राजनीति


आज ‘सिभिलियन फोर्स’ घोषणा गर्दै सुदन गुरुङ, ‘स्याडो गभर्मेन्ट’ बन्ने दाबी

आज ‘सिभिलियन फोर्स’ घोषणा गर्दै सुदन गुरुङ, ‘स्याडो गभर्मेन्ट’ बन्ने दाबी

आयुषा ढकाल
पुस १७, २०८२ बिहिबार १४:५६, काठमाडौँ

सुदन गुरुङले बिहीबार राति ‘सिभिलियन फोर्स’ सार्वजनिक गर्ने भएका छन्। 

‘हामी आज ११ बजेर ११ मिनेट ११ सेकेन्डमा सिभिलियन फोर्स लन्च गर्दैछौँ,’ सुदनले नेपालखबरसँग भने।

युवा अभियन्ता र नीति निर्माता सहभागी हुने सिभिलियन फोर्स वाईसीएल वा युथफोर्सभन्दा बिल्कुलै फरक हुने पनि उनले बताए। 

‘यस फोर्समा करिब दुई सय जना युवा, नीति निर्माता र सक्रिय कार्यकर्ताहरू आबद्ध छन्। जसले सरकारी ढिलासुस्ती र गलत निर्णयलाई चुनौती दिनेछन्। समग्रमा यो पहल, प्रविधि र विज्ञताको मिश्रण मार्फत गाउँ र नीति निर्माणमा आम नागरिकको पहुँच पुर्‍याउने फोर्स हो,’ सुदनले भने, ‘वाईसीएल, युथफोर्स जस्तो बिल्कुलै होइन।’

‘फिजिकल फोर्सका लागि हामी तयार भइसक्यौँ। तर गाउँगाउँमा नीति निर्माणका लागि राम्रा मान्छे होलान्, त्यसैले काठमाडौँबाहिरका विज्ञहरुलाई डिजिटल माध्यमबाट यो अभियानमा जोड्छौँ,’ उनले थपे।

यसले ‘स्याडो गभर्मेन्ट’का रुपमा काम गर्ने उनको भनाइ छ।

‘स्थानीय स्तरको कुनै काम केन्द्रको एउटा सीमित निर्णयले रोकिएको छ भने स्याडो गभर्मेन्टका रूपमा रहेको फोर्सले मन्त्रालयदेखि लिएर विभिन्न स्थान पुगेर उक्त समस्या समाधानको काम गर्नेछ,’ उनी भन्छन्।

यसका साथै डिजिटल प्लाटफर्म पनि आजै सार्वजनिक हुनेछ। उनी प्रमुख रहेको काउन्सिल अफ जेनजीले नै यो प्लाटफर्म सञ्चालन गर्नेछ। सुरुमा एउटा वेबसाइट सञ्चालन गरिने सुदन बताउँछन्।

यस वेबसाइटको मुख्य उद्देश्य स्थानीय समस्याहरूलाई केन्द्रसम्म पुर्‍याउनु र सबै नेपालीलाई एउटै डिजिटल छातामुनि ल्याएर सरकारलाई खबरदारी गर्नु रहेको सुदनले बताए। 

‘सिभिलियन फोर्स गाउँको समस्यालाई केन्द्रसम्म ल्याएर समाधान गर्ने डिजिटल प्लाटफर्म हो,’ उनले भने।

भविष्यमा भने यसमा एआई र मोबाइल एप समेत समावेश गर्ने योजना रहेको उनको भनाइ छ।

विशेषगरी जेनजी पुस्तालाई एकीकृत गर्दै भ्रष्टाचार विरुद्ध आवाज उठाउन यो मञ्चले प्रभावकारी भूमिका खेल्ने उनको विश्वास छ। 

उनी भन्छन्, ‘सरकारले गरेको निर्णय विरुद्धमा आवाज उठाउनु पर्‍यो भने आवाज उठाउन सक्ने हिसाबमा सिभिलियन फोर्स बनाएका छौँ।’ 

केही समयअगाडि देखि सुदनले सत्तामा पुगेर गैरजिम्मेवार हुने दलहरूलाई लाइनमा ल्याउन सिभिलियन फोर्स बनाउने बताउँदै आएका थिए। यसमा सबै जेनजी एकै ठाउँमा आउने र सर्वसाधारण नेपालीलाई पनि जोड्ने उनको भनाइ छ।

जेनजी आन्दोलमा उठाइएका मागलाई मुख्य आधार मानेर भोलि सरकारमा रहेको व्यक्ति र कर्मचारीले भ्रष्टचार गर्न खोजेको समयमा खबरदारी गर्ने र आम नेपाली तथा जेनजीले एकीकृत रुपमा आफ्ना माग समेत उठाउन सक्ने सोचका साथ यो प्लाटफर्मको उपयोग गरिने उनले बताए।

‘नेपालमा अझै पनि डिजिटल पहुँच सबै ठाउँमा पुग्न सकेको छैन, त्यसैले त्यस्तो अवस्थामा के गर्ने भनेर पनि सोच्दैछौँ,’ सुदनले भने, ‘पहिले वेबसाइटबाट सुरु हुने प्लाटफर्मलाई फस्ट भर्जन भन्ने र पछि दोस्रो भर्जनमा वेबसाइटमा एआईलाई जोड्ने योजना छ। त्यसको लागि हामीले एआईलाई ट्रेनिङ पनि दिइरहेका छौँ। त्यसपछि एप पनि बनाउँछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad