राजनीति


विश्वकप ट्रफी शीतलनिवासमा सार्वजनिक

विश्वकप ट्रफी शीतलनिवासमा सार्वजनिक

नेपालखबर
पुस २१, २०८२ सोमबार १६:१७, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी-२० विश्वकपको ट्रफी सार्वजनिक गरेका छन्। 

ट्रफी टुर अन्तर्गत नेपाल आइपुगेको ट्रफी सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति पौडेलले सार्वजनिक गरेका हुन्। राष्ट्रपति पौडेलसँगै पुरुष राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, प्रशिक्षक स्टुआर्ट ल, महिला टोलीकी कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, प्रशिक्षक हर्षल पटेल र क्यान अध्यक्ष चतुरबहादुर चन्द सहभागी गिए। 

ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताए। यो ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको पौडेलको भनाइ थियो। 

राष्ट्रपति पौडेलले भने, ‘नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ।’ 

राष्ट्रपति पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको बताए। 

राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन लागेको महिला विश्वकप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना समेत दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad