नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि अहिले देउवा निवास महाराजगन्जमा वार्ता भइरहेको छ।
छलफलमा वार्ता समितिमा रहेका नेताहरू रमेश लेखक, बालकृष्ण खाण, जीवन परियार, मिनेन्द्र रिजाल देउवा निवास पुगेका छन्।
अन्य शीर्ष नेता पनि छलफलमा सहभागी छन्।
सहमतिकाे अन्तिम प्रयासस्वरूप आसन्न निर्वाचनकाे टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष लचक हुने सम्भावना देखिएको छ।
‘सभापति देउवा त्यसका लागि तयार देखिनुभएको छ’, देउवानिकट स्राेतले नेपालखबरसँग भन्यो।
यसअघि नै संस्थापन पक्ष विशेष महाधिवेशनकाे दस्तावेज केन्द्रीय समितिमा अध्ययन, संशोधन र परिमार्जन गरेर ग्रहण गर्न सहमत भइसकेको छ।
यस्तै २०८० फागुनमा सम्पन्न महासमिति बैठकका निर्णय लागु गर्न पनि संस्थापन तयार छ।
यसैगरी आसन्न प्रतिनिधिसभा निर्वाचनकाे टिकट वितरणका लागि संसदीय बाेर्ड बनाउन संस्थापन पक्ष सहमत भएकाे थियाे।
एक नेताका अनुसार टिकट न्यायाेचित ढंगले वितरण गर्ने, संसदीय बाेर्डकाे निर्णय नै कार्यान्वयन गर्नेलगायत कुरामा दुवै पक्ष सहमतिमा पुगेका थिए।
Shares

प्रतिक्रिया