काठमाडौँ महानगरका मेयर बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै नयाँ राजनीतिक शक्तिहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा गोलबद्ध भएसँगै उनी कुन क्षेत्रबाट उठ्लान् भन्ने अड्कलबाजी सुरु भएको छ।
कतिपयले उनले झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिने अनुमान पनि गरिरहेका छन् भने बालेनकै टिमका सदस्यहरूले झापा गएर प्रधानमन्त्रीका उम्मेदवारले जोखिम नमोल्ने बताइरहेका छन्।
झापा ५ का मतदाताले ओलीलाई छाडेर अरु कसैलाई मत नदिने दाबी गर्छिन् नेकपा एमालेकी नवनिर्वाचित केन्द्रीय सदस्य एलिसा गौतम। एमालेको हालैको महाधिवेशनबाट केन्द्रीय कमिटीमा चुनिने उनी सबैभन्दा कान्छी सदस्य हुन्।

‘झापा ५ का जनताले नयाँ अनुहारलाई रुचाउँछन् कि रुचाउँदैनन् भन्ने कुरा त भोलिको दिनमा देखिहालिन्छ नि,’ नेपालखबर तत्कालैमा मंगलबार एलिसाले भनिन्।
उमेरले वृद्ध भएपनि ओलीमा युवा जोश रहेको उनको भनाइ छ।
‘उमेरमा वृद्ध भए तापनि कार्यशैली उत्तिकै फुर्तिलो छ उहाँको,’ उनी भन्छिन्, ‘फेरि नेतृत्व सम्हाल्न उमेरले कुनै फरक पार्दैन।’
एलिसा विद्यार्थी राजनीतिबाट एमालेमा जोडिएकी हुन्। काठमाडौँ इन्जिनियरिङ क्याम्पसबाट स्नातक गर्दैगर्दा क्याम्पस कमिटी सदस्य बनेर राजनीतिमा पहिलो कदम राखेकी थिइन् उनले। विसं २०७३ मा भएको स्ववियु चुनावमा अनेरास्ववियुबाट गौतम कोषाध्यक्षमा निर्वाचित भएकी थिइन्।
उनको पारिवारिक माहोल नै एमालेमय थियो। युवाको आवाज उठाउने पार्टी हो भनेर एमालेमा लागेको उनको भनाइ छ।

जेनजी आन्दोलनले एमालेलाई सत्ताच्युत गरेपछि पनि उनी नयाँ दलहरुभन्दा एमाले नै असल रहेको दाबी गर्छिन्। नेकपा एमाले समयसँगै अपडेट हुँदै जाने र विचारमा स्पष्ट भएको पार्टी भएकोले यसलाई पुरानो भन्न नमिल्ने उनको तर्क छ।
‘इतिहासलाई हेर्दा विभिन्न कालखण्डमा एमालेले आफ्नो महत्व र आवश्यकतालाई स्थापित गर्दै आएको हुनाले पनि यसलाई पुराना विचारधाराको पार्टी भन्न मिल्दैन,’ एलिसा भन्छिन्।
नेकपा एमाले युवालाई अवसर दिने पार्टी भएकै कारण केन्द्रीय सदस्यमा पनि आफूसहितका युवालाई अवसर दिएको उनको भनाइ छ। एमाले पहिलेदेखि नै युवाहरूलाई अवसर दिँदै आएको दल भएको हुनाले अहिले केन्द्रीय कमिटीमा भएको युवाहरूको प्रतिनिधित्वलाई जेनजी आन्दोलनपछि आएको परिवर्नत हो भन्न नमिल्ने उनको तर्क छ।

अरु पार्टीले आफ्नो एजेन्डा अघि सार्न एमालेको विरोध गरेको उनी बताउँछिन्।
‘आफ्ना एजेन्डा र मुद्दाहरू लिएर पनि जनतामाझ जान सकिन्छ। यसको लागि अरूलाई तल झार्नै पर्छ भन्ने जरुरी छैन,’ एलिसा भन्छिन्, ‘आजका युवाहरू चेतनशील छन्। उनीहरूले कुनै व्यक्तिको नामलाई भन्दा पनि कामलाई हेरेर आउने चुनावमा भोट हाल्छन्। आफ्नो दलप्रति युवालाई आकर्षित गराउन शैक्षिक योग्यताको हिसाबले रोजगारी, उद्यमशीलताको अवसरका कुरा र युवाका मुद्दामा आवाज उठाउन सकिन्छ।’
एलिसा फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्ष लड्न चाहन्छिन्। एमालेले आउने निर्वाचनमा धेरै युवालाई सहभागी गराउने सोचका साथ काम गरिरहेको गौतमले बताइन्।
भिडिओ :
Shares

प्रतिक्रिया