राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा (नेपाल) एकता घोषणा भएको छ। बुधबार राष्ट्रिय सभा गृहमा अयाोजित एकता घोषणा कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र लिङदेन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे।
यससँगै राप्रपा छोडेको ४ वर्षपछि कमल थापा पुनः राप्रपामै फर्किएका छन्। राप्रपा अध्यक्ष पद गुमेपछि सम्हालिन नसकेका थापा यो बीचमा राप्रपा नेपालको अध्यक्ष बनेर राजनीति गरे।
२०७८ मंसिर १८ गते सम्पन्न महाधिवेशनबाट राप्रपाको अध्यक्षमा कमल थापालाई २२७ मतान्तरल पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी भए। लिङ्देनले १ हजार ८४४ मतका साथ विजयी हुँदा पराजित थापाले १ हजार ६१७ मत प्राप्त गरे। राप्रपा अध्यक्षमा पराजित भएका थापाले यो हारलाई सहज रुपमा लिन सकेनन्।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि समेत आफूलाई हराउने योजना बुनेको आरोप लगाउन भ्याए।

थापाले २०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरे। दलको नेतृत्व गुमेपछि थापाले राप्रपा नेपाल दललाई ब्यूँताए। राप्रपा नेपालकै संगठन विस्तारमा जुटे। यसरी सत्ता नपाएको स्वार्थमा छुटेका थापा पुनः स्वार्थमै लिङ्देन र पार्टीसँग जोडिएका छन्। आफ्नो दलमात्रै चुनावी मैदानमा जाँदा विजयी हुने माहोल नदेखेपछि थापा आउँदो निर्वाचनलाई नै ध्यानमा राखेर पार्टी एकतामा एकमत देखिएका हुन्।
त्यसोत, २०७९ को प्रतिनिधि सभा निर्वाचनमा राप्रपा नेपाल र चुनाव चिह्नको भर नलागेपछि गृहजिल्ला अर्थात् मकवानपुरबाट नेकपा एमालेको उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका थिए। मकवानपुर क्षेत्र नम्बर १ बाट सूर्यको झण्डा बोकेर चुनावी मैदानमा होमिएका थापालाई हराएर आफ्ना उम्मेदवार जिताउन राप्रपा अध्यक्ष लिङ्देनले ठूलै कसरत गरे।
राप्रपा केन्द्रीय सदस्य दीपक बहादुर सिंह र कमल थापा एउटै क्षेत्रका प्रतिस्पर्धी थिए। सिंहलाई जिताउन लिङ्देनले पटक/पटक हेलिकप्टर लिएर सिंहको चुनावी सभामा उत्रिए। ‘जेठो दाइ (कमल थापा) पनि यही क्षेत्रबाट एमालेको झण्डा लिएर उठ्नु भएको छ अरे! आफ्नो चुनाव चिह्न त छोड्न सक्नेलाई तँपाईंहरुले मत दिनुहुन्न भन्नेमा ढुक्क छु। नदिनोस् पनि।’ हरेक पटकको उपस्थितीमा लिङ्देनले मतदाता प्रति सचेत गराउँदै सिंहलाई मत मागे।

राप्रपा छोडेका थापालाई साइजमा ल्याउन सिंहकै मास्टरप्लानमा लिङ्देन चुनावी सभादेखि अन्य कार्यक्रममा समेत उपस्थिती जनाउँथे। मत परिणाम पनि उस्तै आयो। मकवानपुर–१ बाट सिंह विजयी हुँदा कमल थापा पराजित भए। सिंहले २७ हजार ८ सय १६ मत प्राप्त गर्दा एमालेबाट उम्मेदवार बनेका थापाले २५ हजार ४ सय २० मत प्राप्त गरेका थिए।
यसरी राप्रपा अध्यक्ष नपाएको झोंकमा पार्टी छोडेका थापा राप्रपाबाटै संघीय संसद बन्ने बाटो टुट्यो। जिल्लाको ठूलो दलबाट उम्मेदवार बन्दा पनि उनले जित निकाल्न सकेनन्। पटक/पटकको ओरालो राजनीतिक यात्रालाई उकालोतर्फ धकेल्न पनि कमल थापा अन्ततः राप्रपालाई नै स्वीकार गर्न तयार देखिएका हुन्।
राप्रपा छाडेको चार वर्ष बितिसक्दा पनि कमल थापाले नेपाली राजनीतिक वृत्तमा आफूलाई पुनः स्थापित गर्न सकेनन्। राप्रपा नेपालका अध्यक्ष बने पनि उनको राजनीतिक प्रभाव निरन्तर कमजोर हुँदै गयो। राप्रपा नेपाल न त जनतामा प्रभाव जमाउन सफल भयो, न त निर्वाचनमार्फत आफ्नो उपस्थिती नै देखाउन सक्यो।
लिङ्देनको नेतृत्वको राप्रपाले प्रतिनिधि सभामा पाँचौँ स्थान हासिल गर्दै आफ्नो राजनीतिक हैसियत जोगायो। तर थापा नेतृत्वको राप्रपा नेपाल भने प्रतिनिधि सभामा पाइला राख्न समेत असफल भयो।
राप्रपा छोडेपछि कमल थापाको राजनीतिक यात्रा निरन्तर ओरालो लागयो। कुनै समय पार्टीभित्र निर्णायक भूमिका खेलेका र सरकारसम्म पुगेका थापा संसदमा मेत पुग्न नसकेपछि अन्ततः राप्रपामै एकता गर्न पुगे।

राप्रपा छाडेदेखि राजनीतिक यात्रा निरन्तर ओरालो लागिरहेको अवस्थामा राप्रपामै फर्किएर ओरालो यात्रालाई उकालोतर्फ मोड्न राजनीतिक धार परिवर्तन गरेको उनैले बताएका छन्। एकता सभामा सम्बोधन गर्दै थापाले हारेक भागेको भन्ने आरोप लागेको बताए।
घर फर्कंदा रमाइलो लागेको बताउँदै उनले भने, ‘घर फर्कंदा स्वभाविक रुपमा रमाइलो लाग्छ। खुसी लाग्छ। अलिअलि जिज्ञासा छ। कौतुहल्ता पनि छ। अलिअलि डर पनि छ। तर रहँदा बस्दा विस्तारै सबै समाधान हुँदै जान्छन् भन्ने विश्वास लिएको छु।’
उनले अब हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा लागेर निवास्र्थ राप्रपामा सेवा गर्ने प्रतिवद्धता जनाए।
Shares

प्रतिक्रिया