राजनीति


रवि, बालेन, हर्क र कुलमान परीक्षण भइसकेका पात्र हुन्, नयाँ होइनन्: शंकर पोखरेल

रवि, बालेन, हर्क र कुलमान परीक्षण भइसकेका पात्र हुन्, नयाँ होइनन्: शंकर पोखरेल

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०८२ शनिबार ५:५३, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुरानो वहस निरर्थक भएको बताएका छन्। 

उनले सामाजिक सञ्जालमार्फत नेपाललाईसमेत बंगलादेश जस्तै बनाउँन हिँडेकाहरू असफल हुँदै गएपछि पुराना पार्टीलाई हराउन नयाँहरू मिल्नुपर्छ भन्ने धारणा अघि सारिएको तर्क गरेका छन्। 

रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङ एउटै पार्टी बनाउन कसरत गरिरहेका सन्दर्भमा उनको भनाई आएको हो। 

‘राजनीतिमा पुरानो र नयाँ भन्नुको कुनै अर्थ हुँदैन। त्यहाँ एजेण्डा र गन्तव्यको विशेष अर्थ र महत्व हुन्छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘नीतिविहीन र एजेण्डा विहिनहरुलाई नयाँको पगरी गुथाउँदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रम मात्र हो।’
 

उनले पार्टीहरुको इतिहास पुरानो हुन सक्ने तर नीति र नेतृत्व समयअनुसार अद्यावधिक भइरहँदा पार्टी सधैँ जीवन्त र सान्दर्भिक रहने बताएका छन्। 

‘त्यसैले लामो इतिहास भएका राजनीतिक दलहरुसमेत कहिल्यै ‘पुराना’ हुँदैनन्। किनकी उनीहरु समयअनुसार अद्यावधिक भइरहन्छ।  जुन राजनीतिक दल समयअनुकूल चल्न सक्दैनन्, तिनै दलहरु मात्र समाप्त हुन्छन्। नेपाली राजनीतिमा यस्ता दृष्टान्त पर्यप्त छन्,’ पोखरेलल् भनेका छन्।

उनले एमाले नेपालका राजनीतिक दलहरूमध्ये नीति र नेतृत्वलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी भएको दाबी पनि गरेका छन्। 

‘यससँग वर्तमान मात्र होइन, भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प छ। एमालेको यही जीवन्तता र सान्दर्भिकताबाट डराएकाहरूले नयाँहरु मिल्नुपर्छ भन्ने कुरा उठाइरहेका’ उनको तर्क छ।

‘नेपाली राजनीतिका लागि को नयाँ? रवी, वालेन, हर्क साम्पाङ वा कुलमान?’ प्रश्न गर्दै उनले भनेका छन्, ‘उनीहरु सबै नेपाली राजनीति र राज्यसत्तामा कुनै न कुनै हिसावले परिक्षण भइसकेका पात्र हुन्। जहाँसम्म जेन्जीका नाममा चर्चित बनेको जेनजेड समूहको सन्दर्भ छ, यो कुनै संगठित शक्ति होइन, यो एउटा उमेर समूह मात्र हो। जो सूचना र प्रविधिको विकाससँग हुर्कियो। यो समूहलाई जननिर्वाचित सत्ताका विरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने सोच पूँजीवादी साम्राज्यवादीहरु बनाएको सोच हो।’ 

एमाले नेता पोखरेलले डिपस्टेटको अवधारणा जननिर्वाचित सत्ता र जनतामा भिजेका नेताहरुलाई कमजोर बनाउनका लागि षडयन्त्रको सिद्धान्तको प्रयोग गरेर कथित कलर रिभ्युलुसनका नाममा विद्रोहको कोशिस गर्ने गरिको पनि बताएका छन्। 

नेपालका सन्दर्भमा जेन्जी अभियानकर्ताहरुले सुरुगरेको प्रदर्शनमा घुसपैठ गराएर त्यही दिशामा अघि बढाउने कोशिस भइरहेको कुरा साँचो भएको उनको तर्क छ।

तर नेपाली समाज र नेपालका नवयुवाहरुको ठूलो हिस्साले छोटो समयमा त्यस षडयन्त्रलाई बुझ्न सफल भएको उनले बताएका छन्।

‘भाद्र २३ को प्रदर्शनका अभियानकर्ताहरु नै अहिले षडयन्त्रका विरुद्धको प्रतिवादका लागि नेकपा (एमाले)को नेतृत्वसँग निरन्तर सम्वादमा छन्,’ उनले भनेका छन्, ‘वास्तवमा भन्ने हो भने चौतर्फी घेरावन्दीका वावजुत  नवयुवाहरुका बीचमा अहिले पनि नेकपा (एमाले) नयाँ भनिनेहरु भन्दा लोकप्रिय छ।’

उनले पछिल्लो समयमा देशविरुद्ध भइरहेका षड्यन्त्रहरूका वारेमा नवयुवाहरुले जतिजति वुझ्न थालेका छन् उनीहरु त्यतिनै एमालेप्रति प्रतिवद्ध देखिन थालेका दाबी गरेका छन्। 

‘उनीहरुले एमाले र यसको नेतृत्व देशका लागि अपरिहार्य रहेको महसुस गर्न थालेका छन्,’ पोखरेलको दाबी छ,  ‘पछिल्लो समय पुरानाका विरुद्धमा नयाँहरुलाई जसरी पनि मिलाउने कोशिस त्यसकै परिणाम हो। तर अब त्यसको कुनै सान्दर्भिकता देखिँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad