहरूसँगको भेटमा स्पष्ट पारेका छन्- ‘म संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छु।’
४) मौनताबाट सघन संवादमा
मेयरमा निर्वाचित हुन बालेनले सामाजिक सञ्जाललाई मुख्य सञ्चारको माध्यम बनाए। धेरै राजनीतिक भाषण गरेनन्। लोकप्रिय मतसहित मेयर बनेपछि राजनीतिक भेटवार्ता गर्दै गरेनन्। कतिपय अवस्थामा प्रधानमन्त्रीलाई भेट्न समेत रुचि देखाएनन्।
सार्वजनिक विषयमा फेसबुक स्टाटसबाटै अभिव्यक्ति दिए। पछिल्लो ९६ घण्टामा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, डा. भगवान कोइराला, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरी, पूर्वसांसद अमरेश सिंह, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र कांग्रेस नेता सुनिल शर्मासहित करिब एक सय राजनीतिक नेता तथा अगुवासँग वार्ता गरेका छन्। यसअघिको उनको स्वभाव र प्रवृत्तिभन्दा यो धेरै ठूलो परिवर्तन हो।
५) स्वतन्त्रबाट दलको नेतृत्व लिने दौडमा
२०७९ सालको स्थानीय तहको निर्वाचन हुनुभन्दा अगाडि उनको सार्वजनिक पहिचान र्यापर र इन्जिनियरको रुपमा थियो। काठमाडौंबासीले निकै रूचाएका उनी विगत तीन वर्षसम्म स्वतन्त्र हैसियतमै रहे, कुनै पार्टीतर्फ झुकाव देखाएनन्, बढाएनन्।
पछिल्लो समय उनी राजनीतिक गतिविधिलाई सघन बनाइरहेछन्। निर्वाचन आयोगमा उनी संरक्षणको देश विकास पार्टी दर्ता छ। र्यापर, इन्जिनियर, स्वतन्त्र मेयर भइसकेका उनी अब दलीय राजनीतितर्फ लागेका छन्।
जेनजी विद्रोहपछि त्यसको नेतृत्व कसमा थियो भन्ने कुरा अझै पनि प्रष्ट छैन। समय क्रममा त्यो पनि खुल्नेछ। तर अहिलेसम्म देखिएका दृश्यहरूले विद्रोहको सबैभन्दा अग्रपंक्तिमा देखिएका व्यक्ति बालेन नै हुन्। उनले फेसबुकबाट आमयुवालाई जे सम्बोधन गरे विद्रोहको दिशा त्यतै गयो।
पर्दा पछाडि बालेनले के गरे त्यो पारदर्शी छैन। तर अब उनमा परिवर्तन देखिएको छ। बालेनसँग जेनजी नेता रक्षा बम छिन्। जेनजी विद्रोहबाट उदाएका नेतामध्ये उनी राजनीतिक समझ भएको थोरै जेनजीमध्ये एक हुन्।
सुदन गुरुङको समूह पनि बालेनसँगै छ। पुरुषोत्तम यादव बालेनसँग नजिक जान चाहेका छन्। यी कुराहरूको राजनीतिक अर्थ के हो- जेनजी विद्रोहको उत्तराधिकारी बालेन हुन्।
Shares

प्रतिक्रिया