राजनीति


सिँहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरू मिल्न खोजेका छन्: प्रदीप ज्ञवाली

सिँहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरू मिल्न खोजेका छन्: प्रदीप ज्ञवाली

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०८२ शनिबार ९:१३, काठमाडौँ

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नयाँ शक्तिहरुबीच हुन लागेको मिलनलाई लिएर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाएका छन्।

रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङसहितका नयाँ शक्ति एउटै पार्टी बनाउन कसरत गरिरहेका सन्दर्भलाई लिएर ज्ञवालीले आफ्नो धारणा सर्वाजनिक गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत विचार मिल्नेहरु एकै ठाउँ उभिनु राम्रो भए पनि नीतिविहीन तिलस्मी तत्वले मुलुकलाई कही नपुर्याउने तर्क गरेका छन्। 

‘विचार मिल्नेहरु एकै ठाउँ उभिनु राम्रो हो। (उसो त, विचार मिलेको हो कि स्वार्थ– समयले नै बताउला)। त्यसमाथि, सिँहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरु पनि लोकतान्त्रिक प्रतिष्पर्धाबाट त्यही सिँहदरबारमा पुग्न खोज्नु सकारात्मक हो,’ ज्ञवालीले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर यस्ता भेटघाटहरुलाई लिएर यस्तो तरङ्ग ल्याउन खोजिँदैछ– मानौँ, आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरु नमिलेर हो। जस्तो कि दक्षिण भारतीय चलचित्रहरुमा देखिन्छ-कुनै नायक रङ्गमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ, तुफान सिर्जना हुन्छ, अनि सबै खलनायकहरु सोत्तर हुन्छन्!’

अहिले गर्न खोजिएको मिलनले यस्तै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। 

‘यस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीँ पनि पुर्याउँउँदै। देश बनाउनमा व्यक्तिको भूमिका हुँदैन भन्ने होइन, तर देश बन्ने भनेको अन्ततोगत्वा विचार, संस्था, प्रणाली र सामूहिकताले हो,’ उनले भनेका छन्, ‘कस्तो शासन प्रणाली अपनाउने? कस्तो आर्थिक नीति लिने? बहुलता र विविधताले भरिएको समाजमा सामाजिक प्रबन्ध कस्तो हुने? तीव्र रुपमा बदलिइरहेको भूराजनीतिक परिदृश्यमा राष्ट्रिय हितको संरक्षण कसरी गर्ने? जलवायु परिवर्तन जस्ता भयावह चुनौतीको सामना कसरी गर्ने? संविधानका कुन विषय संरक्षण गर्ने र के परिमार्जन गर्ने? यावत् प्रश्नमा कुनै विकल्प छैन। छ त केबल नकारात्मकता,  निषेध र घृणा।’

कतिपय मिडियामा देखा परेको ‘युफोरिया’ हेर्दा आफूलाई दुई दशक अगाडिका घटनाहरू याद आएको तर्क गरेका छन्। 

‘जतिबेला  ‘जनसरकार’ घोषणाको समाचार कभर गर्न हेलिकप्टर चार्टर गरिन्थे। ओहो, हिंसाको त्यो महिमागान! नयाँ दिनका ती अभ्यर्थना! र नयाँ नेपालका ती सपना! आज त्यो ‘मिडिया हाइप’ निर्मित बिम्ब कपुरको बास्ना झैँ विलोप भइसकेको छ। घोडा पानीदार हो कि होइन भन्ने टुङ्गो त आखिर लामो दौडले नै तय गर्ने हो,’ उनले भनेका छन्, ‘साथीहरूले समाजलाई ‘इमोशनल’ होइन, ‘र्याशनल’ बनाउन सघाए हुने हो। स्वप्न भङ्गताको क्षण साह्रै पीडादायी हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad